arrow

शङ्कर पोखरेलको सत्ता सङ्कटमा, झुक्याएर बहुमत पुर्‍याएको भन्दै आफ्नैले गरे विरोध

logo
चन्द्र धामी,
प्रकाशित २०७८ वैशाख २० सोमबार
shankar-pokh.jpg
तस्बिर : फाइल

काठमाडौँ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलको सत्ता मन्त्रिपरिषद् विस्तार लगत्तै सङ्कटमा परेको छ। आइतबार हठात् मुख्यमन्त्रीबाट राजीनामा दिएका उनले बेलुकीपख फेरि शपथ खाएर सरकार गठन गरे । तर, टेको राम्ररी हालेका रहेनछन्, पोखरेलले । चलाखी गरेर विपक्षी गठबन्धन भन्दा पहिले ४१ जनाको हस्ताक्षर बुझाएका उनको पोल शपथ खाएको केही घण्टामै खुलिहाल्यो । उनले हस्ताक्षर सङ्कलन गरेका मध्ये केही प्रदेशसभा सदस्य अनुपस्थित रहेछन्।

अनुपस्थित रहेकाले आफूहरूको नाम हालेकोबारे तुरुन्तै आपत्ति जनाइहाले । पोखरेल अल्पमतमा परेर पनि सत्ताको दुरुपयोग गर्दै पुनः नियुक्ति लिएको भन्दै बहुमत धेरैले असन्तुष्टि जनाएका छन्, आन्दोलन उठ्न मात्रै बाँकी छ । बल प्रयोग गरिएपछि सांसदले प्रदेश प्रमुख र प्रहरी दमनको विरोधमा आइतबार नाराबाजी समेत गरेका थिए।

पोखरेलको ४१ जनाभित्र पारिएका मध्ये दाङ क्षेत्र नम्बर ३ (२) की प्रदेश सभा सदस्य विमला कुमारी खत्री र दाङ क्षेत्र नम्बर २(२)का प्रदेश सभा सदस्य अमर बहादुर डाँगीले आफूहरूको नाम हटाउन भनेका छन् । यस्तै, रुपन्देहीका केही सांसद समेत पोखरेलले गरेको चलाखीविरुद्ध उत्रिएका छन् । 

पोखरेलले उपसभामुख कृष्ण थारुलाई समेत गणना गरेर बल्लतल्ल ४१ जना अर्थात् सरकार गठनका लागि चाहिने बहुमत पुर्‍याएका थिए । तर, उनले प्रदेश प्रमुखसमक्ष बुझाएको हस्ताक्षरमा धेरै सांसद अनुपस्थित रहेको ठहरियो । म त शङ्कर पोखरेलकै लिस्टमा हो भन्ने विमला शर्मा समेत लुम्बिनीको सरकार गठनलाई लिएर उपद्रै हाँसिन् । उनले भनिन्, ‘हुन त म सत्ताधारी नै हो, तर कति दिनलाई ? थाहा छैन ।’ उपसभामुख कृष्ण थारुले समेत फेरि पनि भूकम्प जान के बेर भनिन् ।

अर्कोतिर सूर्य चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र सांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही विपक्षी गठबन्धनबाट फर्किएको भनेर मुख्यमन्त्री पोखरेल मक्ख छन् । तर, फर्किएकाहरू फेरि अर्को समीकरणका लागि कसरत भइरहेको भन्छन् । सोमबार आफूहरू कुलप्रसाद केसीका लागि सङ्कलित हस्ताक्षरमा नरहेको भनी वक्तव्य निकालेका अजय शाहीले अहिले फर्कियौँ, भोलि के हुन्छ भन्न सकिन्न भने ।

सूर्य चिन्हबाट चुनाव लडेकाले अन्य गठबन्धनमा लाग्न कानुनी तगारो छ नि, तपाईँहरूलाई ? जवाफमा उनले भने, ‘यस विषयमा समेत कानुनी परामर्श भइरहेको छ । जहाँ आफ्ना गुनासा सम्बोधन हुँदैनन् । त्यहाँ बस्नुको के औचित्य ? हामीले त सङ्घको स्वास्थ्य मन्त्री रहेका हृदयेश त्रिपाठीलाई समेत नसोधेर कुलप्रसाद केसीको गठबन्धन सघाउने निर्णय लिएका हौँ । हामीले हिम्मत गरे अनुसार केसी गठबन्धनले काम गर्न सकेन र ब्याक भएका हौँ । हाम्रो गुनासो कायम छ, विकल्पको बाटो सधैँ खुला हुन्छ ।’ सांसद शाहीले तीन वर्षसम्म जनताको एउटा पनि काम गर्न नसक्नेलाई सघाउन सकिँदैन समेत भने । सूर्य चिन्हबाट चुनाव जिते पनि आफूहरूलाई असहज भएको उनले बताए ।

लुम्बिनी प्रदेश सभामा हाल सभामुखसहित ८० जना सदस्य कायम छन् । ८१ जना रहेका मध्ये कपिलवस्तु २(१)का दुर्ग नारायण पाण्डेयले राजीनामा दिएपछि ८० जना छन् । नेकपाकै उनले आफूलाई राजीनामा फिर्ता लिन मुख्यमन्त्री, मन्त्री र प्रदेशका थुप्रै नेताको फोन आइरहेको बताए । यद्यपि, आफूले नैतिकताका आधारमा राजीनामा दिएका कारण घर फर्किसकेको उनको भनाई छ । पाण्डेयले भने, ‘मैले कसैको करकाप वा दबाबमा राजीनामा दिएको होइन फिर्ता लिनलाई । तीन वर्षसम्म एउटा पनि काम नगरेपछि जनता कहाँ कसरी मुख देखाउने ? भनेर नैतिकताका आधारमा राजीनामा दिएको हुँ । कपिलवस्तु मानव विकास सूचकाङ्कमा पछि रहेको जिल्ला हो, जहाँ हामीले भनेका केही काम भएनन् । अनि किन सरकारलाई काँध थापेर बस्ने ?’ कोरोना महामारीमा पनि पार्टी फुटाउने र मन्त्री बाँड्ने फोहोरी खेल भइरहेपछि उदेक लागेर राजीनामा दिएको पाण्डेयको भनाई छ । 
  
अङ्क गणितमा झुक्याइयो
लुम्बिनी प्रदेश सभामा एक जनाले प्रदेशसभा सदस्यले राजीनामा दिइसकेकाले सभामुखसहित हाल ८० सदस्य कायम छन् । दोस्रो पटक मुख्यमन्त्री बनेका पोखरेलले ४१ जनाको हस्ताक्षर बुझाएका छन् । उता विपक्षी गठबन्धनले ४२ जनाको हस्ताक्षर बुझाएको थियो । जहाँ सभामुखलाई गणना गरिएको थिएन । तर, पोखरेलले आइतबार ४१ जनाको हस्ताक्षर बुझाएपछि मात्रै नियुक्ति भएको भन्ने जिकिर छ, सत्तापक्षको । त्यो बेला विमला खत्री, अमरबहादुर डाँगीलगायत सांसद अनुपस्थित रहेको भनिएको छ भने स्वतन्त्र २ सांसद समेत विपक्षी गठबन्धनमा थिए । सोमबार मात्रै उनीहरूले वक्तव्य निकालेर विपक्षी गठबन्धनमा नरहेको जानकारी दिए । यसको अर्थ मुख्यमन्त्री पोखरेलले आइतबार बुझाएको हस्ताक्षर या त किर्ते थियो या अल्पमतमै शपथ खाए भन्नेमा शङ्का गरिएको छ । र, पोखरेलले अङ्क गणितमा झुक्याएको कुरा समेत उठेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ