arrow

काठमाडौं उपत्यकामा वायु प्रदूषण कायमै रहने, सरकार उदासीन 

प्रि मनसुन सक्रिय हुनु अघिसम्म प्रदूषण रहने सम्भावना 

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ चैत १९ बिहिबार
Pollution-KTM-Haze.jpg

काठमाडौं । गत सातादेखि धुम्म काठमाडौं उपत्यका बुधवार राति परेको पानीले बिहीबार केही खुलेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझसम्म फेरि उपत्यकामा पानी पर्ने सम्भावना रहेको बताएको छ ।

तर, आज बुधवारको भन्दा न्यून वर्षा हुने मौसमविद् मञ्जु बासीले बताइन् । त्यस्तै उपत्यकाको दूषित हावालाई बाहिर लैजान सक्ने क्षमताको हावा बहने अवस्था पनि तत्काल मौसम प्रणालीमा नदेखिएको मौसमविद् बासीले बताइन् ।

यसको अर्थ शुक्रवारबाट काठमाडौं उपत्यकामा पानी पर्ने अवस्था छैन, भने तेजिलो हावा पनि बहने अवस्था पनि देखिएको छैन । यसो हुँदा शनिवारदेखि उपत्यका बाहिरबाट भित्रिरहेको डढेलोको धुवाँ मिश्रित हावा र उपत्यकाबाटै उठ्ने प्रदूषक तत्त्वहरूले फेरि उपत्यका धुम्म बनाउन सक्ने देखिएको छ ।

मौसमी प्रणाली सामान्य रहेमा अर्थात् पानी नपरेको र तेजिलो हावा नचलेको खण्डमा उपत्यकामा प्रदूषण फेरि बढ्न त्रिविका वातावरणीय भौतिक शास्त्रका प्राध्यापक रामप्रसाद रेग्मी बताउँछन् ।

उपत्यका भित्रका गाडीबाट निस्किने धुवाँ, सडक क्षेत्र एवं निर्माण क्षेत्रबाट उड्ने धुलो र गत हप्ता झैं उपत्यका बाहिर र भित्र लागेको डढेलोको अत्यधिक धुवाँ उपत्यका पस्ने हो भने, फेरि उपत्यका धुम्म हुने निश्चित देखिन्छ ।

वन जङ्गलहरूमा लागि रहेको आगो नियन्त्रणका लागि केन्द्रीय सरकारबाट स्थानीय सरकारसम्म खासै पहल भएको देखिँदैन । तीनै निकायका सरकारहरू उदासीन देखिएका छन्। 

यसबाहेक उपत्यकामा समेत वायु प्रदूषणबाट जोगिन सतर्क रहन भन्दै विज्ञप्ति जारी गर्नुबाहेक नियन्त्रणका लागि उल्लेख्य पहल भएको देखिँदैन ।शिक्षा मन्त्रालयले भने चार दिन शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएको थियो ।

प्रि मनसुनको भर
प्रि मनसुन सक्रिय हुनु अघिसम्म मौसमको अवस्था कस्तो रहन्छ सोही अनुसार वायु प्रदूषण थप घट हुने वन तथा वातावरण मन्त्रालय वातावरण विभागका सूचना अधिकारी शङ्करप्रसाद पौडेल बताउँछन् ।

विभागले वायु प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन रणनीतिहरूमा काम गरिरहेको उनको भनाइ छ । तर, तत्काल विपद्का रूपमै सिर्जना भइरहेको वायु प्रदूषण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग एवं गृह मन्त्रालयबीच उच्च स्तरीय समन्वय हुनुपर्ने उनको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, यातायात व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालय एवं गृह मन्त्रालयको समन्वयमा तत्कालको प्रदूषण नियन्त्रणका लागि कदम चालिनु पर्ने देखिन्छ । तर, सकारी निकायहरुबीचको समन्वयको अभाव र लापरबाही देखिएको छ ।

उपत्यकाका सवारी साधनमा जोरबिजोर प्रणाली र मोटरसाइकल बन्द गरिएको अवस्थामा प्रदूषण एक दुई दिनमै घट्ने वातावरणविद्हरूको भनाइ छ । तर, सरकारी निकायहरुबीच समन्वय भई काम भएको देखिँदैन ।

तर, झण्डै एक हप्ता रहेको उपत्यकाको खतरनाक प्रदूषणको अवस्थामा यी निकायहरूले उल्लेख्य कदम चाल्न सकेको देखिन्न । 

आउँदा दिनमा फेरि सरकारी निकायहरुबीच समन्वय नहुने हो भने उपत्यकाको वायु प्रदूषणबाट जोगिन सकिने अवस्था रहन्न ।शुक्रवारबाट मौसम सामान्य रहँदा प्रि मनसुन सक्रिय हुनु अघिसम्म प्रदूषण बढ सम्भावना बढी नै रहने विज्ञहरूको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ