arrow

बुढीगण्डकीको लागि १६ दिनमै उठ्यो ४३ करोड

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
budigandaki-1.jpg.jpeg
काठमाडौं। सरकारले यसै वर्षदेखि लगाएको पूर्वाधार विकास कर बापत पहिलो १६ दिनमा नै झण्डै ४३ करोड रूपैयाँ संकलन भएको छ। सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमा प्रति लिटर पेट्रोलियम पदार्थबाट ५ रूपैयाँको दरमा पूर्वाधार विकासको नाममा कर उठाउने घोषणा गरेको थियो। 
 
यसरी बजेट भाषण पछि जेठ मसान्तसम्मको १६ दिनमा मात्रै पूर्वाधार विकास करको शीर्षकमा ४३ करोडको हाराहारीमा राजश्व संकलन भएको विभागका निर्देशक एवं तथ्याङ्क शाखाप्रमुख विनोदशरण आचार्यले जानकारी दिए। 
 
उनका अनुसार विभागले वार्षिक आठ अर्बको हाराहारीमा राजश्व संकलन गर्ने लक्ष्य लिएको भएपनि यही १६ दिनको तुलनामा राजश्व संकलन हुने हो भने वार्षिक नौ अर्ब भन्दा बढी राजश्व संकलन हुने गरी अहिले राजश्व संकलन भएको छ । तर अभावको बेलामा सकिएको पेट्रोलियम भण्डारण गर्ने भएकोले केही बढी आएको भएपनि यो पहिलेकै अवस्थामा आएपछि भने भन्सारको लक्ष्य भन्दा धेरै घटीबढी नहुने उनले बताए। 
 
सरकारले यसरी उठाएको पूर्वाधार विकास करबापतको राजश्व बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणमा खर्च गर्ने घोषणा गरिसकेको छ । त्यसैले पनि बुढीगण्डकीको लागि १६ दिनमा नै झण्डै ४३ करोड उठाएको मान्न सकिएको हो। 
 
सरकारले वार्षिक यसकरबाट ७ अर्बसहित आगामी आर्थिक वर्षको लागि कूल १२ अर्ब विनियोजन गरेको घोषणा गरेको छ। यस वर्षको लागि ५ अर्ब ३३ करोड विनियोजन गरेको सरकारले पुर्वाधार विकास करको विषयमा बजेटमा भनेको छ ‘स्वच्छ उर्जा विकासका लागि उपभोक्तालाई अतिरिक्त भार नपर्नेगरी नेपाल आयल निगमले आयात गर्ने पेट्रोल डिजेल र हवाई इन्धनमा भन्सार विन्दूमा नै प्रतिलिटर रू ५ का दरले पूर्वाधार कर लगाउने प्रस्ताव गरेको छु। यसरी संकलन भएको कर रकम बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यमा खर्च गर्ने व्यवस्था मिलाएको छु। यसबाट आगामी वर्ष आयोजनालाई थप रू ७ अर्ब भन्दा बढीको स्रोत उपलब्ध हुनेछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ