arrow

सीपी गजुरेल र देवेन्द्र पौडेलको एकै मत: ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गरौं

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
CP-Devendra.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो आवश्यकत्ता औंल्याएका हुन् । वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले ‘काशी जाने, कुटीको बाटो’ भन्ने उखान चरितार्थ भएको पनि उनले टिप्पणी गरेका छन् ।

‘आफैंले प्राप्त गरेको दुई तिहाईको मतको व्यवस्थापन गर्न नसक्ने, अनि आफू अध्यक्ष भएर पनि आफ्नो दलपनि व्यवस्थापन गर्न नसक्ने प्रधानमन्त्री, हुँदाहुँदा अब उहाँले हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो । र, हठात् निर्वाचनको घोषणा गर्ने जुन घोषणा भएको छ । हामी सबैले बुझेकै हौं । यो घोर निन्दनीय छ । यो अलोकतान्त्रिक कदम हो । असंवैधानिक कदम हो । यो कदमको हामीले डटेर सामना र प्रतिकार गर्नुपर्छ । प्रधानमन्त्रीलाई कतैपनि संविधानमा त्यो अधिकार दिइएको छैन् ।

पूर्व प्रधानन्यायाधीशहरुले समेत प्रधानमन्त्रीले बलजफ्ती अधिकार प्रयोग गरेको भनेर विरोध गर्नुभएको छ । पूर्व सभामुखहरुले पनि विरोध गरेका छन् । कानूनका विज्ञहरुले विरोध गरेका छन् । नागरिक समाजलगायत सबैले विरोध गरेका छन् ।’

साक्षात्कारमा बोल्दै उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधिन रहेको बताए । ‘यो विषयमा बहस चलिरहेको छ । निर्वाचन आयोगलाई जबरजस्त चुनावमा जानको लागि सरकारले ताकेता गरेको सुनेका छौं ’,उनले भने,‘यो कदम असंवैधानिक छ । निर्वाचन आयोगले आँफैले कुन कुन दलले भाग लिने भनेर टुँगो लगाएको छैन् । निर्वाचन हुनसक्ने सम्भावना छैन् । निर्वाचन हुँदैन् ।’

नेता पौडेलले प्रधानमन्त्री ओलीले निर्वाचन गर्नको लागि यो स्टेप नचालेको पनि दाबी गरे । उनले भने,‘निर्वाचन गर्नको लागि यो स्टेप चालिएको होईन् । मिति नतोकिकन प्रतिनिधिसभा भंग गर्न पाईँदैन् । उहाँले सरकार लम्ब्याउने र निरंकुश प्रणाली लागु गर्नको लागि यो कदम चाल्नुभएको हो ।’

उनले चुनाव भयो भने कसले जित्छ वा कसले हार्छ ? भनेर अहिले हिसाबकिताब गर्न नहुने पनि सुनाए । उनले भने,‘कुन पार्टी वैधानिक हो ? कुन होईन ? त्यसको निक्र्यौल निर्वाचन आयोगले पछि गर्ला । तर, अहिले ओलीको कदमको विरुद्धमा संयुक्त आन्दोलनमा जाऔं । संसद विघटन गर्ने ओलीको यो कदम वैधानिक छैन् ।

हामीले दशकौं लामो समयदेखि लडेर ल्याएको र प्राप्त गरेको उपलब्धि, संविधान र प्रणालीलाई हाम्रो तर्फबाट संयुक्त आन्दोलनको लागि पहल गरौं । यसको लागि वार्ता गरौं । यो कदमले संकटकालतर्फ लैजान्छ । अब देशलाई संयुक्त आन्दोलनले निकास दिन्छ । अहिले चुनाव भयो भने जितिन्छ कि भन्ने बेला होईन् । यो कदमको विरोध गर्ने पक्षहरु एक ठाउँमा सडकमा आएर प्रतिवाद गरौं ।’

त्यस्तै देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न सकिने धारणा राखेका छन् । तर, त्यसको लागि अहिलेको व्यवस्था नै गलत हो भनेर दलहरुले विचार गर्नुपर्ने सुनाए ।

उनले भने,‘ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव गर्नुभयो, र, लगत्तै राष्ट्रपतिले स्विकार गर्नुभयो । यो कदमलाई हामीले प्रतिगमनकारी भनेका छौं । संविधानअनुसार यो अधिकार उहाँलाई छैन् । उहाँले चुनावको मिति घोषणा गर्नुभयो । चुनाव हुनेवाला पनि छैन् । चुनाव गराउनको लागि मिति तोकिएको होईन् । हुनेवाला छैन् । उहाँको उद्देश्य चाहीँ के छ भने यो सरकारलाई जसरीपनि लम्ब्याउने हो । शासक बनिरहने ।’

उनले अहिले राष्ट्रपति शासन र संकटकाल लागु गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको टिप्पणी गरे । उनले नेकपाले जनतामाथि कुठराघात गरेको पनि बताए । उनले अहिलेको राजनीतिक समस्या÷संकटको समाधान अब संयुक्त वैकल्पिक सरकार बनाएर व्यवस्थाको विकल्प खोज्जनुपर्ने सुनाए ।

उनले आफूहरुले अहिलेको व्यवस्थाको नै विकल्प खोज्नुपर्ने बताएको सुनाए । उनले भने,‘हाम्रो भनाई के छ भने व्यवस्थाको बारेमा पूर्नविचार गरौं । आन्दोलन अघि बढाऔं । संयुक्त आन्दोलन त्यताबाट गरौं । संसदीय पार्टी नेपाली कांग्रेस त संयुक्त आन्दोलनमा आउन सकेन । हामीसँग त धेरै अन्तर छन् । बरु, अहिले सिभिल सोसाईटी अघि बढेको छ । अब तेस्रो आन्दोलन आवश्यकत्ता छ भनेर एक जना अभियन्ताले भन्नुभयो । अब अर्को आन्दोलनको आवश्यक पर्यो । राष्ट्रिय पार्टीहरु, नेताहरुले खुला दिलले सोच्नुपर्यो । त्यही व्यवस्था समातेर कहीँ पुगिंदैन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ