arrow

राष्ट्रप्रमुखको व्यक्तिवाद

विद्यादेवीको रहरः पार्टी नेतृत्वमा आएर देशको कार्यकारी हुने

एमालेको गम्भीर मोड जोगाएर ओलीलाई शक्तिमै राख्ने, फुट रोक्न नेताहरु फकाउँदै

logo
प्रकाशित २०७७ चैत २३ सोमबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार पार्टीका वरिष्ठ नेता झलनाथ खनालको डल्लुस्थित घरमा पुगेर एमाले पार्टी विभाजन हुनबाट रोक्न आग्रह गरिन् । ‘एकीकृत पार्टी सकेसम्म नफुटोस् र एमाले  बलियो होस् भन्ने नै मेरो चाहना छ तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् र त्यसका लागि तपाईले पहल गरिदिनुस्’ भन्दै राष्ट्रपति भण्डारी खनाल निवास पुगेकी थिइन् । 

कतिपयले झलनाथ खनाल बिरामी भएका कारणले हेर्न गएको भनिए पनि एमाले विभाजन हुनबाट रोक्नकै लागि खनाल निवास पुगेकी हुन् । ‘पार्टीमा विग्रह आउँदा राष्ट्रपतिज्यूले निकै अप्ठेरो महशुस गर्नुहुन्छ पहिला नेकपा नफुटोस् भन्ने चाहाना थियो त्यो संभव नभएपछि कम्तीमा एमालेचाहिँ एक होस् भन्ने उहाँको चाहना रहनु स्वाभाविक हो’, राष्ट्रपति निकट स्रोतले भन्यो । 

आफूलाई जुन पार्टीले राष्ट्रपतिमा पठायो त्यो पार्टी विभाजन नहोस् भन्ने उनको चाहना सही भएपनि त्यसले बाहिरी राजनीतिक दुनियाँमा ठीक गरिनन् भन्ने देखाएको छ । 

तैपनि उनी खनाल निवासनै पुगेर जे आग्रह गरिन् त्यसले प्रधानमन्त्री केपी शर्मा ओली एमालेका नेताहरुप्रति केही नरम हुनसक्छन् कि भन्ने अपेक्षा कार्यकर्ताले गरेका छन् । 

तर ओलीले चार नेतालाई कारवाही गरिसकेको र फागुन २८ गते विधान संशोधन गर्दै सबै अधिकारी आफूमा निहित गरेपछि त्यसबाट पछाडि हट्ने संभावना निकै कम छ । 

ओलीले फागुन २८ गतेको निर्णय नसच्याउँदासम्म एमालेका वरिष्ठ नेताहरु माधव कुमार नेपाल झलनाथ खनालसहितको टोली ओलीसँग झुक्ने संभावना पनि देखिँदैन । एमालेभित्र ओली आफ्नो निर्णयबाट पछि नहट्ने नेपाल पक्षले फागुन २८को निर्णय नमान्ने भएपछि विवाद उत्कर्षमा पुगेको छ । 

आइतबारमात्रै काठमाडौंमा समानान्तर जिल्ला कमिटी निर्माण गर्ने क्रममा नेपालले ओलीसँग पुच्छर लुकाएर वा झुकेर नजाने बताएका छन् । जसले गर्दा समस्या झन् पेचिलो बन्दै गएको छ ।   

यस सन्दर्भमा राष्ट्रपति भण्डारीले एमाले विवादमा चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न झलनाथ खनाललाई आग्रह गरेकी छिन् । तर ओली पछाडि नहट्दासम्म खनाल नेपाल पक्ष झुक्ने संभावाना कमजोर रहेको छ । 

राष्ट्रपति भण्डारीको यो ‘मुभ’ले एमाले विवाद निकै गम्भीर मोडमा पुगेको संकेत गरेको छ । यद्यपि नेपाल पक्षले आउँदो दुई महिनासम्म समानान्तर कमिटी निर्माण गरेर जाने अवस्थामा रहेको छ । 

सत्तारुढ दल एमालेभित्र खनाल र वरिष्ठ नेता नेपाल समूहले देशभर समानान्तर गतिविधि चलाइरहेका बेला राष्ट्रपति भण्डारीको भेटर्वार्तालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । 

राष्ट्रपति भण्डारीले पार्टी एक भएमात्रै हामी सबैलाई सर्वोच्च पद प्राप्ति हुने भएकाले पार्टीभित्र आफू अहिले नभए पनि भोलिका दिनमा पार्टीलाई विभाजित हुन नदिने भूमिकामा आफू पनि रहने बताएकी थिइन् । 

उनले पार्टीभित्र रहेका साना साना मतभेदलाई छिचोलेर जान आग्रह गरेपछि खनालले ओलीको व्यवहार सुधार हुनुपर्ने फरक विचार राख्नेहरुलाई सम्मान गर्नु नसक्नु जस्ता विषयहरु मूल समस्या रहेको बताउँदै ओलीलाई सम्झाउन आग्रह गरेका थिए । 

तर राष्ट्रपतिले यो बीचमा पार्टीभित्रको विवाद समाधानका लागि पार्टीका दोस्रो पुस्ताका नेताहरुसँग पनि छलफल गरिरहेको र विवाद मत्थर हुनेमा विश्वास रहेको जवाफ बताएकी थिइन् । 

यसअघि तत्कालिन नेकपा विवादको क्रममा राष्ट्रपति भण्डारीले वामदेव गौमत, जनार्दन शर्मा लगायतका नेताहरुसँग पटक पटक छलफल गर्ने गरेकी थिइन । 

ओली–प्रचण्डको सहमतिका क्रममा पनि राष्ट्रपति साक्षी बस्ने गरेकी थिइन् । अहिले पनि राष्ट्रपति पार्टीको विवादलाई लिएर नेताहरुसँग भेटघाट गर्ने, विवाद मिलाउने काममा व्यस्त भएकी छिन् । 

राष्ट्रपति हुनुअघि पार्टीभित्र ओली गुटको व्यवस्थापकको भूमिकामा रहेकी भण्डारीले एकपटक एमालेको अध्यक्ष भएर कार्यकारी भूमिकामा रहने रहर गरेकी थिइन् । 

उनलाई राष्ट्रपति बनाएर पठाएपछि उनको भूमिका खुम्च्याइएको थियो । दोस्रो पटक राष्ट्रपति हुनुअघि आफू पुनः पार्टी राजनीतिमा सक्रिय हुने बताउन थालेपछि दोस्रो पटक राष्ट्रपति बनाएर पठाइएको थियो ।

अहिले पनि उनको इच्छा एक पटक पार्टी राजनीतिमा आउने र देशको कार्यकारी प्रमुख हुने रहेको चर्चा चलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ