arrow

लय, सुर र ताल बिनाको नेकपा फुटको औचित्य के ?

logo
संजिव कार्की,
प्रकाशित २०७७ फागुन ३ सोमबार
NEKPA.jpg

कुनै पनि चिजमा तादम्यता भएन भने त्यसले सापेक्षिक अर्थ राख्दैन । अनर्थ, अर्थ होइन, तसर्थ अर्थ नहुनेको उद्देश्य पनि हुँदैन । निरुद्देश्य नै उद्देश्य सिद्धान्त च्युत नै सिद्धान्त भएपछि, असिद्धान्त सिद्धान्तको पगरी गुथेर पनि सिद्धान्त बन्न सक्तैन । अविचारले विचारको निर्माण ,उत्पादन र प्रमोसन गर्न सक्षम बन्दैन । व्यक्तिको शैली सिद्धान्त बन्ने आचरण पथ बन्ने समय यो छैन । समयले सापेक्षिक चेतना र उन्नत विचारको माग गर्छ ।  परम्परागत कम्युनिस्ट सिद्धान्त पुरानो भयो भन्नेले न नयाँ सिद्धान्त प्रतिपादन गर्ने क्षमता राखे न पुरानै सिद्धान्तमा अड्न, टिक्न सक्ने अवस्था छ ।

यही समस्या र भुमरीमा परेको कारण नेकपा कुहिरोको काग बनेर आफ्नो साख गुमाउँदै छ । जनताको अपार समर्थन र सत्ता संचालनार्थ दिएको पाँच बर्षे लालमोहरको खिल्ली उडाएर जे गर्दैछ नेकपा त्यो रमाइलो प्रहसन साबित भएको छ । जनताको मता देशलाई आ-आफ्नो पक्षमा भागबण्डा गरेर स्थिर सरकारको चाह र उद्देश्यको मर्ममा घात मात्रै गरिएन पछिल्लो पुस्ताका तन्नेरीहरुको राजनीतिमा बज्रपात गरियो । दिशाविहीन, लक्ष्यविहीन र आदर्शविहीन भएर नेकपा पार्टी र सरकार रहेको छ । अन्तर कलह ,सत्ता र शक्तिको तिकडममा पार्टी र सरकारको द्वन्द्वले नेकपाका नेता कार्यकर्ताहरूको प्रस्तुतिले परम्परागत पर्व गाईजात्रालाई माथ गरेको छ ।

अनुशासन पार्टी आचरण विधान र पद्धति मिचेर नेता कार्यकर्ता एक अर्कालाई खुइल्याउन जानेको सकेको तुच्छ र मर्यादाहीन शब्दमा प्रतियोगी झैं लागिपरेकै थिए । अब झन् विभाजनमा गएर तमासाको राष्ट्रियकरण गरिएको छ । सत्तासीन पार्टीको झगडाको असर र प्रभाव देशभर देखिएको छ । राजनीति, प्रशासन र यत्रतत्र यसको प्रभावले जनताको दैनिकीलाई दुष्प्रभावले गाँजेको छ । एकातिर कोरोनाले देशलाई गाँजेर भयंकर संक्रमणको खतरा टर्दै थियो अब राजनीतिक संक्रमणकालीन अवस्थाको सिर्जना गरिएको छ त्यो पनि सत्तासीन पार्टीको विग्रहको कारण । देशको अर्थतन्त्र तहसनहस बनेर जनताको हातमुख जोर्ने समस्या देखिन थालेको छ । अरू महासंकट आसन्न छ तर सत्ताको ठेक्दारी पाएका मान्छेहरू, नेकपाका नेताहरू मानवीय संवेदनालाई पर छोडेर आफ्नो लालची आकंक्षाको उडान भर्न मस्त र व्यस्त छन् । लोक लाज हराएपछि बाँकी केही रहँदैन नेकपा अहिले यही स्थिति र मनस्थितिबाट लज्जाहीन कुरूप अनुहार लिएर अगतिशील छ । गतिशीलता आफ्नो गुट प्रवर्द्धन गर्न, घेरा बनाउन र एकार्काको बाहुल्यता बढाउनमा सीमित छ । ठूलाठूला शक्ति प्रदर्शनका खेल र खर्च हुँदैछन् ।

भ्रमित पार्टी, सत्ता र शक्तिले प्रगतिशील कदम र कार्य गर्न सक्तैन । खराब नै सही आफ्नो पार्टी र सिद्धान्त यही हो भनेर जुन पार्टीले किटान गरेर तदनुकुल कार्य गर्दैन त्यो पार्टीको दशा र हैसियत निश्चय नै नेकपा भन्दा फरक हुन्न । मदन भण्डारीको जनताको बहुदलीय जनवादले जाज्वल्यमान भएको नेकपा एमाले, प्रचण्डसँगको पार्टी एकीकरणपछि प्रचण्ड पथ कि मदनपथ जनताको बहुदलीय जनवाद कि एक्काइसौं शताब्दीको जनवाद भन्ने सैद्धान्तिक विवादले निकास न पाउँदै सुविधा भोगी सत्ताको चास्नीमा डुबेका र सत्ताको न्यानोबाट वञ्चित समूहको नाममा विभाजित भएर देशलाई अंध्यारो सुरुंगमा लान उद्धत छन् ।

नेकपा अन्तर अल्झनमा पर्नुको मुख्य कारण सैद्धान्तिक होइन । यद्यपि, सिद्धान्त क्लियर नहुनु पनि विचार राजनीति समस्यामा पर्नुको कारण बन्छ । तर नेकपा भित्रको विवाद नेताहरूको शैली आचरण र सत्ता लोलुपताको कारण हो । पार्टी एकीकरण सिद्धान्तको लागि भएको थिएन सत्ताको लागि थियो । पदको सौदाबाजी गरेर पार्टीको एकीकरण भएको थियो । भन्छन् अन्तर पार्टी जनवाद तर गर्छन् सिन्डिकेटको समर्थन र प्रवर्द्धन । नेकपा संघर्ष र बेहालको एक चित्र डाक्टर कृष्ण ढकाल यसरी चित्रित गर्छन् । ‘जीर्ण शरीर र वृद्ध कायमा एक भोको गाई मैदानमा लडिरहेको छ । केही थान मोटा बलिया बाङ्गा बाच्छाहरू घाँस ओगटेर बसेका छन् र थुन चुस्न मारामार गरिरहेछन् । थप केही बलिया बाङ्गा बाच्छाहरू समूह समूहमा बाँडिएर तिनको रक्षामा सिंगौरी खेल्न तयार छन् । त्यो भन्दा बाहिर भोका दुब्ला, ख्याउटे बाच्छा, बाच्छीहरु एक थोपो दूध र अलिकति घाँसको निम्ति तड्पिरहेका छन् । र अलि पर एउटा विशाल ब्वाँसो यी सबलाई उकास्दै मुख मिठ्याएर बसेको छ ।’

आजको सत्ता राजनीति र नेकपा उल्झनको चित्र यो कथाको सारभन्दा फरक छैन । पद्धति, विधि र नीति भन्दा फरक व्यक्तिको स्वैच्छिक मनोमानी नै पार्टी भएपछि आउने परिणाम यस्तै हो । विचारको समागम थिएन पार्टी एकता अतः पदको समागम थियो, व्यक्तिको स्वार्थको लेनदेनमा पार्टी विघटन भएको थियो । पार्टी भनेकै दुई व्यक्ति मात्र स्वीकार गरिएको कारण पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेका लाखौं कार्यकर्ता बिचारविहीन र आचरणविहीन भएका हुन् । नेताको जस्तो विचार र आचरण पनि पचाउनु पर्ने, ढाकछोप गर्नुपर्ने, आ-आफ्नो गुटको प्रमोसन र नेताको आशीर्वादको लागि खट्नु पर्ने नेकपाका युवा पुस्ताको नियति र नियत बनेपछि नेकपा अब हरियो भएर पलाउने सम्भावना तुहाएर पहेंलो भएर झर्ने खेलमा दुई पार्टी बनेर विभाजित छ । बामदेव पार्टी एकता संयोजन समिति बनाएर छुट्टै चुलो धुवाँएर आफ्नो लागि उचित अवसरको खुल्लमखुल्ला वकालत गरिरहेछन् । यसरी हेर्दा नेकपा तीन खुट्टे ओदान भएको छ । नाम सबैको नेकपा तर खुट्टा पृथक् पृथक् ।

केपी ओली र प्रचण्डको स्वार्थ पूर्तिको लागि पार्टी पद्धति भत्काएर व्यक्तिको मर्जी र स्वेच्छाले चल्ने पार्टी निर्माण गरेपछि, लहड आवेग र स्वार्थसिद्दको लागि पार्टी बनाएर विचार, नीति र मार्गको एकता भनेर कम्युनिस्ट पार्टीको सैद्धान्तिक एकताको जामा भिराइयो गलत त्यहीँबाट शुरु भयो ।  पार्टी एकताको लागि प्रचण्ड र ओलीले कसैलाई सोध्नु परेन, पार्टी पंक्तिमा छलफल गर्नु परेन,नेता कार्यकर्ताको भावना कदर गर्नु परेन । आफ्नै पार्टीका आफ्ना समकक्षी  प्रधानमन्त्री भईसकेका नेताहरुलाई समेत बाल नदिएर गरिएको पार्टी एकताको दिगोपन र एकताको आधार बलियो छैन, हुँदैन भनेर धेरै पहिलेदेखि चर्चा र परिचर्चा गरिएको हो । वैचारिक सैद्धान्तिक आधार र धरातल उस्तै भनिए पनि नेकपा एमाले  र नेकपा माओवादीका नेता कार्यकर्ताहरूमा आधारभूत रूपमा पृथकता र दुरी लामो थियो ।

पार्टी एकता पार्टी कार्यकर्ताको भावना चाहना र विचार पनि हो तर नेताको टुपी मिलेपछि सब थोक मिल्छ भन्ने गलत धारणा भएकोले एकताले गति लिन सकेन । जसरी एकता भयो, विभाजन एकता गर्ने दुई पार्टी बीच नभएर अन्तर घुलनसहित विभाजन भयो । पूर्व एमाले र पूर्वमाओवादी बाँडिए पनि ठुलो हिस्सा प्रचण्डसंगै छ । बाँडिएर पार्टी विभाजनमा गए पनि नेकपा माओवादी र नेकपा एमालेको दुई भिन्न स्कुल अफ थटबाट आएका कारण भोलि त्यहाँभित्र पनि समस्या देखिने निश्चित प्राय छ । दुवै खेमामा एक अर्कालाई दृष्टिकोण आचरण र व्यवहारमा फरक देख्ने आँखा छन् तसर्थ यो एकता पनि बलियो र दर्बिलो नहुने पक्का छ ।

आज सत्ताको स्वार्थको कारण विभक्त भएको शक्ति भोलि अन्य देखिने नदेखिने कारणले पुनः फुट्ने र जुटने सम्भावना नकार्न सकिन्न । राजनीति सम्भावनाको खेल हो बस प्रतीक्षा गर्नुपर्छ । चुनाव जित्नु, चुनावी मोर्चा बनाउनु र पार्टी एकता नै गरेर जानु नितान्त फरक कुरा थिए तर नेकपाका नेताहरूले यो कुरामा हेक्का पुर्‍याउन सकेनन् र दोस्रो पुस्ताका नेताहरू नेकपा एमाले भित्रका र माओवादी भित्रका केवल एस म्यान बने । भोलिको संकट र अप्ठ्यारोको द्रष्टा बन्न सकेनन् । आशीर्वाद र टीका थापेर चल्ने, चलाउने पद्धति कै कारण युवा पुस्ता नेता निर्भर बने स्व-निर्भर बन्न सकेनन् । यसर्थ जस्तो निर्णय नेताले गरे पनि शिरोपर गरेर जाने प्रवृत्ति देखा पर्‍यो ।

भिजन वाला लिडर आज र अहिलेको कुरा हेर्दैन सोच्दैन । भावी दिनको कल्पना र भविष्य हेर्छ तर सत्ता लिप्साको कारण अहिलेको पुस्ता तातै खाऊँ जल्दै मरौंको स्थितिमा छ । देशको पार्टीको र आफ्नो भोलिको सुनौलो भविष्य हेर्दैन । आजको र हातको सत्ता अवसरमा ध्यान दिन्छ ।  आशा लाग्दा भनिएका नेकपाका युवा पुस्ताको दूरदर्शिताको अभावले पनि नेकपा संकट, महासंकट र आपतमा पुगेको हो । व्यक्ति इच्छा र लहड अनि सनकलाई सिद्धान्त भनिएपछि आउने आपद् र विपद् यही हो । पार्टी पद्धतिमा व्यक्तिको छाप हुन्छ तर व्यक्तिको लागि सिद्धान्त निर्माण हुँदैन । स्वार्थ व्यवस्थापनको लागि पद्धति बली चढ्दैन् । व्यक्तिको अनुहार हेरेर सिद्धान्तको भाष्य लेखिन्न । लय, सुर र ताल बिनाको नेकपा बनाउने स्वयं नेकपाकै नेता कार्यकर्ता हुन् । जनताले पाँच वर्षका लागि विश्वासको लालमोहर दिएका हुन तर नेकपाको आन्तरिक कलहले संसद्लाई प्रधानमन्त्रीले असमयमा हत्या गर्ने धृष्टता गरे तथापि अदालतको फैसला आएको छैन ।

एक अर्कालाई ठुलो देखाउन कार्यकर्ता तान्ने प्रतिस्पर्धामा जे र जस्ता पनि मान्छेलाई नेतृत्वमा लैजाने परिपाटी दुई खेमाले अवलम्बन गरेका छन् र जुन तामझाम खर्च र सान सौकतका साथ पार्टी विभाजनको औचित्य पुष्टि गरिंदै छ । जसको असर आगामी दिनमा चुनाव महंंगो हुनेदेखि सामान्य मान्छेको हातमा चुनावी प्रतिस्पर्धाको भविष्य रहन्न । उसै पैसाको पहुँच नहुनेको हातमा चुनाव र पार्टी राजनीति थिएन छैन भने झन् अब गरिबको लागि राजनीति छैन हुँदैन भन्ने कुराको बढोत्तरी हुनेछ । अस्वस्थता अरू बढ्ने छ । विकृति र विसंगति अरू पुष्पित पल्लवित बन्ने छ ।

पार्टी फुट र विभाजनको औचित्य किन पनि छैन भने यी दुवैमा असल र सिद्धान्तनिष्ठ नैतिक आचरणले युक्तहरू एकातिर अनि दुष्ट, पापी, अनाचारी, दुराचारी, भ्रष्टाचारी अर्कोतिर भएको स्थिति होइन । दुवै पक्षमा दुवैथरि प्रवृत्ति मान्छेहरूको बोलवाला छ । पार्टी शुद्धीकरण र निर्मलीकरणको कष्ट पनि होइन ।  लोभ, मोह र शक्तिको हानथाप, आफ्नो पोल्टामा पार्ने अस्वस्थ प्रतिस्पर्धा हो । त्यसैले नेकपा फुटको औचित्य कुनै पनि एंगलबाट उपयुक्त छैन । भद्रगोल भित्र केवल क्रम भङ्ग भएको यसको सुर, ताल र लय मात्रै हो । भद्रगोल र विसङ्गतिको पनि आफ्नो लय हुन्छ बस् त्यो छिन्नभिन्न भएको मात्रै हो । 
 



नयाँ