arrow

पार्टीमा जिम्मेवारी कुर्दै नेपाल

‘ओली विरुद्धको सङ्घर्षलाई कायम राख्नुको विकल्प छैन’

सहज छैन तर सङ्घर्षमा नथाकौँ : माधवकुमार नेपाल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन २६ बुधबार
Makune-g-n.jpeg

काठमाडौँ। सर्वोच्च अदालतले एमाले र माओवादीलाई आफ्नो आफ्नो स्थानमा फर्काएपछि पहिलो पटक माधवकुमार नेपाल समूहको छुट्टै भेला भएको छ। मङ्गलवार साँझ बानेश्वरमा भएको भेलामा माधव नेपाल लगायत भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरूले अहिले परिस्थिति निकै जटिल रहेको बताएका थिए।

सांसदहरूलाई प्रशिक्षण र पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउने उद्देश्यले गरिएको भेलामा स्थायी कमिटी सदस्य र सांसदहरू सहभागी भएका थिए। सहभागी सांसद र केन्द्रीय सदस्यहरूलाई नेपालले अहिलेको परिस्थिति जटिल रहेको बताएका थिए। ‘परिस्थिति जटिल छ तर पनि ओली विरुद्धको सङ्घर्षलाई कायम राख्नुको विकल्प छैन’, नेता नेपालले आफू निकटका नेताहरूलाई बताएका थिए। उनले परिस्थितिलाई सामना गरेर जाने भएकाले भावी रणनीतिक के हो भन्ने बारेमा भने केही बताएका थिएनन्।

भेलामा सुरेन्द्र पाण्डे, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहोराले पार्टी निर्माण गर्दाको अवस्था र ओलीले जानकारी नै नदिई माओवादीसँग निर्वाचनको मोर्चा बनाएको तथा वैचारिक रूपमा सबल नभई हचुवाको भरमा जबरजस्ती एमाले विघटन गराएर आफूहरूलाई एमाले विरोधी बनाउन खोजेको बताएका थिए। उनीहरूले हिजोको दिनमा एमाले कसले विघटन गरायो भन्ने बारेमा गम्भीर समीक्षा आवश्यक रहेको बताएका थिए। उनीहरू अहिले पार्टीभित्रै मोर्चा बन्दी गरेर अन्तर सङ्घर्ष गर्ने मनस्थितिमा रहेको स्रोतले बतायो।

भेलामा नेपाल समूहका अधिकांश सांसदहरू उपस्थित रहेका थिए। केही नेताहरूले आपसी छलफलबाटै निकास निकाल्नुपर्ने सुझाव दिएका थिए। नेता भीम रावलले अब बस्ने स्थायी कमिटी वा केन्द्रीय कमिटीमा आफ्ना धारणा राख्ने र त्यही अनुसार अघि बढ्ने बताएका थिए। ‘हिजो एमाले विघटन गराएर पार्टी तहसनहस बनाउने त केपी ओली हुन अहिले उनलाई देवत्व करण गर्नु आवश्यक छैन’, नेता रावलको भनाई उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने।

जब एमाले माओवादी एकता भएपछि आफूलाई पनि अध्यक्षको रूपमा उभ्याएका नेता नेपाल अबका केही समय मौन रहने अवस्था रहेको र पार्टीको जिम्मेवारी कुरेर बस्ने स्रोतले जनाएको छ। नेपाल समूह नै जिम्मेवारी कुरेर बस्ने भएको छ। अहिले यो जिम्मेवारी चाहियो भनेर ओलीसँग केही पनि नबताउने सो समूहको रणनीति रहेको स्रोतले जनायो। ‘हेरौँ न ओली पक्ष कसरी अघि बढ्दो रहेछ हामी त्यो दिनको पर्खाइमा छौ’सो समूहका एक नेताले भने।

माओवादी केन्द्रले आफ्नो समूहको दुई पटक स्थायी कमिटीको बैठक राखिसक्दा पनि एमालेको भने ओली समूहको बाहेक सबै समेटिएर एउटा पनि बैठक बसेको छैन। ओली समूहले नेपाल पक्षसँग कुनै छलफल पनि गरेको छैन। ‘नेताहरूसँग कुनै पनि प्रकारको छलफल र कुराकानी छैन त्यस कारण बैठक कहिले कहाँ के कसरी भन्ने जानकारी छैन, केन्द्रीय कमिटीभन्दा अघि स्थायी कमिटी वा पदाधिकारीहरूको बैठक बस्नुपर्ने होला’, नेपाल पक्षीय एक नेताले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ