arrow

अलमलमा नलागी फर्कनुहोस् : प्रधानमन्त्री ओली

logo
नारायण ढुङ्गाना,
प्रकाशित २०७७ फागुन २९ शनिबार
KP-Oli1.jpg

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अलमलमा नलागी पार्टीमा एकताबद्ध हुन नेता र कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विगतमा आफूलाई हटाएजस्तो गरी कसैलाई अध्यक्ष वा पार्टी सदस्यबाट ननिकालेको तर कार्यसम्पादनका लागि केही नेतालाई कामको जिम्मेवारी दिएको जानकारी गराए।

उनीहरू (माधवकुमार नेपाल र झलनाथ खनाल समूह) आएपछि कसरी अघि बढ्ने भन्ने कुरा छलफलबाट टुङ्ग्याउन सकिने भएकाले कुनै अलमलमा लाग्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको जानकारी गराउँदै भने, “सुनिन भन्न पाइने छैन, अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्था भएअनुसार हुँदै जानेछ, त्यसैले सुन्ने गरी भनेको छु चैत ७ गतेको बैठकमा आउनुहोला।”

शुक्रवार माओवादी केन्द्रमा रहेका नेता-कार्यकर्तालाई पनि एकतामा कायम हुँदै अघि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गरे। “म स्वागत गर्छु, आउनुहोस् सँगै मिलेर अघि बढौँ, बाटो बिराएकालाई पनि म भन्न चाहन्छु सच्चिनुहोस् आउनुहोस्”, उनले भने। उहाँले केपी ओलीलाई ठेगान लगाउन आए बाटोमै ठेस लाग्नेसमेत बताए।

उनले सके प्रधानमन्त्रीबाट हटाएर देखाउन पनि चुनौती दिए। प्रधानमन्त्रीबाट हटे पनि अबको २० महिनापछि नेकपा (एमाले) दुई तिहाइका साथ सिंहदारको मूल ढोकाबाट प्रवेश गर्ने प्रधानमन्त्री ओलीको जिकिर थियो। उनले प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको समेत बताए।

“सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौँ”, प्रधानमन्त्रीले थपे। उनले आफ्नो गन्तव्य सत्ता नभई समृद्ध नेपाल र सुखी नेपाली बनाउनु रहेको योजना सुनाए। प्रधानमन्त्री ओलीले एउटा शक्ति दुई तिहाइको पार्टी भत्काइ पार्टी ध्वस्त पारेर टालटुल जोडेर टाले सरकार बनाउन उद्धत रहेको र उनीहरू प्रधानमन्त्री खाइदिनुस् न भनेर कुदिरहेका बताए। उनले अस्थिरताको खेल खेल्ने र बाटाबाटमा अध्यक्षको पगरी बाँधेर हिँड्ने तत्त्वलाई जनताले सबक सिकाउनुपर्ने बताए। प्रधानमन्त्री ओलीले उनीहरूको उद्देश्य नै देश बर्बाद गर्ने रहेको र अरूका लागि ‘कम्फरटेबल’ सरकार बनाउने योजना रहेको सुनाए।

मुलुकमा नक्कली लोकतन्त्रवादीहरू सक्रिय रहेको र उनीहरूले देशलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले बताए। उनले एउटा समूह विकासको लहर ल्याउने केपी ओलीलाई हटाउनुपर्‍यो, तपाईँले प्रधानमन्त्री खाइदिनुपर्‍यो भनी किस्ती बोकेर विभिन्न ठाउँमा निवेदन हाल्न पुगेको बताउँदै आफू कसैको अगाडि किस्ती बोकेर निवेदन हाल्न नजाने प्रस्ट पारे। उनले आन्दोलनको नेतृत्व गर्ने पार्टीलाई ध्वस्त पार्ने तरिका चिरेरै छाड्ने चेतावनी दिए।

वर्तमान सरकारले आफ्ना निम्ति नभई मुलुकको सुशासन र जनताका निम्ति अभियान चालिरहेको र खुट्टा तान्दातान्दै केही वर्षभित्रमा विकासका योजना साकार पारेरै छाड्ने प्रधानमन्त्रीले उद्घोष गरे। प्रधानमन्त्री ओलीले विसं २०५१ बाट मासिक रु १०० बाट सुरु भएको वृद्ध भत्ता अहिले रु तीन हजार पुर्‍याएको र रु पाँच हजार पुर्‍याउने लक्ष्य रहेको जानकारी गराए। उनले भत्ता रु चार हजार भने छिट्टै बनाउने पनि उद्घोष गरे। उनले लडाइँमा होमिएर शहीद भएका परिवार, घाइते भएका लडाकु तथा काख रित्तिएका बाबुआमा छन् तर सशस्त्र द्वन्द्वका सञ्चालकलाई त्यसको सम्झना नरहेका बेला अहिलेको सरकारले पीडा सुनेर मलमपट्टी लगाउन थालिसकेको जानकारी गराए।

सरकारले विकास निर्माणका गतिविधिदेखि सडकका बेवारिसेलाई आश्रय दिने, सडक बालबालिकाको उद्धार र संरक्षण, शिक्षा, स्वास्थ्य रोजगारका कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, राष्ट्रपति महिला उद्धार कार्यक्रमका साथ समृद्धिको यात्रामा सरकार रहेको बताए। किसान परिचयपत्र, नागरिक एप्सका साथ डिजिटल नेपालको अवधारणालाई सरकारले साकार पार्दै लगेको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले समृद्धिको यात्रालाई कसैले रोक्न नसक्ने जिकिर गरे।

मुलुकसामु आन्दोलनलाई गलत बाटोमा जान नदिन देशभरि सन्देश लैजानुपर्ने बेला आएको उनको भनाइ थियो। त्यसको अगुवाइ नारीले गर्नुपर्नेमा उहाँको जोड थियो। गाउँमा जाँदा उक्त सन्देश र सामाजिक जागरणको चेत लिएर जान पनि महिलाहरूलाई आग्रह गरे। घरघरमै देखिने नदेखिने सामाजिक पीडालाई चिर्दै अघि बढ्नका लागि पनि महिला जागरण जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो।

योग्यता क्षमताले सांसद भयो भने कसैले अपमान गर्न खोज्ने प्रवृत्तिप्रति सचेत हुन आग्रह गर्दै उहाँले त्यस्ता व्यक्तिको मानसिक चिन्तनमै अपरेसन गर्नुपर्ने बताए। सामाजिक न्याय र समानता देख्न नसक्ने प्रवृत्ति समाजमा अझै कायम रहेको र त्यसका लागि सशक्त भएर लाग्न महिलाहरूलाई आग्रह गरे। संसारमा बोक्सी नै नहुने जिकिर गर्दै प्रधानमन्त्रीले भने, “संसारमा बोक्सी हुन्थ्यो भने यत्रो विरोधी किन कराउँथे मेरा विरुद्ध।”

उनले बोक्सी भनेको महिलालाई अपमान गर्ने कुरा भएको र यस्ता सामाजिक अन्धविश्वासलाई हामीले समाजभित्रै चिर्नुपर्नेमा जोड दिए।  छाउपडी कुप्रथाको विषय कोट्याउँदै प्रधानमन्त्री ओलीले परिवारका जुन सदस्यले छाउगोठमा बस् भन्छ उसैलाई गोठमा जाऊ भन्न सक्नुपर्नेतर्फ ध्यानाकर्षण गराए।

उक्त समारोहमा उपप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरताको घिनलाग्दो खेल सुरु भएको र समाजमा अराजकता तथा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेकाले त्यसप्रति सचेत हुन आग्रह गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको विचार, राजनीति र कार्यदिशा नै उपयुक्त भएको बताए। उनले आफू सांसद पद छाड्न तयार रहेको तर अहिलेको कार्यदिशा नछाड्ने प्रतिबद्धता जनाए।



नयाँ