arrow

सत्ता गठबन्धनमा अनिर्णीत तीन दल

कुर्दै कांग्रेस, कमजोर माओवादी र जसपामा अन्योल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १ आइतबार
Congress-NCP-JSP-flags1.jpg

काठमाडौं। संसद् पुन:स्थापनापछि बदलिएको मुलुकको राजनीतिक 'कोर्स' नेकपा गठन हुँदा जुटेका दल एमाले र माओवादी केन्द्र बीचको एकता खारेज भएपछि झनै फराकिलो भएको छ । यो फराकिलो राजनीतिक कोर्समा कांग्रेस , माओवादी र जनता समाजवादी पार्टीले गठबन्धन बनाएर वर्तमान सरकारको विकल्प खोज्न अग्रसर भइरहेका छन् ।

तर यी तीन दलबीचको छलफल र संवादले भने निर्णायक गति लिन सकिरहेको छैन । दलहरु आन्तरिक संवाद र रणनीतिमा केन्द्रित देखिएका छन्। तीनै दलहरु यहि गर्ने र यसरी गर्ने भन्ने निश्कर्षमा पुगिसकेका छैनन्। 
 

परिपक्व वातावरण कुर्दै कांग्रेस
लामो विवाद र रस्साकस्सीपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारबाट प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न र नयाँ सरकारको नेतृत्व गर्न तयार भएको छ । 

कांग्रेस संविधान विपरीत गतिविधि गर्ने र संविधानलाई नै जोखिममा पार्न उद्यत समूहबाहेकलाई सरकारमा सहभागी गराएर सरकारबाट प्रधानमन्त्री ओलीलाई बिदाइ गर्न र सरकारको नेतृत्व लिन एकमतका साथ अघि बढेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवालेसमेत यसबीचमा पटक पटक सरकारको नेतृत्व गर्नु पर्ने अवस्था आए नभाग्ने बताइसकेका छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले पनि पार्टीले सरकारको नेतृत्व गर्नु पर्ने समय आएको बताइरहेका छन् । 

यसै बीचमा कांग्रेसले जसपालाईसमेत बोलाएर नयाँ सरकार गठनका बारेमा छलफल गरिसकेको छ भने माओवादी केन्द्रसँग समेत कांग्रेसले आन्तरिक रूपमा संवाद चलाइरहेकै छ । 

तर, कांग्रेसले सत्ता गठबन्धनका लागि दलहरूसँग छलफल गरिरहे पनि संसद्को हिसाबकिताबमा पनि चनाखो भएर ख्याल गरिरहेको छ र भनिरहेको छ,‘अवस्था परिपक्व बनिसकेको छैन, परिपक्व अवस्थाको पर्खाइमा छौं ।’

कांग्रेसले भनेको परिपक्व अवस्था भनेको के त ?, सभापति देउवा निकट मानिएका कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महत भन्छन्,‘संसद्मा हुने जोड घटाउ, भोलि हुन सक्ने सम्भावित अवस्था र त्यसको परिपक्वता ।’

उनका अनुसार कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपाबाट भरपर्दो विश्वासको वातावरण खोजिरहेको हो । कांग्रेस आन्तरिक रूपमा त्यसतर्फ अघि बढिरहेको छ । 

माओवादी चाहन्छ ओलीको विकल्प 
दलहरुबीच सत्ता सहकार्यका लागि खुला तथा आन्तरिक छलफल जारी रहँदा यस बीचमा माओवादी केन्द्रले भने जसरी पनि सरकारबाट प्रधानमन्त्री ओलीको विकल्प खोजिरहेको छ । यस्तो अवस्थामा उसले कांग्रेसलाई नै सरकारको नेतृत्व लिन पटक पटक आग्रह गर्दै आइरहेको छ । 

संसद् विघटनको अवस्था र पुन:स्थापनापछिको अवस्थासम्म आइपुग्दा माओवादी धारको चाहना कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने देखिंदै आइरहेको हो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति देउवासँगको सरकारको नेतृत्वका लागि सघाउने आश्वासन दिंदै आइरहेका छन् । पछिल्लो पटक एमाले र माओवादी केन्द्र फरक फरक दलको भूमिकामा पुगेपछि समेत प्रचण्डले देउवालाई सरकारको नेतृत्व लिने गरी अघि बढ्न आग्रह गरेका थिए । 

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्,‘हामी छलफलमा नै छौं, सरकार गठनका विषयमा गठबन्धन बनाउन कांग्रेससँग फेरी संवाद हुन्छ ।’

हाल संसद्मा तेस्रो शक्तिका रूपमा रहेको माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने अवस्थामा नरहेको र एमालेसँगको सम्बन्धमा चिसोपना बढेकाले कांग्रेससँगको सम्बन्धलाई सुधारेर प्रधानमन्त्रीबाट ओलीलाई बिदा गर्नु पर्ने पक्षमा देखिंदै आइरहेको छ । 

जसपामा आफ्नै लफडा
संसद्मा चौथो शक्तिका रूपमा देखिएको जसपा अहिले सरकार गठनमा निर्णायक भूमिकामा देखिएको छ । तर, जसपाले आफूलाई कुन पक्षमा उभ्याउँछ भन्ने अहिले नै यकिन भइसकेको भने छैन । 

जसपाले प्रधानमन्त्री ओलीसँग समेत छलफललाई निरन्तरता दिइरहेको छ भने कांग्रेस र माओवादी केन्द्रसँग पनि उसको संवाद निरन्तर छ । 

यसै गरी जसपा आफै भित्र समेत सरकारको नेतृत्व गर्ने कि अन्य दलसँग सहकार्य गरेर आफ्ना माग पुरा गराउने भन्नेमा पनि विवाद छ । विवादकै बीच जसपाले हाल सम्म पनि आफ्नो पार्टीको संसदीय दलको नेता चयन गर्न सकेको छैन । 

गत शुक्रवार बसेको दलको बैठकले दलको नेता छान्ने र दलको विधान पारित गर्ने भनिए पनि सरकार गठबन्धनमा देखिएको आन्तरिक विवादका कारण जसपाले दलको नेता छान्ने र विधान बनाउने दुवै काम गर्न सकेन । 

जसपामा विवादले दुई धार
जसपा भित्र वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीलाई नै सघाउने की विकल्प खोज्ने भन्नेमा पनि दुई धार छ । 
नेता महन्थ ठाकुर, राजेन्द्र महतो ओलीलाई नै सघाएर अघि बढ्ने मनस्थितिमा देखिदा बाबुराम भट्टराई र उपेन्द्र यादव भने कांग्रेस-माओवादी र जसपा गठबन्धन बनाउनु पर्ने लाइनमा उभिएका छन् । 

तर ठाकुर र महतोले भने ओलीसँगको गठबन्धन र कांग्रेस-माओवादी गठबन्धनमा कुनै भिन्नता नहुने र जता भए पनि आफ्ना माग पुरा गराएर सहकार्य गर्ने पर्ने धारणा राखिरहेका छन् । 

भट्टराई र यादवले भने संविधान विपरीत गतिविधि गर्ने र निरंकुश शैली देखाउने व्यक्तिसँग भन्दा संविधानको रक्षा र विधि को शासनका पक्षमा उभिने शक्तिसँग सहकार्य गर्नु पर्ने अडान राख्दै आइरहेका छन् ।

जसपाका नेताहरूले कांग्रेस नेतृत्व र प्रधानमन्त्री ओलीसँगको दुवै भेटमा संविधान संशोधन, आफ्ना नेता कार्यकर्ताको रिहाइ र नागरिकता समस्या समाधानको एजेण्डा पेस गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ