चितवन । पछिल्ला केहि दिन चितवनको भरतपुर–जगतपुर–माडी–ठोरी हुलाकी सडकको विषयलाई लिएर सामाजीक संञ्जाल फेसबुक राम्रैसगँ रगिंएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय गौरबको योजनाको रुपमा रहेको भरतपुर–जगतपुर–माडी–ठोरी हुलाकी सडकको स्तरोन्नतीका लागि ३६ करोड बजेट छुट्याएको पत्र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएसँगै, सो पत्र फेसबुकमा अपलोड गर्ने र जस लिनेको तछाडमछाड देखिन्छ । कार्यकर्ताहरुले हाम्रो नेता, हाम्रो पार्टीको पहलमा भएको हो भनेर जस लिन खोज्नु नेपाली राजनितीमा सायदै सबैले पचाउन सक्ने गतिविधी नै हो । किनकी काम भन्दा त्यसको प्रतिफल नआउदै दशौ गुणा बढाई चढाई अनि अनाबश्यक हल्ला गर्ने हामी नेपालीको खान्दानी बानी नै हो । तर अचम्म जनताका सेवक भनिएका आदरणिय माननिय ज्युहरु नै जसलिन तछाड–मछाड गरेको देख्दा कहि नभएको जात्रा हाडी गाउँमा भन्ने उखान त्यसै नेपाली समाजमा चरितार्थ भएको रहिनछ भन्ने लाग्यो ।
मिती २०७३ जेष्ठ ३२ गते अर्थले भौतिक मन्त्रालयलाई प्रचलित कानुन र मापदण्ड बमोजिम ३० करोड सम्मको निर्माणकार्य बहुबर्षिय ठेक्काबाट गराउन भनि पत्र पठाए सँगै चितवनको सदरमुकाम भरतपुरबाट पर्सा जिल्लाको ठोरी सम्मको झन्डै ८० कि.मी. दुरीको यो हुलाकी सडकको स्तरोन्नती हुने लगभग निश्चित जस्तै भएको छ । कुनै पनि योजना सम्पन्न गर्न स्थानिय निकाय, लाभान्वित क्षेत्रका बासिन्दाको महत्वपुर्ण र रचनात्मक भुमिका अनि समयमै गुणस्तरिय काम सम्पन्न गराउन निरन्तर दबाबको आबश्यकता पर्छ । तर छुट्याईएको बजेट छिटो कार्यान्वयनमा लानको लागि एकता प्रदर्शन गर्ने बेलामा अनाबश्यक जस लिनेको हतारो गर्दै झगडाको विजारोपण गरेको देख्दा कतै योजना विचमै तुहिने हो कि भन्ने शंका उब्जन थालेको छ । योजना पार्नको लागि कोहि–कसैले आ–आफ्नो ठाउँ र पहुच अनुसार पहल गर्याे होला ? त्यो पहल जस लिनका लागि थियो या बास्तविक रुपमा माडीको विकासमा आफ्नो योगदान दिनका लागि थियो ? त्यसको जवाफ जस लिन खोज्नेहरुले नै दिउन् । तछाड–मछाड नि यति सम्म कि मानौ यो सडकको स्तरोन्नती भए पछि माडी समृद्ध भयो । सबै माडीबासी धनि, सम्पन्नशाली भए । अब माडीमा कुनै पनि विकासका कामहरु गर्नु पर्दैन् । यो नै अन्तिम हो । यदि यसको जस लिन सकिएन भने बर्बादै हुन्छ, राजनितिक भविश्यनै सकिन्छ । के यस्तो जुहारीले माडीबासीले कल्पना गरेको समृद्ध इको नगरपालिका माडी बन्न सक्छ ? पक्कै पनि बन्दैन् । यदि साच्चै तपाई हामीले सुन्दर समृद्ध माडी चाहेको हो भने माडीसगँ सरोकार राख्नेहरु अनि सबै माडीबासीहरु राजनितिक आस्था भन्दा माथी उठेर एकसुत्रिय रुपमा माडीको विकासमा एकताबद्ध हुनु आबश्यक छ ।
सुगम जिल्ला चितवन भएर पनि, सदरमुकाम भरतपुरबाट मात्र २७ कि.मी.को दुरीमा रहेको माडीलाई लगाईएको ‘विकट’ को पहरी हटाएर ‘‘समृद्ध इको माडी” को पहिचान दिनका लागि सबै पक्ष विचको एकता पहिलो आबश्यकता हो ।
गत जेष्ठ १ गते माडीको शिबद्धारमा समृद्ध माडीको खाका सहितको कार्यशाला भए सँगै माडीको विकासमा एकखाले एकता देखिएको थियो । सबैको अपनत्व हुने गरी त्यसलाई नगरपालिका मार्फत सर्वदलिय राजनितिक संयन्त्रमा वृहत छलफल गराई छुटेका विषयबस्तुलाई समेट्दै अगाडी बढ्ने विषयले माडीको विकासमा अब सबै एकै ठाउँमा जुट्ने आशा देखिएको थियो । तर राजनितिक दल, दल भित्रको पनि आन्तरिक लडाई र केहि गन्ने मान्ने भनिएका ब्यक्तिहरुका कारण माडीमा एकता कायम गर्दै कार्यान्वयनमा जानु भ्याकुताको धार्नी पुर्याउनु जस्तै भएको छ। हुलाकी सडकका लागि छुट्टिएको बजेटलाई छिटो भन्दा छिटो कार्यान्वयनमा लैजान रचनात्मक भुमिका खेल्नु पर्ने बेलामा, जस लिन मात्र खोज्ने यो होडबाजी पछिल्लो उदाहरण हो । हुन त कुखुरा मर्याे भने त राजनिती हुने माडीमा, विकासकै सवाल आउदा को पछि पर्न खोज्थ्यो र !
यतिखेर राप्रपाका प्रत्यक्ष निर्वाचित सांसद विक्रम पाण्डे, नेपाली काँग्रेसका समानुपातिक सांसद उमेश श्रेष्ठ, माओवादी केन्द्रका समानुपातिक सांसद धनिराम पौडेल (जो माडीकै स्थानिय समेत हुन्), माडीमा सक्रिय छन् । कहिले काही माडीका सवालहरुमा चितवन क्षेत्र ४ बाट प्रत्यक्ष निर्वाचित नेपाली काँग्रेसका सांसद रामकृष्ण घिमिरे, थरुहट कि समानुपाति सांसद रुक्मिणी चौधरीले पनि आफुलाई उपस्थित गराउने गरेका छन् । विगतका ४ वटा गा.वि.स. मिलेर बनेको माडी नगरपालिका जुन क्षेत्रफलका हिसाबले (२३८ दशमलव ५५ वर्ग कि.मी., जनसंख्या ३७,६८३) नि निक्कै सानो छ । यति सानो क्षेत्रमा यतिका सासंद सक्रिय रहेको नेपालमा सायदै माडी नगरपालिका मात्रै होला । यो माडीका लागि ठुलो अवसर हो । तर यो अवसरको सदुपयोग गरी सामुहिक छलफल, साझा अवधारणा, सबैको सहभागितामा काम गर्नुको सट्टा एकल ढंगबाट, आफ्ना कार्यकर्ताको मात्रै सहभागिता अनि उनिहरुलाई मात्रै खुसी बनाउने गरी आ–आफ्नै ढङ्गको डम्फु बजाउनु नै माडीका लागि ठुलो विडम्वना भै राखेको छ । योजना छनौट गर्दा सामुहिकरण नगरी, दिर्घकालिन योजनाको पहिचान नगरी एकल ढङ्गगबाट टुक्रे योजनामा बढी ध्यान र बजेट खर्चिदा बामे सरेको माडी विकासले सहि र आबश्यक गति लिन सकिरहेको छैन् । माडीमा योजनाहरु भित्र्याउनका लागि, माडीको विकासका लागि जुन खाले एकता माननिय सांसदहरुमा हुनुपथ्र्याे, त्यो देखिदैन् । अझ भनौ ठुला योजना माडीमा पार्नु भन्दा पनि, आफुले गरेको हु भनेर देखाउन साना–तिना बजेटका टुक्रे योजनामा रुमल्लिएको देखिन्छ ।
माडीमा सक्रिय राजनितिक दलहरु एमाले, माओवादी केन्द्र, राप्रपा–नेपाल, राप्रपा यतिखेर सरकारमा छन् । माडीका लागि यो अवसर हुदाँहुदै पनि स्थानियस्तरमा एकजुट भै केन्द्रमा दबाब दिन नसक्दा आगामी आर्थिक बर्षका लागि प्रस्तुत १४४ पृष्ठ लामो बजेटमा माडी भन्ने शब्द एक ठाउँमा नि अटेन । नत माडीलाई लक्षित गरेर कुनै योजना नै पर्याे, नत बजेट नै छुट्टियो । यस तर्फ अझै पनि सरकारमा सहभागि माडीमा सक्रिय दलहरुको चेत नखुल्नु विडम्वना हो ।
माडीको यातायातलाई २४ सै घण्टा सुचारु हुने गरी विकास गर्न चितवन राष्ट्रिय निकुञ्ज अबरोधक बनेको छ । निकुञ्जको बाटो साघुँरो छ, स्तरोन्नतीका लागि नत रुखहरु काट्न पाईन्छ, नत पिच गर्न नै । यसका केहि कानुनी जटिलताहरु छन् । माओवादी केन्द्रका तर्फबाट वन मन्त्री रहेका अग्नीप्रसाद सापकोटाले यो दुराअबस्थाको प्रत्यक्ष अवलोकन पनि गरेका छन् । तर समाधान तर्फ लागेको पाईदैन । यदि जसनै चाहिएको हो, हामीले नै गर्दा भएको हो भन्ने पार्नु छ भने स्थानिय माओवादी केन्द्रका नेता कार्यकर्ताले आफ्नो पार्टीको मन्त्रीलाई दवाव दिएर, सडकको स्तरोन्नती गर्ने वातावरण बनाउन तर्फ लाग्दा बुद्धिमता होला । उर्जा मन्त्री माओवादी केन्द्रकै टोपबहादुर रायमाझी छन् । सव–स्टेशनमा मात्रै बलेको विजुली माडीबासीको घर–घरमा पुर्याउन अतिनै ढिला भैराखेको छ । आफ्ना मन्त्रीलाई दवाब दिएर छिटो भन्दा छिटो विजुली वितरणको वातावरण बनाउन भुमिका खेलेमा अली बढी जस माओवादी केन्द्रलाई नै जाला । दिनानुदिन माडीका युवाहरु विदेश पलायन भैराखेका छन् । यतिखेर श्रम मन्त्री राप्रपाका दिपक बोहोरा छन् । माडीका युवाहरुलाई माडीमै श्रम गरेर खाने वातावरण निर्माण गर्न राप्रपाका नेता कार्यकर्ताले आफ्ना मन्त्रीलाई दबाब दिदा यसको जस उनिहरुले नै पाउलान् ।
एमाले, राप्रपा–नेपाल लगायतका दलका नेता कार्यकर्ताले पनि आफ्नो पहुचले भ्याए सम्म केन्द्रिय तहमा दवाब दिदा माडीका लागि राम्रै हुन्छ । तर दिर्घकालिन महत्वका ठुला योजनाहरुका लागि भने माडीमा सक्रिय राजनितिक दलहरुको एकता विना संम्भव छैन । दलिय एकतालेनै नै माडीमा विकासको लहर ल्याउन केन्द्रमा दबाब पर्न जान्छ । तर जुगमा एक पटक एउटा योजना के परेको थियो अनि त्यसैमा मैले÷हाम्रो पार्टीले गर्दा भएको हो भनेर हानथाप गर्नु सोभनिय देखिएन् ।
उत्तर र दक्षिणका छिमेकि मुलुकलाई जोड्ने गरी राष्ट्रिय गौरवको योजनाका रुपमा निर्माण कार्य थालनि गरिएको केरुङ्ग–ठोरी लोकमार्गले माडी छुने गरी आगामी आर्थिक बर्षमा बजेट विनियोज नहुनुको एउटा प्रमुख कारण माडीमा सक्रिय दलहरुले एकता प्रदर्शन गर्न नसक्नु नै हो । विगतमा जसरी ठोरी–केरुङ्ग लोकमार्ग माडीबाटै जान्छ भनेर प्रचार गरियो, त्यसमा पनि सबै दलको ऐक्यबद्धता भन्दा पनि दलका केहि मान्छेहरुको मात्रै चाहना रहेछ भन्ने कुरा आज आएर प्रमाणित भएको छ । यदि माडीबाटै जाने अबस्था सृजना भएता पनि अहिलेकै हुलाकी मार्गलाई कायम गर्ने कि ? रिउ खोलाको तटबन्धन समेत हुने गरी बाईपास रोडका रुपमा रिउ खोलाको किनारै–किनार लाने ? या अन्य कुनै रुटबाट भन्ने मै अझै पनि माडीका दलहरु, सांसदहरुले एउटै रोडम्याप बनाएर अगाडी बढ्न सकेका छैनन् । सरकारले भण्डाराबाट सिधै ठोरी बाटो निकाल्ने गरी बजेट छुट्याउदा समेत माडीका दल, नेता, सांसद माडीबाटै जान्छ भन्दै माडीको पनि आफ्नो ब्यक्तिगत धारणाको रुट तोक्दै डम्फु बजाईरहेका छन् । कतिपयले त भरतपुर–जगतपुर–माडी–ठोरी हुलाकी सडक–खण्डलाई छुट्टिएको यो बजेटलाई समेत ठोरी–केरुङ्ग लोकमार्ग निर्माणका लागि बजेट छुट्टिए जसरी प्रचारबाजी गरिरहेका छन् ।
विगतमा माडीले देश र नेतालाई धेरै दियो । तर देशले माडीलाई आज सम्म जति दिनु पर्ने हो त्यति दिएन भन्दा सायदै अन्यथा नहोला । विगतमा माडीबाट काग्रेँस, माओवादी केन्द्रका नेताहरुले चुनाव जितेर गए पछि ति सांसदहरुले माडीमा देखाएको आफ्नो उपस्थीति भन्दा हालका राप्रपाका विक्रम पाण्डेको उपस्थीति अतिनै बाक्लो छ । यो तितो यथार्थ हो । सायदै यो कुरा धेरैलाई नपच्न पनि सक्छ । प्रत्येक दिनहु जसो माडीका गाउँहरुमा पाण्डेले आफुलाई उपस्थिति गराएर हाम्रा लागि सांसद बनेको रहेछ भनेर माडीबासीमा एक खाले छाप पार्दै गएको सत्य हो । तर सांसद विक्रम पाण्डेको काम भन्दा पनि बढी, ब्यक्ति सांसद पाण्डेको गुनगान गाउदा स्वयंम सांसद पाण्डेलाई पनि माडीमा त काम गर्नु पर्दैन, बेला–बेलामा गईदिए मात्रै हुन्छ भन्ने मनोभाव पैदा भएर कतै थालेका काम पनि त्यसै अलपत्र पर्ने हुन कि भन्ने प्रश्न समेत खडा हुने गरेको छ । विक्रम पाण्डे हालका लागि प्रत्यक्ष चुनिएका माडीको जनप्रतिनिधी हुन् । माडीका समस्यालाई सम्बन्धीत निकाय सम्म पुर्याएर निराकरण गर्ने उनको जिम्मेवारी हो । विकासका दृष्टिले अतिनै पछाडी पारिएको माडीलाई समृद्धि तिर धकेल्ने, जति सक्दो योजनाहरु माडीमा भित्र्याउने गरी काम गर्नु उनको दायित्व हो । जनताले तिरेको करबाट नै विकास निर्माणका कामहरु हुने हुन् । सरकारी ढुकुटीको त्यो बजेटबाट विगतका सांसदहरुले माडीमा कति काम गरे ? अहिलेका सांसद पाण्डेले कति काम गरिरहेका छन् ? यसरी हेर्दा मात्रै सहि मुल्याङ्गकन हुनसक्छ । यसरी जनताले भोट दिएर जिताएका सांसदको प्रत्येक कामलाई राजनितिक पुर्वाग्रहिढङ्गबाट मात्रै नजर अन्दाज गर्दा ति जनताको भोटको नै अबमुल्यन हुन जान्छ । माडीबासीले कछुवा गतिको टुक्रे योजना भन्दा पनि भ्यागुता उफ्रे जसरीको छलाङ्गको विकास खोजीरहेका छन् । त्यो भावनालाई बुझ्न नसकेर, काम गरिरहेको छु क्यारे भन्दै देखाउन खोज्ने गरी टुक्रे योजनामा भुल्नु सांसद पाण्डेको कमजोरी देखिएको छ । जनप्रतिनिधी भै सकेपछि पनि आफु निकटका ब्यक्तिहरुको रोडम्यापमा चल्नु, फरक राजनितिक दलका स्थानिय नेता–कार्यकर्ताको अबमुल्यन, अन्य राजनैतिक दलका केन्द्रिय देखि स्थानिय नेता कार्यकर्तालाई माडीका सवालहरु, विकास निर्माणका कार्यहरुमा जोड्न नसक्नु सांसद विक्रम पाण्डेको कमजोरी हो ।
माडी खण्डको हुलाकी सडक पक्कि (पिच) हुदा जस जान्छ भनेर–“कहाँ विक्रम पाण्डेले बनाएको हो, त्यो त सरकारी पैसाबाट पाण्डेले ठेक्का पाएर उसैको कालिका कन्ष्ट्रक्सनले बनाएको हो” भनेर झ्याली पिटियो । मर्मत सम्भार नहुदा अहिले ठाउँ–ठाउँमा त्यो पिच भत्किएको छ । अहिले विक्रम पाण्डेले बनाएको पिच गुणस्तरहिन रहेछ भनेर अनेकन दोष थुपरिएको छ । त्यो भत्किएको पिचको मर्मत संम्भारमा ध्यान नपुर्याउदा पाण्डेको आलोचना गर्नेहरुलाई थप हौस्याईरहेको छ । रचनात्मक भन्दा पनि आरोप–प्रत्यारोपको यो खाले राजनितिले माडीको विकास हुन नसकिरहेको यथार्थ हो ।
विगतमा माडीलाई ठुला–ठुला सपना देखाएर धेरै मान्छेहरु माडीको भावना सगँ खेले, आफुलाई बनाए तर माडीलाई बनाएनन् । माडीबासीले धेरैलाई योगदान गरे तर माडीलाई योगदान गर्ने कोहि भएनन् । कारण थियो माडीबासी एकजुट थिएनन् । माडीबासीलाई आशा र लोभमा छिन्नविन्न पारिएको थियो । अहिले पनि विभिन्न प्रबृत्ति बोकेका मान्छेहरु विभिन्न बहानामा माडी छिर्दै आफु अनुकुलका गतिविधि गरिहेका छन् । साच्चै ति माडीको हितमा छन् कि छैनन् ? यस तर्फ माडीबासी सजग हुनु आबश्यक छ । अब विगतबाट पाठ सिक्दै समृद्ध माडी निर्माणका लागि माडीबासीले नै पहल गर्नुपर्छ, यसमा माडीबासीको नै अपनत्व हुनुपर्छ । माडीलाई विकटताको शब्द भिराउदै,, माडीको विकास गर्ने भन्दा पनि माडी प्रति दया देखाउने अनि आफ्नो ब्यक्तिगत स्वार्थ परिपुर्ति गर्नेहरुबाट माडीलाई जोगाउनु अति आबश्यक छ ।