सप्तरी। पत्रकार कुटने सिंचाई मन्त्री उमेश यादवको कार्यकर्ता माथि जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रवार सार्वजनिक अपराध मुद्दा गरेको छ। नेपाल प्रेस युनियन शाखा सप्तरीका कार्यसमिति सदस्य तथा स्थनिय ग्रिन मधेश दैनिकका सम्वाददाता निरज कुमार मंडल माथि भौतिक आक्रमण भएको विरुद्धमा प्रहरीले आक्रमण गर्नेहरु उपर मुद्दा दर्ता गरेका हुन्।
असार ४ गते समाचार संकलन गर्न जिल्लाको लालापट्टी गाविस वार्ड नम्बर ६ स्थित पोखरी तथा कूलो निर्माण गर्नका लागि गठन गरिएको उपभोक्ता समिति र सोसंग सम्बन्धित अन्य जानकारी लिन जाँदा सोही गाविस वार्ड नम्बर २ बस्ने वर्षीय धीरेन्द्र यादव, नवल यादव, भुपेन्द्र यादव, वार्ड नम्बर १ बस्ने परमानन्द यादव र वार्ड नम्बर ४ बस्ने छेदी रामले आफु सिचाई मन्त्रीको मान्छे हु भन्दै पत्रकार मंडललाई हातपात तथा कुटपिट गर्दे ज्यान मार्ने धम्की समेत दिएका थिए।
यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा दर्ता गराउन जाँदा सिंचाईमन्त्री उमेश यादवको दवावमा सप्तरी प्रहरीले मुद्दा दर्ता गर्न मानेको थिएन। नेपाल प्रेस युनियन केन्द्रीय समिति र स्थानिय पत्रकारहरुले थप दवाव दिएपछि उनीहरु माथि प्रहरीले मुद्धा दर्ता गरेको हो।