arrow

डिभोर्स नदिँदा श्रीमतीको हत्या, बोरामा भेटियो शव

श्रीमान् फरार

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
nepal-police12.jpg

काठमाडौँ । काठमाडौँको बल्खुस्थित सुकुम्वासी बस्तीमा बोरामा पोको पारेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार सोमबार साँझ बल्खुस्थित सुकुम्वासी बस्तीमा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको शव बोरामा पोको पारी फालिएको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको खुलेको छ भने हत्यामा श्रीमानको संलग्नता रहेको आशङ्का प्रहरीले गरेको छ । मृतक सन्तोषीका श्रीमान् सन्तोष सापकोटा भने फरार छन् ।

एसएसपी सिंहका अनुसार श्रीमान् श्रीमतीबीच पटक पटक घरायसी झगडासमेत हुने गरेको र सन्तोषले श्रीमती सन्तोषीलाई डिभोर्स दिन दबाब दिँदै आएको उनीहरूका आफन्तले प्रहरीलाई भनेका छन् । सोही झगडाबाट उत्पन्न परिस्थितिका कारण श्रीमतीको हत्या भएको अनुमान प्रहरीले गरेको हो ।

सन्तोषीका देवर तेज बहादुर सापकोटाले घर पछाडि बोराबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए भने त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यस बखत मृतकका श्रीमान् सन्तोष भने फरार भइसकेका थिए । प्रहरी अनुसन्धानका क्रममा सन्तोषीको हत्यामा भारी वस्तुको प्रयोग गरिएको खुलेको छ । उनको टाउकोमा हम्मरले हानेर हत्या गरिएको अनुमान प्रहरीको छ ।

उनीहरूबीच नियमित जस्तै झगडा हुने क्रम बढ्दै गएपछि सन्तोषी  जोरपाटी स्थित माइतीमा बस्न थालेकी थिइन् । माइती बस्न थालेपछि समेत सन्तोषले श्रीमतीलाई डिभोर्स दिन भन्दै दबाब दिँदै आइरहेका थिए । तर सन्तोषीले भने डिभोर्स गर्न मानेकी थिइनन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अपिल बोहराले हत्याका अन्य कारण बारेमा समेत प्रहरीले सूक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको जानकारी दिए ।  ‘पारिवारिक झगडा नै कारण हो भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ, अन्य पाटोतर्फ पनि सूक्ष्म रूपमा अनुसन्धान हुँदै छ,’ कालीमाटी वृत्तका डिएसपी बोहराले हाम्रा कुरासँग भने ।   

पछिल्लो समय सन्तोषसमेत श्रीमतीसँगै बौद्धस्थित ससुरालीमा नै बस्ने गरेका थिए । उनीहरूका ७ वर्षका एक छोरा छन् । सन्तोषीले घर व्यवहार चलाउन भन्दै सानेपाको एक सहकारीबाट ऋणसमेत लिएकी थिइन् । सो ऋणको व्याज तिर्न भन्दै उनी सोमबार माइतीघरबाट बल्खुस्थित श्रीमान्को घर गएकी थिइन् । सहकारीमा ऋणको व्याज तिर्न घर पुगेको मौका पारेर श्रीमान सन्तोषले सन्तोषीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान देखाउँछ ।

बल्खुमा सापकोटा परिवारको काठको फर्निचर कारखानासमेत थियो । तर उनका बुवा, तथा भाइ भने घरमा नभएको समय पारेर हत्या गरिएको थियो । सन्तोष यस अघिसमेत विभिन्न आरोपमा जेल परिसकेको व्यक्ति भएको खुलेको प्रहरीले बताएको छ ।

प्रहरीले मृतक सन्तोषीको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको जनाएको छ । प्रहरीले हत्यामा संलग्नता आशङ्का गरिएका सन्तोषको खोजी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ