जाजरकोट। गृह मन्त्री शक्तिबहादुर बस्नेत र शसस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई विरुद्ध समेत उजुरी परेको छ। गृहमन्त्री बस्नेतको जाजरकोट गृह जिल्ला हो भने प्रहरीमहानिरीक्षक राई सशस्त्र द्धन्दको क्रममा २०५६-०५७ तिर जिल्लामा प्रहरी प्रमुख डिएस्पी थिए। उनीहरु दुवै वारे उजुरी परेपनि छानवीन हुनेमा एक पिडितले आशंका ब्यक्त गरे। सत्यनिरुपण तथा मेलमिलाप आयोगमा स्थानिय शान्ति समिती मार्फत उजुरी दिएको पिडितहरुले बताएका छन्। सुरक्षा खतराका कारण उनीहरुले नाम खुलाउन चाहेनन्।
जाजरकोट भेरीमालिका नगरपालिका ४ कि राज्यलक्ष्मी खनालले आफ्ना पति रामप्रसाद शर्मा खनाललाई बेपत्ता पार्ने तत्कालिन विद्रोही माओवादी कार्यकर्ता यिनै हुन भन्ने थाहपाउँदा पाउँदै पनि वेपत्ता छानवीन आयोगमा उनले किटानी जाहेरी गरिनन्।
किटानी जाहेरी गर्दा आफु असुरक्षित हुने डरले आफुले तत्कालिन विद्रोही माओवादीको नाममा स्थानिय शान्ति समितिमा उजुरी दर्ता गराएको बताईन। जिल्ला प्रहरी कार्यालय जाजरकोट परिसरमा रहेको कालिका मन्दिरका पुजारी रहेका शर्मालाई सुराकीको आरोपमा विद्रोही माओवादीले २०५८ सालमा अपहरण गरि वेपत्ता बनाएका थिए। उनले आफुले न्याय पाउनेमा कुनै विश्वास नलागेको बताईन।
माओवादी जनयुद्धको वेला आमाबावु दुवै गुमाएकी भेरीमालिका १ बस्ने कमला खड्काले पनि राज्य पक्षका विरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा स्थानिय शान्ति समिती मार्फत उजुरी दिएकी छन्। ‘ माओवादी पार्टी अभियानमा गएका बुवा कुन्तबहादुर खड्का र आमा मनसरा खड्कालाई २०५५ माघ १४ गतेका दिन प्रहरीले जिल्लाको सक्ला ४ सुवाकोटमा गिरफ्तार गरेर हत्या गर्यो तर दोहोरो भिडन्तमा मारिएको प्रचार गरिएको छोरी कमलाले बताईन। मेरा आमा बा लाई मार्ने सुरक्षाकर्मी मैलै चिनेकी छु तर ब्यक्तिलाई किटानी गरि अझै कति इवि साँध्नु उनले भनिन आयोगले गर्ने छानवीन गोप्य भएन भने उल्टै हामी खतरामा पछौ त्यही भएर राज्य पक्षका विरुद्ध उजुरी दिएँ । पिडकलाई सजाय भई आफुहरुले न्याय पाउनेमा भने कत्ति पनि विश्वास नरहेको कमलाको भनाई छ।
त्यसैगरी भेरीमालिका नगरपालिका २ रिसाङ्गकि कमला शर्माले पनि आफ्ना पतिलाई बेपत्ता पारेको भन्दै राज्य पक्षका विरुद्ध उजुरी दर्ता गराएकी छन्। अध्ययन गर्न नेपालगञ्ज गएका आफ्ना पनि शिवप्रसाद शर्मालाई तत्कालिन शाही नेपाली सेनाले २०५८ सालमा बेपत्ता बनाएको कमलाले बताईन। दोषीलाई कारवाही हुनेमा उनलाई पनि रत्तिभर विश्वास छैन। कारवाही होला भन्ने लागेको छैन सवैले उजुरी दर्ता गराएको देखेपछि आफुले पनि स्थानिय शान्ति समितिमा उजुरी दर्ता गराएकी हुँ उनले भनिन्।
कतिपय पिडितले पिडक बारे थाह पाएपनि त्रासका कारण किटानी जाहेरी गरेका छैनन् भने कतिपयले पिडक थाहै नपाएर किटानी नगरेको उनीहरुको भनाई छ। विद्रोही पक्षका पिडक वारे अधिकांश पिडितलाई जानकारी छ भने राज्य पक्षका पिडक वारे अधिकांश पिडितलाई जानकारी नभएको नेपाल वार एशोशियसनका जिल्ला अध्यक्ष छविप्रसाद शर्माले बताए। जाजरकोटमा हाल सम्म सत्यनिरुपण तथा मेलमिलाप तर्फ एक हजार ६ सय ६ र वेपत्ता तर्फ ३१ गरी एक हजार ६ सय ३७ ओटा उजुरी परेको स्थानिय शान्ति समितिले जनाएको छ। उजुरी आउने वित्तिकै जस्ताको तस्तै आयोगमा पठाईदिने गरेका छौ स्थानिय शान्ति समितिका सचिव ज्ञानेश्वर आयार्यले बताए।