काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ पठाएको छ । मोर्चाले विहिबार साँझ छलफल गरी ओलीले गएको सोमबार वार्ताका लागि गरेको पत्राचारको जवाफ पठाएको हो । दिउँसो संघीय गठबन्धनमा आवद्ध मोर्चासहितका घटकबीचको छलफलमा मोर्चालाई पत्र आएको र मोर्चाले जवाफ पठाउनुपर्ने आवाज उठेपछि गठबन्धनको बैठक सकिए लगत्तै संघीय समाजवादी फोरमकै कार्यालयमा मोर्चाको बैठक बसेको थियो ।
बैठकबाट बाहिरिँदै तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले बैठकमा प्रधानमन्त्रीलाई पठाउने जवाफबारे छलफल भए ड्राफ्ट तयार भएको बताए । उनले भने, ‘हामीले प्रधानमन्त्रीलो जवाफ पठायौं । जसमा गठबन्धनको भूमिका र माग सहित उल्लेख छ ।’ हामीले वार्ताका लागि जहिले पनि तयार छौं तर वातावरण बनाइनु पर्दछ भनेका छौं । कस्तो वातावरण ? जवाफमा उनले भने, ‘हालसम्म सरकारले मोर्चाको ११सहति गठबन्धनको २६ बुँदे माग सम्बोधनमा चासो देखाएको छैन ।
आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्ने, घाइतेको उपचार गर्ने, हाम्रा कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा फिर्ता लिने लगायतका पूर्व सहमतिहरु पालना भएका छैनन् । त्यसको आधार तयार गर्नु पर्नेमा हाम्रो जोड हो ।’ वातावरण भनेको त्यो हो । गठबन्धनकै प्रतिनिधित्व हुनेगरी वार्तामा बोलाइनु पर्दछ । गठबन्धन र मोर्चाबीच जुहारी चल्नुको कारण के ? उनले भने, ‘मोचा र गठबन्धनमा कुनै जुहारी चलेको छैन । नभए राजेन्द्र जी र उपेन्द्रजी एउटै बेञ्चमा बसेर गफ गर्छन् त ? ।’ बैठकमा उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, अशोक राई, राजेन्द्र श्रेष्ठ, रामचन्द्र कुशवाह, केशव झा लगायत नेताहरु सहभागि थिए ।