काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच भेटवार्ता भएको छ । दाहाल निवास लाजिम्पाटमा मंगलबार भएको भेटवार्तामा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान कार्यान्वयनका बारे छलफल भएको थियो ।
शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न, मधेसी, थारु जनजातिलगायतको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेको अध्यक्ष दाहालले बताए ।
भेटका क्रममा अष्ट्रेलियन राजदूतले अष्टे«लिया भ्रमण स्थगन गरेको विषयमा चासो राख्दै सञ्चारमाध्यममा आए जस्तो पक्राउको तयारी नभएको तथ्य अवगत गराए । उनले आफू नियमित रुपमा सरकार, प्रहरी प्रशासन र महान्यायाधिवक्ताको सम्पर्कमा रहेको र सुरक्षाको कुनै खतरा नरहेको तथ्य राजदूत ह्वाइटले जानकारी गराए ।
आफू मुलुकको राजनीतिक अवस्था र पार्टी कामकै कारण तत्काल अष्ट्रेलिया भ्रमणमा जान नसकेको प्रस्ट पार्दै अध्यक्ष दाहालले उचित समयमा भ्रमण तय गरिने बताए । सो अवसरमा अध्यक्ष दाहालले नेपालको राजनीतिक विकास प्रक्रिया सहज रुपमा अगाडि बढाउन आफू प्रयासरत रहेको बताएको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले भूकम्पपछिको पुनःनिर्माणमा अष्ट्रेलिया सरकारले पुर्याएकाे सहयोगका लागि धन्यवाद दिए । दाहालले नेपालको राजनीतिक विकासका बारेमा चर्चा गर्दै संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, मधेशी, थारू, जनजातिलगायतको मागलाई छलफल गरी सम्बोधन गर्न, पुनःनिर्माण अभियानलाई तीब्रता दिन र जनताका समस्यालाई हल गर्न राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतीय सरकार गठन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘यसका निम्ति राजनैतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ, । अन्तर्राष्ट्रिय समुदायको समेत सकारात्मक सहयोगका निम्ति अपेक्षा गर्दछौं ।’