arrow

कमल थापाको बझाङ् भ्रमण : कार्यकर्तालाई पेटभरी खान नदिएको भन्दै एलडीओको २४ घण्टामै सरुवा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ असार १० शुक्रबार
kamal-thapa-new.jpg.jpeg
बझाङ । उपप्रधान तथा परराष्ट्र एवं स्थानीय विकास मन्त्री कमल थापा बझाङ् आउँदा भने बमोजिम स्वागत सत्कार नगरेको भन्दै स्थानीय विकास अधिकारी (एलडीओ) आत्मराम सत्यालको सरुवा भएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी छँदा एलडीओ सरुवाले जिल्ला विकासको काम प्रभावित हुने भएको छ ।  
 
असार ४ गते पार्टीको कामकोे शिलशिलामा मन्त्री थापा बझाङ् पुगेका थिए । मन्त्री आउँदा उहाँको स्वागतमा जिल्ला भरबाट आएका नेता तथा कार्यकर्तालाई होटल वासको व्यवस्था नगरेको र आफुलाई भेटघाट नगरेको  भन्दै थापाका  स्वकीय सचिव दामोदर वाग्लेले जिल्ला विकास समितिका कर्मचारीको साँतो लिएका थिए । उनले ठाडै एलडिओलाई तिम्रो २४ घण्टा भित्रै सरुवा गरि दिन्छु भनेर झोंकिएका थिए ।
 
उनले तथानाम गाली गरेको कर्मचारीहरुले बताएका छन् । नभन्दै २४ घण्टामा एलडीओको सरुवा भएको छ ।  उपप्रधान मन्त्रीले जिल्ला विकास समितिको निरिक्षण गर्दा सत्यालको कार्यशैली चित्त नबुझेकोले सचिवलाई सरुवाको निर्देशन दिएको मन्त्री थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताए । 
 
कर्मचारी सरुवा प्रक्रिया नियमित कार्य भएको भन्दै आफुहरुको स्वागत नगरेको निहुमा कसैको सरुवा नगराएको उनको भनाई छ । आफुले एलडीओलाई कुनै धम्की र दुव्र्यवहार नगरेको भन्दै उनले भने,  ‘कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्न दिने भन्ने उपप्रधान मन्त्री ज्यूको निर्देशन छ । हामीले धम्की दिने कुरै हुदैन  ।’ आफुहरुको स्वागत बझाङका जनताले गरेकाले कर्मचारीबाट स्वागतको अपेक्षा मन्त्रीले नगरेको पनि स्वकीय सचिव वाग्लेले सनाए । 
 
सदरमुकाममा रहेको होटल केपी प्लाजामा बोलाएर थुप्रै नेता कार्यकर्ताको अगाडी आफुलाई दुव्र्यवहार गर्न थाले पछि सत्याल त्यहाँबाट केही नबोली फर्केको जिल्ला विकास समितिका एक कर्मचारीले जानकारी दिए । काठमाण्डौंबाट मन्त्रीको साथमा आएकाहरुको लागी आफुले सबै खाले व्यवस्था गरेको भए पनि मन्त्रीले भने जति कार्यकर्ताको व्यवस्थापन गर्न नसकेकोमा मन्त्री आफु संग रुष्ट भएको  र आफ्नो सरुवा गराएको हुन सक्ने स्थानीय विकास अधिकारी सत्यालको भनाइ छ ।    
 
यता स्थानीय विकास मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठले भने सत्याललाई नियमित कामको शिलशिलामा मन्त्रालयमा बोलाइएको बताए । आर्थिक वर्ष समाप्त हुनै लाग्दा एलडीओलाई बोलाउनुको कारणबारे जान्न खोज्दा जवाफ दिनबाट श्रेष्ठ पन्छिए । उपप्रधान मन्त्रीले भने अनुसार नगरेका कारण एलडीओको सरुवा भएको प्रति आत्रोश पोख्दै जिविसका एक कर्मचारीले भने, ‘देशको उपप्रधानमन्त्री जस्तो व्यक्तीबाट यस्तो तानाशाही व्यवहार हुनु लोकतन्त्रको उपहास हो ।’ उपप्रधान मन्त्री जस्तो व्यक्तीले नै त्यत्रो कार्यकर्ताको समूहलाई २ दिन सम्म पाल्ने खर्च माग्नु भनेको घुमाउरो पाराले भष्ट्राचार गर भन्नु नै भएको उनको जिकिर छ । 
 
एका एक स्थानीय विकास अधिकारीको सरुवाको खवर आएपछि जिल्ला विकास समितिका कर्मचारीहरुमा अन्यौल सिर्जना भएको र आर्थिक वर्ष समाप्त हुनै लागेको बेला आफुहरुले काम गर्नका लागी बनाएको योजना नै चौपट भएको कर्मचारीको भनाई छ । ८ महिना अघि बझाङ्मा आएका स्थानीय विकास अधिकारी सत्याल लाई जगडामा मन्त्रालय तानेपछी निरास भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ