arrow

चिनियाँ राजदूत यान्छीलाई प्रधानमन्त्री ओलीसँग भेट्ने जुरेन साइत

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
chinese-ambassador.jpeg

काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश बोकेर दुई महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न खोजेकी नेपालस्थित चिनियाँ राजदूत होऊ यान्छीले यस साता पनि असफल भइन। तीन दिन अगाडि मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न पुगेकी नेपालस्थित चिनियाँ राजदूत यान्छीले बुधवार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग मात्रै भेट गरेर प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश प्रवाह गरेकी थिइन।

नेपालमा दक्षिणतिरको शक्ति हाबी हुने ठानेर चिनियाँ कम्युनिस्ट पार्टीले सकेसम्म नेकपा एमालेभित्रको विवाद मिलाउने मात्र होइन कम्युनिस्ट एलाइन्स (समीकरण)लाई बलियो बनाउने वा जोगाउने प्रयत्नमा लागेको छ। त्यही क्रममा पुस ५ गतेपछि विभाजित भएको तत्कालीन नेकपा र अहिले पुरानै अवस्थामा फर्केको एमाले र एमाओवादीलाई सके एकीकरण र नभए पनि समीकरणको बिन्दुमा पुर्‍याउने र ओली सरकारलाई कायम रहने वातावरण बने कायम राख्ने नभए अर्को कम्युनिस्ट प्रधानमन्त्री बनाएर जाने वातावरण बनाउने गरी चिनियाँहरु लागिरहेका छन्।

गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिने निर्णय गरेपछि राजनीतिक सङ्कट गहिरिँदै गरेका बेला राजदूत यान्छीको सक्रियता बढेको हो। उनले नेपालका दुई कम्युनिस्ट पार्टी पूर्ववत् अवस्थामा फिर्केपछिको राजनीतिक घटनाक्रम, नयाँ सरकारको सम्भावना लगायत विषयमा केन्द्रित रहेर नेताहरूसँग भेटवार्ता गरेकी हुन्। यान्छीले दोस्रो तहका धेरै नेताहरूसँग सम्पर्कमै रहेकी छिन्।

चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरू समेत काठमाडौँमै रहेका बेला यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नु अघि माधवकुमार नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरूले कुराकानी गरेका थिए। त्यसपछि यान्छीले प्रचण्डसँग भेटघाट गरिन भने बुधवार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालसँग भेटघाट गरेकी थिइन।

तीन साता अघि उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग पनि भेटघाट गरी कम्युनिस्ट पार्टीहरूबिचको समीकरण नटुटाउन आग्रह गरेकी थिइन। त्यसयता लगातार प्रधानमन्त्री ओलीलाई भेट्न खोजे पनि उनले समय पाएकी छैनन्।

केही दिन अगाडि मात्रै उनले अहिले एमालेभित्रै अन्तरसंर्घष गरिरहेका र कर्नरमा परेका नेता माधव नेपालसँग पनि अलग्गै भेट गरी छलफल गरेकी भए पनि नेपालको सचिवालय भने त्यो स्विकार्न तयार छैन। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालसँग यान्छीले बुधवार दिउँसो सिंहदरबारस्थित रिमालको कार्यकक्षमै पुगेर भेटवार्ता गरेकी हुन्।

विगतमा नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा नेकपाका नेताहरूलाई मिलाउन चिनियाँ पक्षले भूमिका खेल्न खोजेको सार्वजनिक भएको थियो। अहिले एमाले र माओवादी अलगअलग पार्टीका रूपमा देखापरेपछि राजदूत यान्छीको भेटवार्ता र सक्रियतालाई पनि चासोका साथ हेर्न थालिएको छ।

प्रधानमन्त्री ओलीले सांसदबाट विश्वासको मत लिनुपर्ने वा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने अवस्था आएपछि शक्ति केन्द्रको चलखेल बढ्दै जाँदा यान्छी र रिमालको भेटलाई अर्थपूर्ण मानिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ