arrow

एमालेको नेपाल समूहमा राजनीतिक विचलन

अलग पार्टी बनाई माओवादीसँग एकता गर्ने प्रयासको बिरोध

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ६ सोमबार
madhav-kumar-nepal_1617970427.jpg

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा राजनीतिक विचलन शुरु भएको छ । नेपाल लगायतका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डेले नयाँ पार्टी गठन र त्यसपछि माओवादीसँग पार्टी एकता गर्ने कार्ययोजना बनाउन थालेपछि राजनीतिक विचलन शुरु भएको पाइएको हो । 

लामो समयदेखि माधव नेपालसँग रहेका नेताहरुले अर्को पार्टी गठन गर्ने र माओवादीसँग एकिकरण गर्ने हो भने साथ नदिने उदघोष गरेको र ओली समूहमै फर्कने चेतावनी दिन थालेका छन् । वरिष्ठ नेता नेपाललाई साथ दिइरहेका धेरै नेताहरुले माओवादीसँग पार्टी एकिकरण गर्ने गरी पार्टी विभाजन नगर्न दबाब दिन थालेपछि उनी कठिन परिस्थितिको सामाना गर्ने कि पार्टी एकताका लागि पहल गर्ने भन्ने दोधारमा पुगेका हुन् । 

पछिल्ला समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुलाई पार्टीभित्र आएर जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्र संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ । अबको केही समयपछि निर्वाचनको माहौल बन्ने र नेपाल पक्षमा लागेका नेताहरुले टिकट लगायतको जिम्मेवारी नपाउने देखिएपछि समानान्तर कमिटी बनाइरहेका नेपाल पक्षका नेताहरुले अर्को पार्टी निर्माण गर्ने पहल गरेपछि अधिकांश नेताहरु असहमत भएका हुन् ।

सोमबार मात्रै माधव नेपाल पक्षका २० जना नेतालाई ओली पक्षले कारवाही सूचीमा राखेको छ । यस्तो अवस्थामा नेपालले पार्टी विभाजनकै बाटो रोज्ने संभावना रहेपनि तत्काल आफू निकटका नेताहरुले दबाब दिएपछि उनी अलमलमा परेका छन् । 

ओली पक्षले सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको थियो । सोमवारको बैठकमा यसअघि माधव नेपाल पक्षमा रहँदै आएका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेन्याङ्बो र सोम मिश्र सहभागी भए  । यसअघि नै नेपाल पक्षधर नेताहरु लालबाबु पण्डित, शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायत नेताहरु ओली पक्षमा लागेका थिए । नेपालकै सम्धी सोमप्रसाद पाण्डे पनि पार्टी विभाजन गर्नु हुँदैन भन्ने लाइनमा उभिएका छन् । 

सोमबार ओली पक्षले महाधिवेशन आयोजक कमिटीको बैठक राख्दै नेपाल पक्षका २० नेतालाई कारबाहीको प्रक्रिया अघि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा एमालेको बैठकले थप नेताहरुमाथि कारबाही गर्ने निर्णय गरेको छ ।

सो बैठकले यसअघि नै कारबाहीमा परेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई थप कारबाही गर्ने र अन्य १६ जना नेतालाई पनि कारबाही गर्ने भएको हो । यी चारैजना नेताले यसअघि दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बित गरिसकिएको छ । उनीहरुबाहेक प्रकाश ज्वालासहित कर्णाली प्रदेशका पाँच जना नेताहरु र अन्य नेताहरु समेत गरी २० जना नेतालाई दुई दिनको समय दिएर अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ती नेताहरुबाट सो स्पष्टीकरण आएपछि बैशाख १० गते बस्ने बैठकबाट कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ । 

गत पुसमा बसेको ओलीपक्षीय केन्द्रीय समितिको एउटा बैठकले १५ सय १ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । सो १५ सय १ जनाको समितिलाई अब राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने निर्णय पनि सो बैठकले गरेको छ । यस्तो अवस्थामा नेपालले पार्टी विभाजन गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । ‘धेरै जसो नेताहरुले पार्टी विभाजनको विपक्षमा मत जाहेर गरेका छन् तर पनि पार्टी एकता नहुने अवस्थामा पुगेको छ यो निकै विडम्बना हो’, नेपाल पक्षका नेताको दाबी छ । 

नेपाल पक्षका धेरैजसो नेताहरुले पार्टी विभाजनको विपक्षमा मत राखिरहेको भएपनि नेपाल भने ओलीसँग मिल्न सक्ने अवस्थामा देखिएका छैनन्। ओलीले पल्लो छेउ पुग्नेगरी नेपाललाई पेलेपछि नेपाल ओलीसँग मिल्न नसक्ने अवस्थामा पुगेका भएपनि नेपाल निकटका नेताहरुले नयाँ पार्टी गठन गर्दा त्यसको गम्भीर असर पर्ने बताउँदै आएका छन् । उनीहरुले पार्टी विभाजन गर्नुभन्दा पार्टीभित्रै संघर्ष गर्नुपर्ने बताएपनि नेपाल पक्षका शीर्ष नेताहरुले ओलीसँग मिलेर जान नसक्ने बताएका छन् । 

नेपाल पक्षका नेता योगेश भट्टराइले पनि तीन वटा धारणा अघि सारेका थिए । उनले पार्टी अध्यक्ष ओली र नेपाल दुवैले आफ्ना आफ्ना कमजोरीबारे आत्मालोचना गर्ने, २०७५ जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक राख्ने, माओवादीबाट आएका साथीहरुलाई स्वतः केन्द्रीय सदस्यमा मनोनीत गर्ने र महाधिवेशन आयोजक कमिटी बनाएर देशव्यापी पार्टीभित्रको विचार मन्थन गर्ने प्रस्ताव गरेका थिए । तर उनले राखेको प्रस्तावमा नत ओलीले चासो दिए नत नेपालले नै चासो व्यक्त गरे । जसले गर्दा पार्टीभित्र दुवै पक्षबीच संवादहीनता भएको छ । 

एक हप्ता अघिसम्म अर्थमन्त्री विष्णु पौडेल र सोमप्रसाद पाण्डेले ओली नेपाल मिलाउने कसरत गरिरहेका थिए तर नेपाल पक्षका सांसदहरुले कर्णालीमा फ्लोर क्रस गरेपछि भने संवाद नै अघि नबढ्ने गरी बन्द भएको छ । ‘उहाँहरुले कोसिस गर्नु भएको हो तर कर्णाली प्रदेशमा फ्लोर क्रस भएपछि भने दुवैतिर संवाद बन्द भएको छ’, ओली निकट एक सदस्यले भने । उनका अनुसार ओली र नेपाल दुवै जना केही लचक हुने हो भने अहिले पनि पार्टी एकता कायम हुन सक्छ तर दुवै जना लचक हुने अवस्थामा छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ