arrow

सत्ता रणनीतिमा कांग्रेससँग विकल्पै विकल्प

क्षति बढाउने की कम गर्ने कांग्रेसकै हातमा

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
nepali-congress-flag-tree.jpg

काठमाडौं। प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सत्ता सहकार्यमा निर्णायक मोडमा छ । तर संसद विघटनको घटनायता नेपाल कम्युनिस्ट पार्टीको कुन पक्षसँग खुल्ने भन्नेमा कांग्रेस अझै अन्योलमा छ । खास गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा संसद विघटनको घटनासम्म मुलुकलाई पुर्‍याएपछि कांग्रेस भने झनै अन्योलमा परेको हो । अहिले नेकपा भित्र प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपाल समूहबिच कलह बढ्दो अवस्थामा छ । यतिसम्मकी नेकपाका दुवै पक्ष एकले अर्कालाई तह लगाएर देखाई दिनेसम्मको मनस्थितिबाट अघि बढिसकेका छन् ।

प्रचण्ड-नेपाल समूह प्रधानमन्त्रीसमेत रहेका ओलीलाई पार्टीबाट कारबाही गर्दै निर्वाचन आयोगसमक्ष आफ्नो पक्षलाई आधिकारिकता दिन माग गर्दै हिँडिरहेको छ भने प्रधानमन्त्री ओली आफ्नो पक्षमा बहुमत रहेको र आफैँ आधिकारिक रहेको भन्दै अर्को समूहलाई तर्साउँदै हिँडिरहेका छन्।पछिल्लो समय सर्वोच्च अदालतले ११ फागुनमा संसद पुनर्स्थापना गरिदिएपछि नेकपाका यी दुई पक्षको घर झगडा झनै मडारिएको छ । नेकपाको प्रचण्ड-नेपाल समूह जसरी पनि ओलीलाई सत्ताच्यूत गराउने रणनीतिमा छन् भने ओली समूह आफ्नो पक्ष बलियो बनाउन लागिपरेको छ।

प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय गर्दा त्यसलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको कांग्रेसले के गर्छ भन्ने अझै खुलेको छैन । योसँगै संसद बैठक बस्ने दिन नजिकिँदै गर्दा कांग्रेसले अब ओलीलाई नै प्रधानमन्त्रीमा साथ दिन्छ कि अर्को समूहलाई सघाउँछ वा आफैँ अघि सर्छ भन्ने प्रश्न चासोको विषय बनेको छ ।

तर संसद विघटन गर्ने प्रधानमन्त्रीलाई साथ दिन कांग्रेसलाई नैतिक आफ्नै पार्टीको निर्णयले गरिसकेको छ । अर्कोतर्फ प्रचण्ड-माधव समूहलाई समेत ‘संसद विघटनको विरोधको आन्दोलनमा पार्टीको आधिकारिकता छ ?’ भन्दै नसघाएको कांग्रेसले सत्तामा सघाउला त भन्ने प्रश्न पनि उठिरहेको छ ।

यसैबीचमा कांग्रेस उच्च स्रोतले भने प्रधानमन्त्रीमा ओलीलाई साथ दिन सभापति शेरबहादुर देउवा तयार भएको जानकारी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री ओलीलाई नै सरकारमा साथ दिने र आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा सरकार बनाउने गरी ओलीलाई सघाउन तयार रहेको स्रोतले बताएको हो ।

तर कांग्रेस भित्रकै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तथा प्रकाशमान सिंह भने त्यसमा सहमत भएका छैनन् । तर देउवा भने पार्टीका अन्य नेताहरू सहमत नभए बहुमतबाटै भए पनि पार्टी बैठकको निर्णयबाट ओलीलाई नै प्रधानमन्त्रीमा सघाउने पक्षमा पुगेका हुन् । कांग्रेसका एक नेता भन्छन्,‘यो बेला पार्टीले जिम्मेवार भएर निर्णय गरेन भने कांग्रेस फेरी एक पटक खाडलमा फस्ने वाला छ, कांग्रेसले कहाँ कम र कहाँ बढी क्षति हुन्छ भन्ने हेरेर निर्णय गर्नुपर्छ ।’

कांग्रेसका लागि कहाँ बढी क्षति कहाँ कम ?
कांग्रेस नेताहरूका अनुसार अहिलेको राजनीतिक अवस्थामा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीलाई नै साथ दिने निर्णय गर्नु कांग्रेसका लागि सबैभन्दा बढी क्षति हुने अवस्था बन्न सक्छ । यस्तै प्रधानमन्त्री पदका लागि आफ्नै पार्टीबाट अघि सर्नुसमेत यो समयमा कांग्रेसका लागि अर्को ठूलो क्षतिको विषय हुनसक्ने नेताहरू बताउँछन् ।

‘यो बेला कांग्रेसले ओलीलाई सघाउँदा पनि पार्टीलाई बढी क्षति हुन्छ, आफ्नै उम्मेदवार बनाउँदा पनि बढी क्षति हुन्छ, बरु असंवैधानिक कदमको विरोध गर्ने नेकपाकै प्रचण्ड-नेपाल समूहलाई प्रधानमन्त्रीमा सघाएर आफू सत्ता बाहिर बस्दा पार्टीलाई कम क्षति हुन्छ, नत्र क्षति कम मात्रै गर्छु भन्ने हो भने उनीहरूकै सरकारमा पार्टीका केही नेतालाई मन्त्री बनाएर पठाउन पनि सकिन्छ ।’ एक जना कांग्रेस नेता भन्छन् ।

बिहीबार चितवनमा आयोजित प्रेस युनियनको कार्यक्रममा समेत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यही आशयको अभिव्यक्ति दिएका थिए । उनले अब बस्ने संसद बैठकमा कांग्रेस प्रचण्ड-नेपाल समूहको पक्षमा उभिने बताएका थिए ।

यसैगरी कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालेसमेत सोही समूहलाई नै पार्टीको साथ रहने बताइसकेका छन् । तर, सभापति देउवा भने झनै ओलीतर्फ निकट हुँदै गएको उनी निकटका नेताहरू नै बताउँदै आइरहेका छन् । कांग्रेसले यही विषयमा बिहिवार साँझ पदाधिकारीहरूको बैठक बोलाएर छलफल गरेको छ भने भोलि शुक्रवार समेत संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न १ बजे पार्टीको संसदीय दलको बैठकसमेत बोलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ