arrow

नदाहा—कन्चनपुर सडक निर्माणमा ढिलाई

मुआब्जा, वन क्षेत्र र विद्युत पोल मुख्य समस्या

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ असार २ बिहिबार
रामपुर(उदयपुर) । मुआब्जा वितरणमा भएको ढिलासुस्ती, वन क्षेत्रको नीतिगत निर्णयमा देखिएको समस्या र विद्युत प्राधिकरणले जथाभावी गाडेका विद्युत खम्बा (पोल) का कारण सुनसरी जिल्लाको नदाहादेखि सप्तकोसी, उदयपुरको मैनामैनी हुँदै सप्तरीको कन्चनपुरसम्म जोड्ने पक्की सडक निर्माण कार्यले गति लिन सकेको छैन । एसियाली विकास बैंकको २ अर्ब ३४ करोड रुपैयाँको लगानीमा उदयपुर, सुनसरी र सप्तरीका सर्वसाधारणलाई लक्षित गर्दै ५६ किमी लामो पक्की सडकको निर्माण थालिएपनि लक्ष्य अनुसार काम हुन नसकेको हो । 
 
आगामी दुई बर्ष भित्र सडक निर्माण सम्पन्न गर्ने गरी कालिका कन्ट्रक्सन प्रा लि ले कामको जिम्मा लिएको थियो । चालु आ ब मा ३० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेकोमा मुआब्जा, विद्युत पोल र वन क्षेत्र मुख्य समस्या बनेपछि १७ प्रतिशत भन्दा बढी काम हुन नसकेको हो ।  
 
“८ मिटर पक्की र दुवै साइडमा २/२  मिटर कच्ची गरी कूल १२ मिटर चौडाई भएको सडक निर्माण गर्ने गरी सडक बिभाग र हामीवीच सम्झौता भएको छ ” प्रोजेक्ट म्यानेजर  छत्रबहादुर अर्यालले   अर्यालले भने,“ तर उदयपुर क्षेत्रमा मुआब्जा वितरण नहुदा, विद्युत कार्यालयले पोल नसारिदिँदा र वन क्षेत्रका बारेमा नीतिगत निर्णय नहुँदा लक्ष्य अनुसार काम गर्न सकिएन ।”
 
 पोल, वन क्षेत्र र मुआब्जाको समस्या नभएका स्थानमा भने सडक निर्माण कार्य धमाधम भइरहेको अर्यालले बताए । उनका अनुसार ५६ किमि सडक क्षेत्रमा रहेका १९ ओटा खोला र खहरे मध्ये १७ ओटामा पक्की पूल निर्माणको काम धमाधम भइरहेको छ । सुनसरीको पटनाली र उदयपुरको गिँदेरी खोलामा पुलको स्ल्याव लगाउने काम भइरहेको छ भने अन्य १५ ओटामा स्ल्यावबाहेकको अन्य काम सकिएको छ ।
 
भारतले लगाएको नाकाबन्दी र गिट्टी बालुवाको समस्याका कारण पनि निर्माण कार्यमा केही ढिलाई भएको जानकारी उनले दिए । अर्यालका अनुसार सुनसरी र सप्तरी क्षेत्रमा मुआब्जा बितरण भइसकेपनि उदयपुर क्षेत्रमा बितरण हुन सकेको छैन ।
 
  उदयपुर र सुनसरी जिल्लाको सिमानामा पर्ने सप्तकोसी नदीमा पूल निर्माण भएपछि भोजपुर, उदयपुर, सुनसरी र सप्तरी जिल्लाका त्यस क्षेत्रका सर्वसाधारणलाई आवतजावत गर्दा  अनाबश्यक घुम्नुपर्ने समस्याबाट छुटकारा मिलेको छ । सडक निर्माणपछि यातायातको बिस्तारसँगै सर्वसाधारणले उत्पादन गरेका कृषि उत्पादनले सहजरुपमा बजार पाउने हुँदा उनीहरुको आर्थिक अबस्थामा समेत सुधार आउने आशा स्थानीयको छ । 
 
“२० किमि दुरीमा धरानबजार भएपनि अहिले हामीले धरान पुग्न १ सय २० किमि यात्रा गर्नुपर्छ” रामपुरका सुशील सेढाई भन्छन्,“ तर, अब नदाहा, सप्तकोसी, मैनामैनी हुँदै रामपुर र कन्चनपुर जोड्ने सडक निर्माण भएपछि आधा घन्टामै धरान पुग्न सकिनेछ ।” उनका अनुसार यो सडक निर्माण भएपछि उदयपुर जिल्लाको पूर्वी क्षेत्रका १ दर्जन गाविसका सर्वसाधारणको कृषि उत्पादनले सहजरुपमा बजार पाउनेछ ।
 
उदयपुर सप्तरी सुनसरी र भोजपुर जिल्लाका सर्वसाधारणलाई पायक पर्ने यो सडक निर्माण भएपछि कृषक तथा सर्वसाधारणको आर्थिक अबस्थामा परिबर्तन आउने प्रोजेक्ट म्यानेजर अर्याल बताउँछन् ।“ एसियाली विकास बैंकको लगानी रहेकाले रकमको समस्या छैन, तर स्थानीयको सहयोग भएन भने पनि समयमै काम सिध्याउन गाह्रो हुन्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ