काठमाडौं । पुनरावेदनका न्यायाधीशसंग कुरागरेर मुद्दा मिलाई दिन्छु भन्दै सेवाग्राहीबाट एक लाख २५ हजार घुँस लिँदै गरेका वकिल ललितपुरमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अधिवक्ता सञ्जयकुमार अधिकारीलाई पक्राउ गरेको महाशाखा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले हाम्राकुरालाई जानकारी दिए ।
खनालले भने, ‘न्यायाधीशसंग कुरा गरेर मुद्दा मिलाई दिन्छु भन्दै घुस लिँदै गर्दा अधिकारी पक्राउ परेका हुन् । अदालत परिसरमै भने घुस नलिएको र बाहिर कुरा गरेर घुस लिने क्रममा टोलीले पक्राउ गरेको हो ।’ झापा जिल्ला दुवागढी गाविस घर भई हाल काठमाडौँ बस्दै आएकी कृष्णकुमारी ढकालको पुनरावेदन अदालत पाटन ललितपुरमा चलेको ३३ लाख बिगोको चेक अनादर मुद्दामा ‘मुद्दा मिलाइ दिन्छु’ भनी ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।
अधिकारीले विभिन्न प्रलोभनमा पारी पाँच लाख रकम लाग्ने भनी पेस्कीस्वरुप एक लाख २५ हजार रकम बुझेकामा मुद्दा हारेपश्चात पीडित महिलाले महाशाखामा उजुरी दिएको एसएसपी खनालले जानकारी दिए । रामेछाप कठजोर गाविस घर भई हाल कपन बस्दै डिफेन्स ल फर्म सञ्चालन गर्दै आएका अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
प्रहरीले अधिकारीको नाममा आइएमई गरेको एक लाखको भौचर, मुद्दा मिलाई दिने भनी न्यायाधीशको समेत नाम जोडी पाँच लाख रकम चाहिन्छ भनी गरेको कुराकानीको सिडीसमेत फेला पारेको छ । उनले तेह्रथुम घर भएका केशव उप्रेतीलाई नक्कली जग्गाको बैना गरी दुई लाख ठगी गरेको पनि भेटिएको छ ।