arrow

को मान्छे कति बेला मर्छ थाहा छैन, जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ : प्रधानमन्त्री

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
kp-sharma-oli5.jpg

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरू दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधवार आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताएका हुन् ।

सर्वोच्च अदालतले मङ्लबार गरेको फैसलाका कारण हताश हुनुपर्ने कारण नभएको जनाउँदै उनले जिन्दगी नै अनिश्चित भएकाले आफूमा कुनै दम्भ र भ्रम नरहेको स्पष्ट गरे । “को मान्छे कति बेला मर्छ थाहा छैन तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ” उनको भनाइ थियो ।

आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमा पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले बताउँदै उनले कतिपय व्यक्ति सुरुङ र पानीजहाजका कुरा गर्दा पहिले हाँसे पनि अहिले नेपालमा कतै सुरुङ बन्न सुरु भइसकेको र कतै प्रक्रियामा रहेको जनाए ।

उनले पूर्व-पश्चिम जोड्ने चार वटा राजमार्ग तीव्रताका साथ निर्माण भइरहेको बताउँदै भने, “हामीले पूर्वपश्चिम नै जोड्ने रेलमार्ग निर्माण अघि बढाइरहेका छौँ ।”

आगामी आर्थिक वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र सन् २०२२ सम्ममा देशलाई विकासोन्मुख मुलुकमा रूपान्तरण गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे । विभिन्न कृषिजन्य उत्पादनको उत्पादकत्व बढिरहेको उनले उल्लेख गरे । उनले भने, “माछा, मासु, तरकारी र दूधको उत्पादन बढिरहेको छ ।”

नेपाल खाद्य बालीमा आत्मनिर्भर भए पनि सौखिन खानाका कारण आयात भइरहेको उनले बताए । ताजा चामल खान छाडेर मेसिनले बनाएको लामो सिता चामल खाने बानीका कारणले विदेशबाट चामल आयात गर्नुपरेको उनले उल्लेख गरे । ग्रामीण भेगमा पहिलो वर्षको अन्न बीउका लागि र दोस्रो वर्षको अन्न खाने र त्योभन्दा पहिलेको अन्न पौष्टिक तत्त्व कम भएको भन्दै नखाइने उनले बताए । उनले भने, “तर अहिले मेसिनले लामो सिता बनाएपछि पाँच वर्ष पुरानो अन्न पनि खाइएको छ ।”

माटोको अवस्थाबारे तयार पारिएको डिजिटल नक्साका कारण किसानले आफ्नो माटोको अवस्थाका बारेमा बुझेर समस्या भएमा समाधानका उपायका विषयमा विज्ञसँग सल्लाह लिन सक्ने उनले बताए । कृषिमा उपकरणको प्रयोग बढाएर जनशक्ति घटाउनुपर्नेमा उनको जोड छ । अहिले कृषिमा जति जनशक्ति क्रियाशील छ त्यो जनशक्ति अन्यत्र लगाउन सकिने उनको भनाइ छ । उनले भने, “कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदा मात्रै लागत कम गरेर उत्पादन बढाउन सकिन्छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ