- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लामो समयदेखि देशका काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रहरू वायु प्रदूषण बढिरहेको अवस्थामा पनि सरकारी निकायको उचित समन्वय अनुरूप काम नहुँदा जनमानसको स्वास्थ्यमा गम्भीर खेलबाड भएको छ । सरकारसँग योजना छ तर कार्यान्वयन गर्ने निकायहरुबीच समन्वय हुने गरेको छैन।
करिब एक सातादेखि काठमाडौं उपत्यकाको वायु स्वास्थ्यका लागि खतरनाक रहिआएको छ । दूषित हावाका कारण मानिसहरू आक्रान्त बनिरहेको समयमा पनि सरकारी निकायहरूमा कुनै किसिमको तत्परता देखिँदैन।
स्वास्थ्य मन्त्रालय र वातावरण विभागले सावधानी अपनाउन विज्ञप्ति जारी गरेका छन् । तर, प्रदूषण नियन्त्रणका लागि कुनै पहल भने गरेका छैनन् ।
शिक्षा मन्त्रालयले ४ दिन शैक्षिक संस्था बन्द गरेको छ । तर, उपत्यकामा सबैभन्दा बढी प्रदूषण गर्ने सवारीसाधन, धुवाँ उत्सर्जन गर्ने उद्योगहरू लगायतलाई नियमन नगर्दा प्रदूषण झनै बढ्दै गइरहेको छ ।
देशभरका पोखरा, चितवन, विराटनगर, जनकपुर, वीरगन्ज लगायत सहरहरूमा पनि प्रदूषणको मात्रा उच्च रहेको छ।
के कारणले भयो अत्यधिक प्रदूषण ?
काठमाडौं उपत्यकामा यसअघि नै वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक रहिआएको छ । तर, यस पटक अत्यधिक वायु प्रदूषण रहेको छ ।
वातावरणीय स्वास्थ्यविद् डा. यादवप्रसाद जोशीका अनुसार वसन्त ऋतुमा हावाको बहाव कम भएका कारण हावामा प्रदूषक तत्त्वहरू खाँदिएर बसेको हो ।
काठमाडौं उपत्यकामा उपत्यकाभित्र खास गरी यातायात क्षेत्र, औद्योगिक क्षेत्र, निर्माणजन्य गतिविधि, आवासीय क्षेत्र, कृषि क्षेत्र, खसला फोहर जलाउने कार्य र कृत्रिम र प्राकृतिक डढेलोले वायु प्रदूषण हुने गरेको छ ।
स्वास्थ्यमा कस्तो असर ?
वायु प्रदूषणका कारण नेपालमा वर्षेनी हजारौंले ज्यान गुमाउने गरेका छन् ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०१८ मा मात्रै वायु प्रदूषणका कारण ३७ हजार मानिसको मृत्यु भएको छ ।वायु प्रदूषणका कारण स्वास्थ्यमा तत्काल र दीर्घकालीन गरेर दुई किसिमका असर पर्ने वातावरणीय स्वास्थ्यविद् डा. जोशी बताउँछन् ।
आजभोलि उपत्यकाका धेरैजसो मानिसहरूमा आँखा चिलाउने, रुघाखोकी, घाटी खसखस हुनेजस्ता तत्कालीन असर देखिएको छ ।
वायु प्रदूषणको दीर्घकालीन असर भने प्राण घातक हुन्छन् । खास गरी दम, ब्रोनकाइटिस, निमोनिया, फोक्सोको क्यान्सर, मुटु रोग, हाइपर टेन्सन, मस्तिष्कघातलागयत वायु प्रदूषणका दीर्घ कालिन असर हुन् ।
उपत्यकाको खतरनाक वायु प्रदूषण तत्काल नियन्त्रण गर्ने उपायहरू
काठमाडौं उपत्यकामा एक हप्तादेखि रहेको अत्यधिक प्रदूषण बच्चा, ७० वर्षभन्दा माथि उमेर समूहका वृद्ध, दीर्घ रोगी र गर्भवती आमाका लागि सबैभन्दा बढी घातक हुने डा. जोशी बताउँछन् । अन्य मानिसहरूमा भने दीर्घकालिन असर पार्छ ।
अत्यधिक प्रदूषण नियन्त्रणका लागि सवारी साधन र औद्योगिक क्षेत्र नियन्त्रण गरिनुपर्ने वातावरणविद् भूषण तुलाधर बताउँछन् ।
उपत्यकाको प्रदूषण केही तत्काल न्यूनीकरण गर्न यी उपाय अपनाउन सकिने विज्ञको भनाइछ:
लकडाउनका बेलादेखि उपत्यकाका धेरै जसो कार्यगत क्षेत्रहरूमा घरबाटै काम गर्न सकिने व्यवस्था बनिसकेको थियो । तत्कालको अत्यधिक प्रदूषण बढ्न नदिन यस्ता उपाय अपनाउन सकिने विज्ञहरू बताउँछन् ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, यातायात व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालय एवं गृह मन्त्रालयको समन्वयमा तत्कालको प्रदूषण नियन्त्रणका लागि कदम चालिने पर्ने देखिन्छ । तर, सकारी निकायहरुबीचको समन्वयको अभाव र लापरबाही देखिएको छ ।
उपत्यकाका सवारी साधनमा जोरबिजोर प्रणाली र मोटरसाइकल बन्द गरिएको अवस्थामा प्रदूषण एक दुई दिनमै घट्ने वातावरणविद्हरूको भनाइ छ । तर, सरकारी निकायहरुबीच समन्वय भई काम भएको देखिँदैन ।
यसबारेमा स्वास्थ्य मन्त्रालयसँग कुरा गर्दा हामीले सचेत हुन विज्ञप्ति निकालेको छौं भन्ने प्रतिक्रिया आयो भने, वातावरण विभाग र वन मन्त्रालयसँग सम्पर्क हुन सकेन । गृह मन्त्रालयले समेत यातायातमा जोरविजोरबारे कुनै छलफल नभएको बतायो ।
शिक्षा मन्त्रालयले शैक्षिक संस्था बन्द गर्दा यसले पनि तत्कालको प्रदूषण कम हुनमा ठुलो राहत दिने देखिन्छ भने, विद्यार्थीहरूको स्वास्थ्यमा कम असर पर्नेछ ।
प्रदूषण नियन्त्रणका लागि करोडौं रुपैयाँ सरकारबाटै अपचलन
वातावरण प्रदूषण नियन्त्रणका नाममा सरकारले झण्डै १२ अर्ब कर असुली गरेको छ । तर, उक्त रकम अरुतिर खर्च हुने गरेको छ । प्रदुषण नियन्त्रणका नाममा उठेको रकम कता खर्च हुन्छ भन्ने यकिन तथ्यांक सरकारसँग छैन। वायु प्रदूषणमा खर्च भएको भए अहिले देशले यो स्तरको प्रदूषण सायद भपग्न पर्ने थिएन।
नेपाल भित्रिने पेट्रोल र डिजेलबाट सरकारले प्रतिलिटर ५० पैसाका दरले प्रदूषण नियन्त्रणका लागि कर उठाउने गरेको छ ।
आर्थिक वर्ष २०६५र६६ देखि उठाउन थालिएको कर आर्थिक वर्ष २०७६०७७ सम्म आइपुग्दा ११ अर्ब ५० करोडभन्दा बढी पुगेको छ । तर, यो रकम प्रदूषण नियन्त्रणकै क्षेत्रमा खर्च हुन सकेको छैन ।
योजना छ कार्यान्वयन छैन
हिउँदमा वर्षा नहुँदा यस पटक बढी सुख्खाका कारण चाँडै डढेलो लागेको देखिन्छ । तर, डा. जोशीका अनुसार नेपालमा वैशाखको मध्यमा सबैभन्दा बढी डढेलो लाग्ने गर्छ । अहिलेको अवस्थाबाट उपत्यकाले केही राहत पाए पनि यस्तो अवस्था नियन्त्रण गर्न सरकारी निकायको तयारी खासै देखिँदैन ।
वायु प्रदूषण नियन्त्रण गर्नका लागि गत वर्ष मात्रै वन तथा वातावरण मन्त्रालयले ‘काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६’ अघि सारेको थियो ।
यस अन्तर्गत एक वर्षभित्रै कार्यान्वयन हुनुपर्ने भनिएका कार्य योजनाहरू कार्यान्वयन हुन सकेका छैनन् ।
यो कार्य योजना अन्तर्गत सवारी साधनमा एक वर्षभित्र न्यून प्रदूषण फैलाउने किसिमको इन्धन मापदण्ड युरो ४ कार्यान्वयन गर्ने भनिए पनि यो पुरा हुन सकेको छैन ।
सरकारले वर्षाैंदेखि प्रदूषण नियन्त्रणका लागि नीति बनाउँदै आएको छ । तर, नीतिहरूको कार्यान्वयनमा ती निकायहरूबाट उल्लेख्य सफलता हासिल हुन सकेको देखिँदैन । सरकारी निकायहरूमा संयोजनको कमी देखिएको छ।
उपत्यकाको वायु प्रदूषण नियन्त्रणमा सरकारी निकायले कार्य योजना कार्यान्वयन गर्न यस्तै चरम लापरबाही गर्ने हो र सर्वसाधारणबाट होसियारी अपनाइएन भने उपत्यकाको वायु प्रदूषणले लाखौं मानिसको स्वास्थ्य ठुलो जोखिममा पार्ने निश्चित छ ।