- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (एमाले) को शुक्रवारको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपाल र भीमबहादुर रावलबाट दिइएको जवाफ चित्त बुझ्दो नभएको बताएका छन् ।
सो दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा दलका नेता एवं प्रधानमन्त्री ओलीले नेताहरु माधवकुमार नेपाल र भीमबहादुर रावलबाट प्रस्तुत गरिएका स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको र कारबाहीको भागिदार हुने जनाएको बताए ।
एमालेका चार नेतालाई स्पष्टीकरण सोधिएकामा सुरेन्द्र पाण्डे र घनश्याम भुसालबाट स्पष्टीकरण आउन बाँकी छ । शुक्रवारको बैठकमा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्णराज विष्टलगायतले पार्टीलाई एकताबद्ध बनाउने गरी अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।
नेपालले ओलीसमक्ष १३ बुँदे लिखित स्पष्टीकरण दिंदैं ओलीसँग पनि जवाफ मागेका थिए। अध्यक्ष ओलीका तर्फबाट मागिएको १० बुँदे प्रश्नको जवाफसँगै नेपालले ओलीमाथि १३ बुँदे प्रतिप्रश्न बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पठाएका थिए।
नेता नेपालले पार्टीले स्पष्टीकरणमा सोधेका प्रश्नको जवाफ भन्दा बढी उल्टै अध्यक्ष ओलीलाई प्रतिप्रश्न गरेका छन् । ‘नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाईं समेतका नेताहरुसँग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’ ८ पेज लामो १३ बुँदे पत्रमा पार्टीलाई एकताबद्ध रूपमा राख्न ओलीले बेवास्ता गरेको नेपालको आरोप छ । नेपालले ओलीलाई कारवाही हुनुपर्ने पनि माग गरेका छन् ।
नेपालले ओलीमाथि पार्टी निर्णय अनेक पटक उल्लंघन गरेको, राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पुर्याएको, जनताको, विशेषतः श्रमजीवी जनताका हितमा कुठाराघात गरेको, गुटबन्दी गर्दै पार्टीविरुद्ध षड्यन्त्र गरेको, पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति विश्वास र निष्ठा कायम नराखेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आशन्न बजेट तर्जुमाका क्रममा सांसदहरुका सुझाव र प्रस्तावित योजनालाई विधिसम्मतरुपमा प्रस्तुत गर्न आग्रह गरिएको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसदहरुलाई उक्त आग्रह गरेका थिए ।
शुक्रवारको बैठकमा गत बैठकमा अनुपस्थित रहेका र पार्टीका गतिविधिमा सार्वजनिक असन्तुष्टि व्यक्त गर्दै आएका वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरु पनि सहभागी भएका थिए ।
बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गतेको केन्द्रीय कमिटीको विशेष बैठकले गरेका निर्णय र त्यसपछिका बैठकका निर्णयहरु फिर्ता नहुने स्पष्ट गर्दै संसदीय दलको संशोधित विधान पारित भइसकेले त्यसको कार्यान्वयन हुने जानकारी दिएका थिए । उनले भने, “पछि कालान्तरमा आवश्यक परेमा संशोधन गरौँला । अहिले तलमाथि गर्न सकिँदैन । र अब पार्टीमा समूहगतरुपमा कुनै सम्झौत वा वार्ता हुँदैन । बैठकमा आएर आफ्ना कुरा वा व्यक्तिगत समस्या राखेमा छलफल गरेर समाधान गर्न सकिन्छ ।”
उनले अब दलको नियमित बैठक बस्ने, सांसद्को क्षमतावृद्धि गर्ने र संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नेतृत्वले सहजीकरण गर्ने पनि बताएका थिए ।