arrow

भारतको सहयोगमा ६८ औं विद्यालयको पुनर्निर्माण हुँदै, विष्णुदेवीको भूमिपूजन

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
reconstruction-school-india.jpg

काठमाडौं । भारतको सहयोगमा चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । उक्त विद्यालयको पुनर्निर्माणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भूमिपूजन गरेका छन् । 

सो अवसरमा भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयरको उपस्थिति रहेको थियो । 

शिक्षाको क्षेत्रमा भारत सरकारले प्रदान गरेको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण हुन लागेको यो ६८ औं विद्यालय भएको भारतीय दूतावासले जनाएको छ । 

६ करोड ४९ लाखको लागतमा पुनर्निर्माण हुन लागेको यस विष्णुदेवी माध्यमिक विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुने बताइएको छ । 

शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने नयाँ संरचनामा तीनवटा ब्लकहरु हुनेछन् । जसमा १३ वटा कक्षा कोठा, परीक्षा हल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहने छन् । 

विद्यालयहरुको निर्माणका लागि भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रुपमा परिचित केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने दूतावासले जनाएको छ । 

२०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले करिब ५ अर्ब ८० करोड आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

निर्माण कार्य सुरु हुन लागेको यो ६८ औं विद्यालय हो र ८ वटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ । काभ्रे जिल्लामा थप दुई विद्यालयको पुनर्निर्माणका लागि ठेक्का हस्तान्तरण भइसकेको जनाउँदै दूतावासले यी विद्यालयहरुको निर्माण कार्य पनि छिट्टै अघि बढ्ने बताएको छ । 

स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि गरिसकेको छ । 

अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७ हजार घरहरु निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनुअघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् । 

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भारतको आर्थिक सहयोगमा भइरहेको पनि भारतीय दूतावासले जनाएको छ । 

यी दुवै क्षेत्रमा निर्माण कार्य सुरु भइसकेको जनाउँदै पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एक आपससँग सहकार्य गर्दै काम गरिरहेको दूतावासले विज्ञतिमा जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ