arrow

ओली पक्ष कारबाहीको मुडमा, नेपाल पक्ष मिलाउने तहमा, गौतमको मौनता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
madhav-kumar-nepal-kp-sharma-oli.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले बुझाएको स्पष्टीकरण कारबाहीको भागिदार योग्य भएको बताएर पुरानो निर्णयबाट पछि नहट्ने सङ्केत गरेपछि नेपाल पक्ष अप्ठ्यारोमा परेको छ । बालुवाटारमा सम्पन्न संसदीय दलको बैठकमा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलको जवाफ कारबाहीको भागिदार योग्य भएको बताउँदै फागुन २८ गते र त्यसपछि भएका कुनै पनि बैठकको निर्णयबाट पछि नहट्ने बताएर माधव कुमार नेपाल समूहलाई पार्टीमा पेलेरै जाने नीति अघि सारेपछि नेपाल पक्ष अप्ठ्यारोमा परेको हो।

संसदीय दलको बैठकमा नेपाल पक्षका नेताहरू झलनाथ खनाल, घनश्याम भूषाल, गोकर्ण विष्ट, योगेश भट्टराई ले ओली पार्टी अध्यक्ष भएको नाताले फराकिलो छाती पारेर पार्टीको समस्या मिलाउन लाग्नु पर्ने बताए पनि ओली टसमस भएनन् । उनले उल्टै माधव नेपाल र भीम रावललाई कारबाही गर्छु भनेका थिए । ‘माधव नेपाल र भीम रावल कारबाहीको भागिदार हुन्छ भन्नुभएको छ तर कुन प्रकृतिको हुन्छ भन्ने केन्द्रीय कमिटीको बैठकमा थाहा होला, पुरानो निर्णयबाट पछि हट्ने कुरा छैन तर कालान्तरमा विधान संशोधन हुन पनि सक्ला नहुन पनि सक्ला त्यसमै भर परौँ भन्नुभएको छ’, प्रमुख सचेतक विशालले भट्टराई ले ओलीको भनाई उद्धृत गर्दै भने।

फागुन २३ को अदालतको फैसलापछि केही सांसदहरू अनुपस्थित भएको बेलामा शुक्रवार सहभागी हुनु सकारात्मक भएको भट्टराईले बताए । तर माधव नेपाल र भीम रावलको हकमा उनले कारबाही गरेर अघि बढ्ने सङ्केत मात्रै गरेनन् फागुन २८ पछिका सबै निर्णय कार्यान्वयन हुने दृढता समेत व्यक्त गरे । फागुन २८ पछिका निर्णयहरू कार्यान्वयन हुँदा नेपाल पक्षका सबै नेताहरू केन्द्रीय सदस्य मात्रै हुनेछन् । उनीहरूको पदीय हैसियत केही पनि हुनेछैन । ओलीकै लहरमा बसेका झलनाथ खनालले आफ्नो धारणा राख्दा वामदेव गौतम भने मौन बसेका थिए।

ओलीले माधव नेपाललाई कारबाही योग्य रहेको बताइरहँदा घनश्याम भूषाल, योगेश भट्टराई ले प्रतिवाद गरिरहँदा गौतम भने मौन रहेका थिए । नेपाल समूहका नेता घनश्याम भुसाल र योगेश भट्टराई र गोकर्ण विष्टले आफ्नो धारणा राख्ने क्रममा फरक धारणा राख्नलाई पेलेर जाने नीति पार्टी मिलाउने र विवादलाई साम्य पार्ने उपाय नभएको बताएका थिए । झलनाथ खनालले पनि आफ्नो धारणा राखेर चाडै नै बाहिरिएका थिए संसदीय दलको बैठकमा सबैजसो सांसदहरू सहभागी भएका थिए । जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री लगायतका सांसदहरू नबोली बसेका थिए । नेपाल पक्षका सांसदहरूले समय लिएरै आफ्नो धारणा राखेर बाहिरिएका थिए । उनीहरूले ओलीले नै एकताको प्रयास गर्नुपर्ने धारणा राखेका थिए।

नेपाल समूहले २८ गतेका निर्णय फिर्ता लिनुपर्ने माग गरे पनि ओलीले भने निर्णय फिर्ता हुनै नसक्ने अडान राखेपछि उनीहरू निराश जस्तै भएर फर्केका थिए । यद्यपि राजनीतिमा यस्ता विषयहरू आउने जाने भएकाले त्यसलाई अन्यथा रूपमा नलिने उनीहरूको दाबी छ । ‘कारबाही जस्ता विषयहरू आउने जाने हुन्छन् यसलाई सामान्य नै लिने हो गुट हामीले गरेका होइनौ ओलीले गरिरहेका छन्’, नेपालनिकट एक नेताले भने ‘ हेरौँ कारबाही कसरी गरिदोरहेछ कारबाहीको प्रक्रिया कसरी अघि बढ्दो रहेछ अनि मात्रै विषयहरू अघि आउनेछन् छलफलको दायरा फराकिलो हुनेछ ।’ नेपाल पक्षका धेरैजसो केन्द्रीय सदस्यहरूले मैदान खाली गरेर कहीँ पुगिँदैन मैदानमा प्रवेश गरेर लडाइ जित्न सकिने धारणा राखेका थिए । मेगा पार्टी प्यालेसमा भएको बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरूले रिङभित्र छिरेर लडाइ गर्ने र त्यहीबाट विजय प्राप्त गर्ने बताएका थिए । त्यसकै आधारमा नेपाल समूह संसदीय दलको बैठकमा सहभागी भएको थियो।

बालुवाटार पुगेका नेपाल पक्षका सांसदहरूलाई देखेपछि ओलीले व्यक्तिगत रूपमा कुराकानी गर्ने बताएका थिए । उनले आज नयाँ परिघटना भएको बताउँदै पुराना निर्णयबाट पछि हट्न नसक्ने अडान कायमै राखेका थिए । ‘प्रधानमन्त्रीले २८ गतेको निर्णयहरू र त्यसपछिको ५ र ७ गतेको संसदीय दलको निर्णयबाट ब्याक हुन सकिँदैन विधिसम्मत भएकोले ब्याक गर्न मिल्दैन भन्नुभयो,’ सचेतक भट्टराईले भने । तर, संसदीय दलको विधान भने संशोधन गर्न सकिने ओलीको धारणा थियो । व्यक्तिगत रूपमा आएका गुनासोबारे छलफल गर्न सकिने भए पनि गुटगत गुनासोबारे भने छलफल नहुने ओलीले बताएका थिए । माधव नेपालसँग पनि ओलीले व्यक्तिगत रूपमै कुराकानी गर्न चाहेका थिए।

‘समूहगत तरिकाले गुटगत तरिकाले कसैसँग डिल गर्दिन हरेक व्यक्तिका गुनासा सुन्न हामी तयार छौँ । तर गुटगत हिसाबले छलफल र कुराकानी हुँदैन’, ओलीको भनाई उद्धृत गर्दै सचेतक भट्टराई ले भने । शुक्रवारको बैठकमा नेपाल समूह पनि सहभागी भइसकेकाले अब पार्टीमा विवाद नरहेको ओली समूहको दाबी थियो । ‘साबिक नेकपा एमालेमा पनि विवाद थियो । त्यो नेकपामा पनि सर्‍यो।

तर विवाद हट्यो । पार्टीका महत्त्वपूर्ण नेताहरू सहभागी हुनुभएको छ,’ सचेतक भट्टराईको दाबी थियो । नेपाल समूहका नेताले आफूलाई पनि बैठकमा सहभागी हुने वातावरण बनाउनुपर्ने बताएपछि जवाफमा ओलीले सबैलाई बैठकमा भाग लिने अवसर हुने बताए । तर गुटगत गतिविधिमा भने रोक लगाइने ओलीको धारणा थियो । भट्टराईले नेकपा एमालेमा विभाजनको आशङ्का अन्त्य भएको बताए । ओलीले माधव नेपाललाई कारबाही अघि बढाए ठुलो हिस्सा उनीसँग रहेकाले ओलीका लागि प्रत्युत्पादक हुने बताइएको छ । तर पनि ओलीका केही नेताहरू कारबाही गरेरै अघि बढ्ने मुडमा रहेका छन् । एमालेभित्र नेपालको वचश्व कायमै रहे केही नेताहरूको पालो अझै नआउने भएकाले उनीहरू नेपाललाई निकालेर आफ्नो प्रभुत्व जमाउन चाहेका कारण नेपाललाई कारबाही गराउने तहमा पुर्‍याउने सम्भावना बलियो रहेको स्रोतको दाबी छ।

ओलीले नेपालसँग प्रतिशोध साँध्नेगरी प्रक्रिया अघि बढाउन खोजेको एक नेताले दाबी गरेका छन् । ‘ओलीले नेपालसँग प्रतिशोध साँध्न खोजेको आभास हुन्छ यसका नेपाल पक्षका केही नेताहरूलाई आफ्नो चङ्गुलमा राखेर नेपाललाई बिस्तारै एक्लाउने नीतिमा लागेको बुझिन्छ’, ओली पक्षका एक स्थायी कमिटी सदस्यले भने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ