arrow

जसपालाई प्रधानमन्त्री ओलीले दिए उपसभामुख र १० वटा मन्त्रालयको अफर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १२ बिहिबार
UML-JSP-NCP1.jpg

काठमाडौँ। नयाँ सरकार बनाउन विभिन्न अभ्यास भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा ल्याउन प्रयास गरेका छन्। यसकोलागि उनले जसपाका अध्यक्ष महन्थ ठाकुरसँग पटक पटक कुराकानी र भेटघाट गरेका छन्। कहिले एक्लै भेटेका छन् भने कहिले संयुक्त भेट गरेका छन्। ठाकुर पनि प्रधानमन्त्री ओलीसँग नरम देखिएका छन्। पछिल्लो भेट गत मङ्गलवार गरिएको थियो। प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरू मङ्गलवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

ठाकुरसँग फरक विचार राख्दै आएका जसपाका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव भने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेनन्। भट्टराई र यादव एमालेसँग मिलेर सरकार बनाउने लाइनको कडा विरोधी हुन्। उनीहरू कुनै पनि अवस्थामा एमालेसँग मिल्नु हुँदैन भन्न अडानमा छन्।

स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीले सरकारमा आउन जसपाका नेताहरूलाई आग्रह गरेका थिए। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ‘भेटमा प्रधानमन्त्रीले ‘तपाईँहरू सरकारमा आउनुहोस्। तपाईँहरूले उठाउँदै आएको माग पूरा गर्छु’ भन्नु भयो।’ ती पदाधिकारीले भने, ‘प्रधानमन्त्रीको चाहना जसरी भए पनि जसपालाई सरकारमा ल्याउनु रहेको बुझिन्छ। भेटमा सहभागी जसपाका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीले आफूहरूलाई सरकारमा आउन आग्रह गरेको स्वीकार गरे।  ‘उहाँले तपाईँहरू सरकारमा आउनुहोस्।  माग पूरा गर्छु भन्नु भयो’ महतोले भने,‘माग पूरा गर्नुहोस् त्यसपछि सरकारमा आउने-नआउने विषयमा सोचौला भन्यौ’महतोले भने।

जसपा स्रोतका अनुसार प्रधानमन्त्री जसपालाई १० वटा मन्त्रालय र एउटा उपसभामुख दिन तयार छन्। यसै गरी अन्य राजनीतिक नियुक्तहरूमा पनि जसपालाई भाग लगाउन प्रम तयार भएका छन्। यसै गरी लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न तथा मधेस आन्दोलनको बेला लगाइका मुद्दा फिर्ता गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक देखिएका जसपा स्रोतको भनाइ छ।

प्रधानमन्त्रीसँगको भेटमा कार्यदलका सदस्यहरू पनि पुगेका थिए। कार्यदलमा सरकारको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् भने जसपाको तर्फबाट सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्। शुक्ल र कर्ण दुवै ठाकुरसँग निकट मानिन्छ। कार्यदलले पनि आफ्नो तर्फबाट गृहकार्य गरिरहेको स्रोतको भनाइ छ। मधेस आन्दोलनको बेला लगाइएका मुद्दा कुन प्रक्रिया र कसरी खारेज गर्न सकिन्छ भन्ने विषयमा कार्यदलमा छलफल भइरहेको स्रोतेको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका मुद्दाको हकमा सरकारले आफैँ मुद्दा फिर्ता लिन सक्छ तर अदालतमा दर्ता भएका मुद्दाको हकमा अदालती प्रक्रियामा जानु पर्ने बाध्यता रहेको जसपाका एक नेताले बताए।

जसपाले संविधान संशोधन गर्नु पर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, मधेस आन्दोलनको क्रममा लगाइएको झुटा मुद्दा खारेज गर्नु पर्ने, घाइतेहरूको उपचार गर्नु पर्ने लगायतका मुद्दा उठाउँदै आएको छ। माग पूरा भयो भने सरकारलाई समर्थन गर्ने या सरकारमा जान सक्ने जसपाका नेताहरूले बताउँदै आएका छन्।

जसपा अहिले दुई कित्तामा बाँडिएको छ। एउटा कित्ताको नेतृत्व महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग लचक देखिन्छन्। अर्को कित्ताको नेतृत्व उपेन्द्रले गरेका छन्। उपेन्द्रलाई बाबुराम भट्टराई ले साथ दिएका छन्। बाबुराम र उपेन्द्र कुनै पनि अवस्थामा ओलीसँग मिल्ने पक्षमा छैनन्।

जसपा भित्रको विवादमा ठाकुर अहिले बहुमतमा देखिएका छन्। पोहर साल झन्डै तत्कालीन समाजवादी पार्टी फुटाउन खोजेका विमल श्रीवास्ताब, प्रदीप यादव, इस्तिायक राई लगायतका नेताहरू पनि एमालेसँग मिलेर सरकार बनाउनु पर्ने लाइनमा उभिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ