जितेन्द्र भण्डारी, पाँचथर । पक्ष र विपक्षका मुद्वा लेखेर आचार संहिता बिपरित सहिछाप गरेको भन्दै पाँचथरका एकजना कानून व्यवसायी बिरुद्ध उजुरी पक्ष र विपक्षका मुद्वा लेखेर आचार संहिता बिपरित सहिछाप गरेको भन्दै पाँचथरका एकजना कानून व्यवसायी बिरुद्ध उजुरी परेको छ ।
अधिबक्ता चन्दनराज रेग्मी बिरुद्व नेपाल बार काउन्सिलले उपलव्ध गराएको ३१२३ नम्वरको कानून व्यवसायी इजाजत पत्र (प्रमाण–पत्र ) को दुरुपयोग गर्दै एउटै मुद्वाका बादी र प्रतिबादीको मुद्वा लेखी सहिछाप गरेको भन्दै उजुरी परेको हो ।
रेग्मीले फिदिम ३ निवासी ऋतुराज थेवे बादी तथा फिदिम ३ कै बुधरानी नेम्वाङ र कल्पना नेम्बाङ प्रतिबादी रहेको मुद्वा लेखेको प्रमाण सहित फिदिम २ का लयप्रसाद बास्कोटाले मंगलवार पुनरावेदन अदालत इलाममा निबेदन गरेका हुन् । पुनरावेदनमा निवेदन दिएपछि बास्कोटाले पत्रकार सम्मेलन आयोजना गर्दै कुनैपनि कानून व्यवसायीले पक्ष र विपक्षका दुवै मुद्वाका लिखतमा सहिछाप गर्नु नहुने त्यसो गरेको पाइएकाले उजुरी गर्नु परेको वताए ।
वास्कोटाको निवेदनमा ऋतुराज थेवेले २०५५ साल बैशाख २३ गते पाँचथर जिल्ला अदालतमा दर्ता गरेको बुधरानी र कल्पना बिरुद्वको मुद्वाको लिखतमा सहि गरेका रेग्मीले पुनःसोहि वर्षको जेठ २४ गते प्रतिउत्तरमा सहिछाप गरेर पाँचथर जिल्ला अदालतमा प्रतिउत्तर दर्ता गराएको भनिएको छ ।
नेपाल बार एशोसिएनले जारी गरेको आचार संहितामा कुनैपनि कानून व्यवसायीले एउटै मुद्वाका फिराद र प्रतिउत्तरमा सहिछाप गर्न नहुने उल्लेख छ । सोहि आचार संहिता विपरित काम गरेकाले रेग्मी विरुद्व निवेदन गर्नु परेको वास्कोटाले वताए ।
उनले पुनरावेदन अदालत इलाममा रेग्मी विरुद्व मुद्वा दर्ता गराएको नेपाल बार एशोसिएसन,सर्वोच्च अदालत, न्याय परिषद,सर्वोच्च अदालत वार इकाइ र कानून व्यवसायी परिषदमा समेत बोधार्थ दिएका छन् । अधिवक्ता चन्दनराज रेग्मीले भने आफुले जानाजान पक्ष र विपक्षको मुद्वामा सहि नगरेको बताए ।
उनले भने ,“ कुनै लेखापढि व्यवसायीले लेखेर आफुलाई सहि गराउदा आफुवाट अज्ञानवश त्रुटी भएको हुनसक्छ ।” यस्तै नेपाल वार एसोसियसन पाँचथर जिल्ला अध्यक्ष कमल चेम्जोङले नियतवश काम नगरेको भए पहिलो पल्टलाई जिल्ला अदालत पाँचथरले नसियत दिन सक्ने र फेरि पुन यस्तो गल्ती गरे लाइसेन्स नै खारेजी गर्न सक्ने वताए ।