arrow

निषेधाज्ञाले प्रधानमन्त्री ओलीको सत्ता सङ्कट टार्न सक्छ 

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १५ बुधबार
kp-oli-balwatar.jpg
प्रधानमन्त्री केपीशर्मा ओली। (फाइल तस्विर)

काठमाडौं । कोरोना सङ्क्रमण बढेपछि सरकारले गरेको निषेधाज्ञा केपी शर्मा ओलीको सरकारलाई रक्षा कवच बनेको छ । निषेधाज्ञा नगरेको भए सरकारविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्थ्यो । यो कुरा सरकारविरुद्ध अविश्वासको मोर्चा बन्दी कस्न लागेका माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले खुस्काएका थिए । 

कांग्रेस अविश्वास प्रस्तावमा तत्काल अघि नबढ्ने देखिएपछि माओवादी केन्द्र र जसपा सो मामलामा तातिएका थिए । कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्घीय राजधानीमा लगाइएको निषेधाज्ञाले उनीहरूको छलफल प्रभावित गरिदियो । जसका कारण सत्ताविरुद्ध हुने दलहरूका गठबन्धन प्रयाससमेत सकसमा छ भने प्रधानमन्त्रीका लागि यो समय सत्ता सङ्कट टार्ने अवसर पनि बन्ने देखिएको छ । 

सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारी स्वरूप जसपाका शीर्ष नेताको बैठक मङ्गलवार बिहान जम्मा ५ मिनेट बस्यो । बैठकले खास उपलब्धिपूर्ण निर्णय गरेन, निष्कर्षविहिन भयो । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको बैठकको सन्देश ‘सकारात्मक’मात्रै भन्ने आयो । बैठकमा सहभागी जसपा नेता राजेन्द्र महतोले भने¬, ‘बैठक सकारात्मक भयो । अब कार्यकारिणी बैठक बस्ने भन्ने थियो । तर, लकडाउनले अनिश्चित भइदियो ।’ बैठकमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई  र राजेन्द्र श्रेष्ठ सहभागी थिए । 

निषेधाज्ञाले ओली सरकारको सङ्कट तत्काललाई टरेको छ । यद्यपि निषेधाज्ञा नभएको भए पनि तत्काल अविश्वास प्रस्ताव अघि बढ्ने सम्भावना भने कम थियो । कांग्रेस अङ्कगणित नपुगेसम्म अघि बढ्ने पक्षमा छैन । कांग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार सङ्ख्या नपुगेसम्म प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्न सकिँदैन । आइतबार बसेको पदाधिकारी बैठकको वटमलाइन समेत यही हो । सङ्ख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव नराख्ने उनको भनाई छ ।

त्यही कारण कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव अघि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागिरहेका छन् । 

जसपाभित्र गन्जागोल  

माओवादी केन्द्रले समर्थन छैन भनेसँगै ओली सरकार त्यसै सङ्कटमा छ । संविधान संशोधनको परस्पर विरोधी ओली त्यसमासमेत सम्झौता गर्न तयार छन् । तर, जसपाभित्र गन्जागोल छ । महन्थ ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् । बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउने पक्षमा छन् । शीर्ष नेता नै विभक्त छन् भने दोस्रो तहका नेता झन् बढी विभाजित छन् । 

राजपा हुँदा अध्यक्ष मण्डलको सदस्य रहेका एक नेताले ठाडै शीर्ष नेताले के कुरा गरे भन्ने हामीलाई सरोकारको विषय भएन भने । उनी भन्छन्, ‘हामीलाई अविश्वास प्रस्तावबारेको कुराकानी भए नभएकै थाहा छैन । र, मतलबको विषय भएन ।’ दोस्रो तहका अर्का नेता राजकिशोर यादवले भने अनौपचारिक छलफल भएको र त्यो विषयले औपचारिकता पाइनसकेको बताए । कोरोनाको निषेधाज्ञाले छलफलमा ब्रेक लागेको उनले जानकारी दिए । 

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि वैशाख २२ गते राति १२ बजेसम्म एक साता निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यकबाहेकका सेवा सबै बन्द हुने भनेसँगै नेताहरूको भेटघाट समेत रोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ