arrow

सुनसान झैँ भए सरकारी कार्यालयहरू, सिंहदरबार पनि चकमन्न

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
lockdown-ktm-1619695250.jpg
तस्वीर : रासस

काठमाडौँ । उपत्यकाका धेरैजसो सरकारी कार्यालयहरू बिहीबार सुनसान झैँ देखिएका छन् । निषेधाज्ञाको प्रभाव सरकारी कार्यालयमा पनि देखिएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयमा मान्छेहरूको भिडभाड कम गर्न आलोपालो प्रणाली लागु गरेको छ ।

सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा कर्मचारीहरूलाई आलोपालो प्रणाली लागु गरिएको सङ्घीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए । ‘बिरामी, गर्भवती, सुत्केरी कर्मचारी कार्यालयमा आउनु पर्दैन । अन्य कर्मचारीहरूको हकमा पनि आलोपालो प्रणाली लागु गरिएको छ’अधिकारीले भने ‘सम्बन्धित कार्यालयका कार्यालय प्रमुखको सिफारिसमा कर्मचारीहरूको आलोपालो प्रणाली र घर बस्ने  व्यवस्था मिलाइएको छ ।'

कार्यालयमा जानुपर्ने कर्मचारीहरूको आवतजावतको व्यवस्था सम्बन्धित कार्यालयका कार्यालय प्रमुखले मिलाउनु व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । निषेधाज्ञाको प्रभाव प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि देखियो । बिहीबार सिंहदारका सबै जसो कार्यालयहरूमा यसअघि झैँ भिडभाड थिएन ।

सङ्घीय मन्त्रालयले सरकारी कार्यालयमा न्यूनतम कर्मचारी राख्ने नीति बनाएको छ । घरबाटै सम्पादन गर्न सक्ने काम घरबाटै गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका कर्मचारीहरूको भनाइ छ । मन्त्रालयले खुलेका सरकारी कार्यालयहरूमा कोभिड सङ्क्रमण रोक्न स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पालना गर्न निर्देशन गरेको छ ।  

यसै गरी भूमि व्यवस्थापन विभागले पनि निषेधाज्ञा लगाइएका जिल्लामा भिडभाड हुने काम जग्गा बेचबिखन, नामसारी, जस्ता सेवा रोकेको छ । निषेधाज्ञा नलगाइएको जिल्लामा सम्बन्धित स्थानीय तहका प्रमुखसँग समन्वय गरी सेवा सुचारु गर्ने या स्थगन गर्ने जिम्मेवारी सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई दिइएको भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

उनका अनुसार निषेधाज्ञा लगाइएका जिल्लाका मालपोत कार्यालयहरूमा  दैनिक प्रशासनिक काम मात्र हुने छन् । ‘निषेधाज्ञा लगाइएका जिल्लाका मालपोत कार्यालयहरूमा जनताको भिडभाड हुने सेवा स्थगन गरिएको छ’ पौडेलले भने ।
नापी विभागले पनि निषेधाज्ञा लगाइएका जिल्लामा भिडभाड हुने सेवा स्थगन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ