arrow

सोमबार पनि बस्न सकेन प्रदेश सभा बैठक, ५ गतेसम्मका लागि स्थगित

logo
विवेक मिश्र,
प्रकाशित २०७७ चैत ३० सोमबार
pradeh-shaba-province-1.jpg

मोरङ । प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सोमवार बोलाइएको प्रदेश १ को प्रदेश सभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको छ । यस अघि मुख्यमन्त्री शेरधन राईले प्रतिपक्षी लगायत दलसँग मुख्यमन्त्रीको कार्यालयमा छलफल गरेका थिए । छलफलमा विपक्षीको माग पूरा गर्ने विषयमा छलफल भएको थियो । विपक्षीले आफ्ना माग पूरा गर्ने सुनिश्चितता भएमात्र सदन चल्न दिने अडान लिएका थिए ।

मुख्यमन्त्री राईले सदनमा विपक्षीको माग सम्बोधन गर्ने गरी जवाफ दिने बताएका थिए । तर, माग पूरा गर्ने सुनिश्चित नभएपछि विपक्षी दलले सदन अवरुद्ध गरेको जनता समाजवादी पार्टीका नेता जयराम यादवले बताए । ‘माग पूरा हुनुपर्‍यो नि, उधारोमा कसरी हुन्छ ?’ नेता यादवले भने, ‘माग पूरा हुने सुनिश्चितता नगरेसम्म सदन चल्न दिँदैनौँ ।’

चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रम सञ्चालन गर्न र वहुवर्षे विकास आयोजनालाई निरन्तरता दिन विपक्षीले माग गर्दै आएका छन् । प्रदेश सरकारले बजेट अभावको कारण देखाएर आयोजना रोकिरहेको विपक्षीको आरोप छ ।

यस अघि संसद सचिवालयले प्रदेश सभा बैठक दिउँसो १ बजे बस्ने बताएको थियो । आइतबार विपक्षी दलको अवरोध खुलाउनेबारे प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बैठक आयोजना गरेका थिए ।

बैठकमा एमाले संसदीय दलका नेता समेत रहेको मुख्यमन्त्री शेरचन राई अनुपस्थित भए । मुख्यमन्त्रीको अनुपस्थितिमा मुख्य विषयमा प्रवेश नै नगरी बैठक सकिएको थियो । सोमबार बिहान मुख्यमन्त्री शेरचन राईले आफैँ नै विपक्षीसहितका दलको बैठक डाकेर गतिरोध अन्त्य गर्ने बारे छलफल गरेका थिए ।

छलफल चित्त बुझ्दो नभएपछि प्रतिपक्षी दलले सोमवार पुनः संसद अवरोध गरेका छन् । प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक ०७८ वैशाख ५ गतेसम्मका लागि स्थगित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ