arrow

कम्युनिष्ट एकताको अन्तिम अध्याय

logo
लाओस राई    
प्रकाशित २०७७ फागुन २७ बिहिबार
laos_rai_final.jpg

स्वस्थानी कथामा उल्लेख भएका र गरेका हरेक विषय प्रसङ्ग चाख लाग्दो र सुनूँसुनूँ लाग्ने र रोचक खालका छन् । कथाले धार्मिक महत्त्वलाई दर्साउन खोजे पनि त्यहाँ उल्लेखित घटना र प्रसङ्ग राजनीतिबाट अछुतो छैन । त्यसको भित्री आशय, उद्देश्य र मकसद एव लक्ष्यभित्र राजनीति नै दर्सिन्छ । कथा सुनिरहँदा वा प्रसङ्ग उल्लेख गरिरहँदा प्रत्येक प्रसङ्ग, घटना वा कहानीमा कुमारजीले आज्ञा गर्ने र अगस्ति मुनि सुन्ने गर्दै समाप्त हुन्छ । कुमारजीले पुरै विश्व ब्रह्माण्डको सृष्टि, प्राणी र चराचर जगतको विवरण अगस्तिमुनिलाई सुनाउँछ । अगस्तिमुनि पनि एक चित्त भई सुनिरहन्छन् । तर यसमा प्रसङ्ग अचम्मको छ । अगस्तिमुनिले सुन्ने मात्र हो, उनले अरूलाई सुनाउने गर्दैनन् । यहाँ स्वस्थानी कथाले बोकेको भावार्थलाई मात्र चर्चा र विश्लेषण गर्न खोजेको होइन । त्यस कथासँग नेपालको कम्युनिष्ट आन्दोलन र त्यसको स्वरूप र प्रवृत्तिलाई थोरै जोड्न मात्र खोजिएको हो ।

विश्व कम्युनिष्ट आन्दोलनमा मार्क्स आज्ञा गर्थे– 'सर्वहारा वर्गको राज्यसत्ता हुन्छ । त्यसका निम्ति सामन्ती र पुँजीपति वर्गको सत्ता ढाल्नुपर्छ । त्यसको लागि वर्ग दुश्मनको सफाया गर्नु नै पर्छ । त्यसपछि मात्र गरिबको हातमा राज्यसत्ता आउँछ र त्यही सत्ताले गरिब तथा सर्वहारा वर्गको हित गर्छ ।' आज्ञा भए जसरी सामन्ती, पुँजीपति सफाया गर्दै सर्वहारा वर्गहरू सत्तामा पुगेका देशहरू लाओस, भियतनाम, क्युबा, चीन आदि उदाहरण मान्न सकिन्छ । यी देशहरूमा त्यही भएका थिए, जुन मार्क्सले आज्ञा गरेका थिए । फरक यति छ कि स्वस्थानी कथामा अगस्तिमुनिले सुन्ने मात्र काम गर्दथे भने मार्क्सको वर्ग सङ्घर्षको कथा सुन्ने बित्तिकै श्रोताहरू नेता हुँदै मान्छे मार्न थालिहाल्थे ।

हिंसालाई नै राजनीतिको आदर्श मान्ने माओले मान्छेको हलाल गर्दै चिनियाँ सत्तामा पुगे । त्यहाँ उप्रान्त हिंसा राजनीतिक वादको रूपमा विकसित  हुँदै गयो वा भयो । हिंसा प्रेमीहरूले हिंस्रक शैलीलाई माओवाद र त्यसका अनुयायी, शिष्य, लडाकु र समर्थकहरूलाई माओवादी भने । माओको हिंस्रक गतिविधिलाई विचार, दर्शन, वाद जे भनिए पनि त्यो चरित्र, प्रवृत्ति, आचरण, कर्म भनेको हिंसा नै  हो । अमानवीय काम नै हो । पछि बिस्तारै राजनीतिक लेपन मात्र गरिएको हुनाले त्यो जल्लाद गतिविधिले सङ्गठित हुँदै समूह, सङ्गठन र पार्टीको रूप धारणा गर्‍यो । भत्काएर निर्माण गर्ने राजनीतिक विचारलाई पृथक् रङ्गले लेपन गर्ने काम नेपालमा नेकपा माओवादीले गर्‍यो ।

स्मरण रहोस् तात्कालिक समयमा सत्तासीन नेपाली कांग्रेस र प्रतिपक्ष एमालेको कमजोरीको कारण माओवादीले दश वर्ष वर्ग सफाया नामको आन्दोलन गरे । हिंसा केन्द्रित आन्दोलनले प्रचण्डलाई दुई पटक प्रधानमन्त्री बनायो । स-साना कम्युनिष्ट पसल थापेर हुँदैन । कम्युनिष्ट एकता भएपछि मात्र सबै उत्पीडित वर्ग, जाति, लिङ्ग, समुदायको जित हुन्छ । अनि मात्र वैज्ञानिक समाजवादमा पुग्न सकिन्छ भन्ने लगायत त्यस्ता धेरै गुँडको गुलियो पोखरीमा नेपाली जनतालाई डुबाउँदै नेकपा एमाले र माओवादी केन्द्र पहिले चुनावी गठबन्धन र पछि एकता हुँदै दुई तिहाइको नजिक पुग्यो । जनमत पनि त्यही नै थियो ।

कांग्रेस कमजोर प्रतिपक्ष भएको भरपुर फाइदा उठाउँदै अवसरवादी कम्युनिस्ट ओली र प्रचण्डले देशमा राम्रै दाइँ गरे । स्वस्थानी कथामा विष्णुले जालन्धरको भेष धारण गरी उनका अर्धाङ्गिनी वृन्दाको पतिव्रत भङ्ग गरे जस्तै केपी र प्रचण्डले कम्युनिस्ट र सर्वहाराको रूप धारणा गर्दै सत्ता बागडोर हातमा लिए । त्यसपछि उनीहरूमा विद्यमान सामन्ती र पुँजीवादी जिनहरू विकसित हुँदै गयो । तिनै पुँजीवादी भ्रूण आक्रामक बन्दै जाँदा ओली प्रचण्ड दुवैले सर्वहारा र कम्युनिस्ट चरित्रलाई त्याग्दै पुँजीवादी डीएनए धारण गरे । अन्ततोगत्वा कम्युनिष्ट एकताको नाममा संशोधनवाद प्रवृत्ति हाबी भैसकेको एमालेसँग एकता गर्‍यो । ठिक त्यसैदिन माओवादी केन्द्र र प्रचण्डले संसद्वादी एव पुँजीवादी भएको प्रमाणित गरे । तत् पश्चात् गरिब तथा सर्वहारा वर्गको हित हरण गर्नुका साथै प्रतिबद्ध कम्युनिष्ट नेता तथा लडाकु योद्धाहरूको पथ भङ्ग भयो । यो एउटा कम्युनिस्ट आन्दोलनका चर्चित र रोमाञ्चक अध्याय  थियो ।

जब रातो कम्युनिस्टहरू रातो वामपन्थी रूपान्तरित भयो । त्यसपछि जनतामा एक प्रकारको उत्साह र आशा पनि जागे कै थियो । तर जब ओली- प्रचण्डको स्वार्थ झाँगिँदै गयो, त्यो एकता, एकता नभएर स्वार्थमा परिणत भयो । जसले गर्दा एकले अर्कालाई अत्यन्तै तल्लो स्तरमा गाली गलौच गर्ने स्थितिमा दुवै जना झर्दै गए । ओलीले प्रचण्डलाई व्यक्तिवादी, परिवारवादी र प्रचण्डले ओलीलाई भ्रष्टाचारीको संरक्षकसम्म भन्न भ्याए । संसद् भङ्ग त्यसकै परिणाम थियो ।

क्रान्तिकारी प्रचण्ड र अपूर्ण क्रान्ति गरेका ओलीको सत्ता स्वार्थ र पद लोलुपताले गर्दा दुवै जनाको कम्युनिष्टको खोल आम कार्यकर्ता र जनतामाझ बिस्तारै खुल्दै गयो । धरातलीय यथार्थ भन्दा निकै सतही बनिसकेका ओली-प्रचण्डले आफ्नो जनआकर्षणको क्षमता घटेको हेक्का हुँदाहुँदै पनि सरदार भिडन्तको सनसनीपूर्ण खेल खेल्न छोडेनन् । संसद्को पुनः स्थापना हुँदासम्म पनि भिडन्त नटुङ्गिएपछि रेफ्रीले प्रचण्ड र ओलीलाई माओवादी केन्द्र र एमालेको मेडल लगाएर घर पठाइदिए ।

३३ महिनाको सुरुका अवधिमा बाम ट्याब्लेट खाएका प्रचण्ड-माधव-झलानाथ-ओलीले सबैलाई पछारेको हुङ्कार गर्दै देश कम्युनिष्टमय भयो ।  अब ५० वर्ष हामी कम्युनिस्टले राज गर्छौं भन्दै फुर्ती लगाउन भ्याए । सबै कम्युनिष्ट एक हुने हो भने परिस्थिति ५० वर्ष राज गर्ने अवस्था निर्माण हुन्थ्यो होला । तर उत्ताउला वामपन्थीहरूलाई विश्वको कम्युनिस्ट आन्दोलन, उत्कर्ष र पतनको घटना नै भुलेछन् क्यारे । त्यसै गरी यिनीहरू पनि पतनको मार्ग तिर लागे । यहाँ एक घटना प्रसङ्ग उल्लेख गरौं-फ्रान्सको पेरिसमा  कम्युनिष्ट सत्ता पुगेको १०० दिनसम्म पनि टिक्न नसकी भागाभाग हुनुपरेको ऐतिहासिक घटना सम्झनु पर्ने थियो उनीहरूले  । र त्यहाँ कम्युनिष्टको सत्ता ढल्नुको कारणहरू के के थियो भन्ने हेक्का राख्नुपर्ने थियो । रातो वामपन्थीहरू समाजवाद उन्मुख संविधानरूपी कुर्सीमा बस्दै वैज्ञानिक समाजवादको चम्चाले पुँजीवादी सुप पिउन थालेपछि कम्युनिष्ट आन्दोलन र पतनको कारणहरू नबिर्सोस् पनि कसरी, कस्तो सुप रहेछ त्यो  जसले आन्दोलन नै बिर्साइदिए ।

मास र बन्दुक देख्ने बित्तिकै ठुलो कुरा गर्ने बानी परेका प्रचण्ड आवेगमा र  बेहोसमा ५० वर्षसम्म देशलाई दाइँ गर्छु भन्थे । पुँजीवादको रकेट चढ्दा प्रचण्ड ३३ महिनामै घरको न घाटको अवस्थामा पुगे । सहयात्री र सहयोद्धा कम्युनिष्ट मित्रहरू मोहन बैद्य, सिपि गजुरेल, राम बहादुर थापा बादल, मणि थापा, नेत्र विक्रम चन्द विप्लवले एकाएक गर्दै छाडिदिएपछि ओलीको आयु गन्दै एमाले हुन पुगेका प्रचण्ड दुई वर्ष नौं महिनामा पेरिसडाँडा फर्किन बाध्य भए । उनका इच्छा ४७ वर्ष तीन महिना अगाडि नै धुलो पिठो भयो । यो कम्युनिष्ट अन्दोलनको अर्को अध्याय हो ।

प्रत्येक भाषणमा मार्क्स, लेनिन, र माओको दर्शन ओकल्दै आगो दन्काउने राता मान्छेहरू संसद् स्थापनासँगै स-साना मोर्चामा विभाजन हुनुपरेपछि सबै राता कम्युनिस्टहरू एक हुनुपर्छ भन्ने राता मान्छेहरूको सपना चकनाचुर भएको छ । एकताको कथा अन्त्य भएको छ । त्यसैले राता मान्छेहरूको कथा–'इतिश्री मार्क्सवादे खण्डे माओवादी व्रतकथा कम्युनिष्ट एकता अन्तिम अध्याय' भनेजस्तै भएको छ । ओली-प्रचण्डबीच दिगो नरहेको कम्युनिस्ट एकता संभवत नेपालको राजनीतिक इतिहासका लागि अन्तिम हुनसक्ने विश्लेषण हुनु आश्चर्य होइन ।

टुट-फुट र एकताको श्रृखंला नेपाली कम्युनिस्ट पार्टीको दीर्घ रोग हो । लोकतन्त्रको अभ्यास गरिरहेको नेपाली समाजमा कम्युनिस्ट विचार र सिद्धान्तलाई कार्यान्वयन गर्न नसक्नु नेपालका कम्युनिस्ट पार्टीहरूको ओरालो यात्रा हो भन्नु जायज हुन्छ । किनकि ठुला कम्युनिस्ट शक्ति मानिएका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच भत्किएको सम्बन्धबाट छर्लङ्ग छ ।
 



नयाँ