arrow

मुगु प्रकरण : बलात्कारको प्रयासपछि प्रवेश रावलले बालिकालाई फाले कर्णालीमा

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ चैत २६ बिहिबार
laximi-chaulagain-murderd-prabesh-rawal.jpg

मुगु । सोरूँ गाउँपालिका-९ कालै गाउँकी नौ बर्षीया एक बालिकाको बलात्कार प्रयास पछि हत्या भएको छ । सोरूँ गाउँपालिका-९ कालै स्थायी ठेगाना हाल सोही गाउँपालिका-८ तारानीमा अस्थायी बसोबास गर्दै आएका सिद्धी लाल चौलागाईँको नौ बर्षीया छोरी लक्ष्मी चौलागाईँलाई सोही गाउँपालिका-८ का २० वर्षीय प्रवेश रावलले चैत्र २१ गते बलात्कारको प्रयास पछि हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।

चैत्र २१ गते अन्दाजी ५ बजेर १५ मिनेटमा बालिकाको घरबाट अन्दाजी पाँच सय मिटर टाढा घाट भन्ने स्थानमा बालिका शौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपित रावलले शौच गरेको स्थानमा बलात्कारको प्रयास गर्न खोजेका थिए ।  इन्कार गरेपछि रावलले धकेलेर ढुङ्गामा पछार्दा बालिका बेहोस भएकी थिइन् । रावलले बेहोस भएकै अवस्थामा घटना स्थल नजिक रहेको मुगु कर्णालीमा बालिकालाई फालेर बगाई हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।  आरोपित रावलले   बालिकालाई कर्णालीमा फालेको बिहीबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी गराएका छन् ।

२१ गते दिउसो आमासँग घर नजिकको खोलामा नुवाई धुवाई गरेकी बालिका बेलुकी ५ बजे तिर घरबाट ५ सय मिटर टाढा घाट भन्ने स्थानमा गएको स्थानीयले देखेका थिए । बालिका पछि पछि आरोपित प्रवेश स्थानीय पसलबाट दुई पोका रिन टिन चाउचाउ किनेर गएको र घटना भएको घाट भन्ने स्थानमा बालिका शौच गर्न लागेका बेला आरोपित रावलले बलात्कार प्रयास गर्न खोज्दा बालिका चिच्याउन खोजेपछि आरोपितले धकेले पछि बालिका ढुङ्गामा बजारिन पुग्दा बालिका बेहोस भइन घटना बाहिरिने डरले आरोपितले बालिकालाई खोलामा बगाए र हत्या गरिएको अनुसन्धानले देखाएको छ ।

घटनास्थलबाट  खोलेका अवस्थामा चाउचाउको दुई पोका सहित बालिकाको निलो रङको एक जोडा चप्पल समेत प्रहरीले बरामद गरी सबुद प्रमाण भेटिएको अनुसन्धानमा संलग्न खटिएका प्रहरी निरीक्षक नरेश विकले बताए ।

बालिकाका बुवा सिद्धिलाल व्यापारका सिलसिलामा जिल्ला बाहिर रहेका छन् । घटना भएको दिन राति अबेर सम्म बालिका घर नफर्के पछि बालिकाको आमाले खोजतलास गरेकी थिइन । राति अबेर सम्म छोरी घर नर्फर्के पछि कतै आफन्तको घरमा गएको होला भन्ने सोचले २१ गते राति खान खाएर सुतेका र २२ गते बिहान सम्म बालिका घर नर्फर्के पछि घरपरिवार लगायत छिमेकीहरू खोजीमा लागेका थिए ।

बालिकाको कतै पत्तो नलागेपछि आफन्तले प्रहरीलाई समेत जानकारी गराएका थिए । प्रहरी र स्थानीयहरू खोजीमा संलग्न थिए । २३ गते बिहान ७ बजे घटना स्थल आसपासमा माछा मार्न गएका स्थानीयले बालिकाको लास कर्णाली नदिको बिच भागमा अड्किएको देखेपछि परिवार र प्रहरीलाई जानकारी गरेका थिए ।

प्रहरीको अनुसन्धानले घट्नामा संलग्न देखिएका प्रवेश रावललाई चैत्र २४ गते बेलुकी ४ बजे तारापानीबाट प्रहरीले गिरफ्तार गरेको छ । आफ्नो बहिनीको बलात्कारको प्रयास पछि हत्या भएको भन्दै २५ गते बालिकाको दाजु ३६ वर्षीय धनराज चौलागाईँले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् ।

बालिकाको पोस्टमार्टम जिल्ला अस्पतालमा भएको छ ,थप अनुसन्धान लागी भिसेरा र भिजिनेला स्वाब समेत प्रहरी विधि विज्ञान प्रयोगशाला वा नास्टमा पटाइने भएको छ । घटनाको थप अनुसन्धानका लागी आरोपितलाई १० दिनका लागी प्रहरी हिरासतमा राख्न जिल्ला अदालत मुगुबाट २४ गते अनुमति लिई थप अनुसन्धानको प्रक्रिया अगाडी बढेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

बलात्कारको प्रयासपछि कक्षा दुईमा अध्ययनरत नौ बर्षीया बालिकालाई हत्या गरिएको भन्दै बालिकाका आफन्त तथा अधिकारकर्मिहरुले शव भेटिएकै दिनबाट जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा घट्नामा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाही र बालिकाको घरपरिवारलाई क्षतिपूर्ति तथा राहतको व्यवस्था सरकारले गर्नु पर्ने भन्दै माग राखेको बालिकाका आफन्त दानबहादुर शाहीले बताए ।

घटनामा संलग्नलाई हदैसम्मको कारबाही,उचित राहत र छोरीहरूको सुरक्षाको माग राख्दै बुधवार काठमाडौँ स्थित माइतीघर मण्डलामा विद्यार्थी तथा अधिकार कमीहरूले लक्ष्मीको आत्मको शान्तिको कामना गदै विरोध प्रदर्शन गरेका थिए भने बुधवारै एक विज्ञप्ति निकाल्दै नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यालयले घटनाको सत्य तथ्य अनुसन्धान गर्न र हत्यारालाई कानुन बमोजिम हदैको कारबाही गर्न सरकारसँग माग समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ