arrow

वृद्ध दम्पतीको गाडिएको अवस्थामा भेटियो शव

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
jha-.JPG

काठमाडौँ। ओछ्यानसहित बेपत्ता महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका वृद्ध दम्पतीको शव फेला परेको छ । महोत्तरी पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा वृद्ध दम्पती ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झाको शव फेला परेको हो ।

प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले छुट्टाछुट्टै दुईवटा प्लाष्टिक बोरामा शरीरका सबै मासु गलिसकेको र कङ्काल मात्रै बाँकी रहेको अवस्थामा झा दम्पती शव फेला परेका जानकारी दिए ।  दुवै कङ्काल झा दम्पतीकै रहेको निजका छोरा मनिषकुमार झाले पहिचान गरेको प्रहरी नायब महानिरीक्षक सिंहले बताए ।

 यसअघि घटनामा संलग्न रहेको भन्दै प्रहरीले आइतबार चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले आरोपितहरूलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । घटनामा संलग्न रहेको प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरेसँगै झा दम्पतीको शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको हो ।

मृतकका छोरा मनिषले बुवालाई उनले लगाएको कपडा र आमालाई उनले लगाएकी चुरा र पोतेको आधारमा पहिचान गरेको उनले जानकारी दिए । बिहिवार दिउँसो पिपरा-२ स्थित पिपरा-धिरापुर सडकखण्डमा गत वर्षको बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काभेटरले नयाँ-नयाँ पुरिएको माटो मिलाउन खोज्दा स्काभेटरको बकेटमा कङ्काल रहेको बोरा आएपछि झा दम्पतीको पत्ता लागेको हो ।

पक्राउ पर्नेहरूमा पिपरा गाउँपालिका ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनकै छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव, भारतको विहारस्थित मधुवनी जिल्ला घर भएर महोत्तरीकै पिपरा गाउँपालिका ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुर छन् ।

१० फागुनमा मुसाफिर झा र गीतादेवी झा आफ्नै घरको कोठामा सुतिरहेकै अवस्थामा ओछ्यानसहित बेपत्ता पारिएका थिए ।

मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाहरूको आङ्कलन गरिरहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ