- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोसी जलविद्युत आयोजनाको आइपिओमा आवेदन दिन सकिने भएको छ।
दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै बुधवारदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आइपिओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो।
आयोजनाको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक बासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने बताउँदै अन्यलाई आवेदन दिनको लागि अर्को व्यवस्था गरिने उल्लेख गरे।
यसरी आइएमई पेबाट आवेदन भर्दा निश्चित प्रक्रियाहरू पुरा गर्नुपर्ने कम्पनीले जनाएको छ। जस्तै, "तपाईँले पहिलो पटक आइएमई पे प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ। तपाईँको कारोबारको सुरक्षा र गोपनीयताका लागि तपाईँको नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगायत तपाईँसँग सम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ। यसलाई बैङ्किङ भाषामा नो योर कस्टुमर (केवासी) फारम भनिन्छ। त्यसपछि तपाईँ एपको गृहपृष्ठमा प्रवेश गर्न सक्नुहुनेछ त्यहाँ तपाईँले ‘आइपिओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि आइपिओसँग सम्बन्धित आफ्नो सबै विवरण भर्नुहोस् र त्यसलाई एक पटक रुजु गरी आफ्नो पीन कोड थिच्नुहोस्। यसरी तपाईँले आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पे मार्फत मध्य भोटेकोसीको आइपिओ भर्न सक्नुहुनेछ। यसरी आइपिओ भर्दा तपाईँलाई कुनै अतिरिक्त सेवा शुल्क लाग्नेछैन।"
मध्य भोटेकोसीले वैशाख २१ गते मङ्गलवारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपिओ निष्कासन बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्कासन गरेको हो। यसरी निष्कासन गरिएको आइपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ। छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आइपिओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा
झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फर्छ्यौट वि नियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।
आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।
आइएमई डिजिटलले बैङ्कको सुविधाबाट वञ्चित तथा न्यून बैङ्किङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवम् जुनसुकै बैङ्कका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो।