arrow

सत्ता साझेदारी प्रस्तावले जसपाभित्र विवाद

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
Mahanta-Thakur-400x250.jpg.jpeg

काठमाडौं । सत्ता साझेदारी प्रस्तावले जनता समाजवादी पार्टी जसपामा गम्भीर विवाद उत्पन्न भएको छ । पार्टीलाई केपी शर्मा ओलीको कोल्टामा लैजाने कि माओवादी केन्द्रको कोल्टामा लैजाने भन्ने विषयमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

दुवै पक्षका छुट्टाछुट्टै अनौपचारिक छलफल र बैठक बुधबार बिहानदेखि शुरु भएका छन् । बुधबार अपरान्ह पार्टीको बैठक बस्ने भएको छ । 

मंगलबार बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई भेट्न बालुबटार पुगेको र प्रधानमन्त्रीसँगको छलफलमा आफूले संयुक्त कार्यदल गठन गरेको जानकारी गराए ।  

कार्यदलमा ठाकुर निकट एक जना सर्बेन्द्रनाथ शुक्ल र राजेन्द्र महतो निकट लक्ष्मणलाल कर्ण राखिएको जानकारी ठाकुरले गराए । ठाकुरको यस्तो प्रस्तावलाई पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बैठकमा ठाडै विरोध त गरेनन, तर यादव र भट्टराई निकट नेताहरु ओलीसँग मिलेर जान नहुने सुझाव जोडदार रुपमा राखे । 

स्रोत भन्छ, ‘भट्टराई र यादव कुनै पनि अवस्थामा ओलीसँग मिलेर सरकारमा जान नहुने लाइनमा छन् । यादव निकट एक नेताले भने, ‘पोहर साल केपी ओलीबाट त्यति ठूलो अपमान सहेर सरकारबाट बाहिरिएको उहाँ (ओली) ले अझै बिर्सनु भएको छैन । त्यसैले उहाँ फेरि ओलीलाई साथ दिने पक्षमा कुनै पनि अवस्थामा हुनुहुन्न ।’ 

यादवलाई भट्टराइले साथ दिएका छन् । भट्टराई निकट नेता गंगानारायण श्रेष्ठले सार्वजनिक रुपमै ओलीसँग मिलेर सरकार बनाउने अवस्था नै नभएको बताएका छन् ।
तर ठाकुर, राजेन्द्र, शरत्सिंह भण्डारी लगायतका नेताहरु सम्मानजनक ढंगबाट केपी ओलीसँग पावर सेरिङ गर्ने पक्षमा छन् । पार्टीले उठाएको माग सम्बोधन भएमा आफूहरुको लागि केपी ओली र प्रचण्ड बराबरी भएको उनीहरुको भनाइ छ । 

पोहर साल झण्डै पार्टी फुटाएका जसपाका नेताहरु विमल श्रीवास्तव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव लगायतका नेताहरु पनि ओलीसँग केही लचिलो छन् । उनीहरु पनि आफूहरुको लागि प्रचण्ड र ओली उस्ता उस्तै भएको सझाव राख्छन् । 

‘हाम्रो लागि केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा उस्ता उस्तै हुन् । त्यसैले हाम्रो माग जसले सम्बोधन गर्छ, त्यसैसँग सहकार्य गर्नु पर्छ ।’ इस्तियाकले भने । 

उपेन्द्र, भट्टराई पक्षीय नेताहरु भने ओलीसँग वार्तासमेत गर्न नहुने अडानमा छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर पावर सेयरिङ गर्नु पर्ने अडानमा यादव पक्षधर नेताहरु छन् । 

पार्टी स्रोत भन्छ, ‘तर केपी ओलीसँग वार्ता समेत गर्न नहुने अडानमा रहेका पार्टीमा भट्टराई र यादव अल्पमतमा परेका छन् ।’ 

माग सम्बोधन भएमा ओलीसँग भए पनि सरकारमा जान सकिने लाइनमा पार्टीका बहुमत सदस्य रहेको स्रोतको भनाइ छ । महन्थलाई राजेन्द्र महतोले देखिने गरी नै साथ दिएका छन् । 

भण्डारी पनि सरकारमा जानु पर्ने लाइनमा उभिएका छन् । मंगलबार बसेको संसदीय दलको संयुक्त बैठकमा बोल्ने अधिकांश सांसदहरुले उधारोमा सहमति गर्नु हुँदैन, माग पूरा भएमा सहकार्य गर्न सकिने धारणा राखेका थिए । जसपाले संविधान संशोधन, रेशम चोधरीको रिहाइको वातावारण, मधेसका आन्दोलनको क्रममा लगाइएको मुद्दा खारेजी, घाइतेहरुको उपचारहरु र सहिद परिवारलाई क्षतिपूर्ति दिनु पर्ने लगायतका  माग राख्दै आएको छ । यी माग पूरा गर्न प्रक्रिया अघि बढाउने वित्तिकै सरकारमा जान सकिने धारणा पार्टीका नेताहरुको छ । 

पार्टी स्रोत भन्छ, ‘पार्टीभित्र दुई लाइनको विवाद बढ्दै गएमा पार्टी फुट्ने अवस्था पनि आउन सक्छ । महन्थ र महतोले चाहे भने संसदीय दल र पार्टीमा ४० प्रतिशत बहुमत सजिलैसँग पु-याउन सक्ने अवस्था छ ।’

‘त्यसमा पनि यादव निकट केही नेताहरू समेत यादवसँग चिढिएका छन् । यो अवस्थामा ठाकुर र महतो सुविधाजनक बहुमतमा छन्’ पार्टीका अर्का एक नेताले भने । त्यसो त पूर्व राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले उपेन्द्रलाई साथ दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ