arrow

गाँठो फूकाउन कस्सिए दोस्रो पुस्ता तर ओली गाँठो कस्नै व्यस्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
kp-madhav-jN-1618248410.jpg

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विवाद मिलाउन दोस्रो पुस्ताका नेताहरु लागेपनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भने सार्वजनिक खपतका लागि मात्र विवाद निरुपण गर्न लागिपरेको झैं देखिएका छन्।

दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु २०७५ साल जेठ २ गते अघिको अवस्थामा पार्टी संरचना फर्कन तयार भएपनि ओलीले माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेता मान्न तयार हुने तर पुरानो अवस्थामा पार्टी फर्काउन नचाहेपछि शुक्रबारको दुई नेताहरुबीत वार्ता हुन सकेन । शुक्रबार दिनभर ओली र नेपाल पक्षका नेताहरुबीच घण्टौं कुराकानी भएपनि ओली २०७५ साल जेठ ३ गतेको अवस्थामा फर्कन आनाकानी गरेका थिए ।

वालुवाटारमा पुगेका नेपाल पक्षका नेताहरु घनश्याम भूषाल, योगेश भट्टराई र गोकर्ण विष्टले माधव नेपालले राखेकै बटम लाइनमा कुरा गरेका थिए । त्यसमा कार्यदल बनाएर जान पनि दुवै पक्ष सहमत भएका छन् । तर कसरी जाने भन्ने बारेमा शनिवार पनि बैठक बस्ने बताइएको छ । ‘हामीले आफ्ना कुरा स्पष्ट राखेका छौं बाँकी कुरा अध्यक्ष ओलीकै हातमा रहेको छ’, संवादमा संलग्न पार्टी नेता योगेश भट्टराईले भने । उनले बैठकले कुनै निष्कर्ष दिन नसकेको बताए ।

शुक्रबारको बैठकमा ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, विष्णु रिमाल सहभागी थिए भने वरिष्ठ नेता नेपाल समूहका तर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र भट्टराई सहभागी थिए । वैठकमा ओली समूहले जेठ २ मा फर्कने नभइ फागुन २८ को निर्णयलाई स्वीकारेर सहमति खोज्नुपर्छ भन्ने कुरा अघि सारेका थिए। विहिबार राती अबेरसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसहित पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले छलफल गरेका थिए । सोही छलफलमा नेपालले पार्टीलाई २०७५ जेठ २ अघिकै संरचनामा फर्काउने बटमलाईन सुनाएका थिए ।

शुक्रबार दोस्रो तहका नेताहरुबीच छलफल भएपनि त्यसले पनि ठोस निष्कर्ष निकालेको छैन । त्यसक्रममा बरिष्ठ नेता नेपालले एमालेको एकता कायम राख्न अध्यक्ष ओलीसँग कुनै सहमति नभएको बताउदै स्पष्टिकरण समेत दिएका थिए । उनले पार्टी एकतालाई कायम राख्न र हदैसम्मको लचक हुने बताएका थिए । शुक्रबार विहान सामाजिक सञ्जालमार्फत नेता नेपालले सहमतिका लागि वार्ता र लचकता दुवै अपनाउने पक्षमा आफू रहेको तर अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेका हुन ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो,’ नेपालले भनेका छन् ।

अघिल्लो दिन राती अबेरसम्म शीतल निवासमा राष्ट्रपति भण्डारी र नेता नेपालबीच एमाले विवादबारे छलफल भएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीसँग पनि छलफल भएको थियो । त्यतिबेला नेपालले ओली एक्लै चल्ने दोष मलाई दिएर पार्टी बन्दैन पार्टी बनाउने हो भने ओलीले अंहकार त्याग्नुपर्छ भनेर नेपालले भनेका थिए । तर दुवै नेताहरुबीच सहमति भैसकेको भन्ने प्रचारवाजी भएपछि नेता नेपालले सो धारणा सार्वजनिक गरेका हुन् ।

शुक्रबार दिउसो ओलीले गोकर्ण विष्टलाई एक्लै भेटेर नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताको पद कायमै राख्ने र अन्य नेताहरुलाई भने आयोजक कमिटीमा समावेश गर्ने जनाएका थिए । तर विष्टले नेताहरुले जे जे गर्ने हो २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउने र माओवादीबाट आएका नेताहरुलाई त्यहीबाट मनोनयन गर्ने तथा अन्य निर्णयहरु पनि त्यही गर्ने प्रस्ताव गरेका थिए ।

नेपाल पक्षले एमाले र माओवादी केन्द्रसँग एककिरण हुनुपूर्वको एमालेको दुई सय २१ जना केन्द्रीय कमिटीलाई व्यूताएर त्यसकै बैठक राख्न आग्रह गरिरहेको छ  । नेपाल पक्षले नवौ महाधिवेशनको विधान अनुसार पार्टीको संरचना पनि अध्यक्षसहित बहुपद कायमै राख्नु पर्ने विषयलाई जोड दिएको छ ।

जसमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षहरु वामदेव गौतम, युवराज ज्ञावाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, रहेका थिए । त्यस्तै महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल, घनश्याम भूषाल, सचिवहरुमा प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम आचार्य, पृथ्वी सुब्बा गुरुंङ, गोकर्ण विष्ट रहेका थिए ।

तर ओलीले फागुन २६ आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक राखेर सबै पदहरु खारेज गरी अध्यक्ष र महासचिव मात्रै रहने तथा महाधिवेशन आयोजक कमिटी बनाएर सबैलाई महाधिवेशन आयोजक कमिटी सदस्यमा रुपान्तरण गरेका थिए ।

साथै उनले विधान संशोधन गरेर निर्वाचन आयोग, अदालत लगायतका संवैधानिक निकायमा पत्रचार गर्ने हस्ताक्षर गर्ने अधिकार पनि अध्यक्षमा केन्द्रीत गरेका थिए । साथै एमालेको विधानमा ७० वर्ष उमेर कटेका नेताहरुले स्वेच्छिक रुपमा राजनीतिबाट अवकाश लिने प्राबधान पनि हटाएका थिए । अहिले ओलीको यही निर्णयलाई नेपाल पक्षले सच्याउनु पर्ने माग गरेको छ । तर ओलीले यो विषय इन्कार गर्दै आएका छन् ।

ओलीलाई विहिबारदेखि आफ्नै पक्षका नेताहरु छविलाल विश्वकर्मा, प्रदीप ज्ञावाली, विशाल भट्टराई, किरण गुरुङ लगायतका नेताहरुले पार्टीको विवाद चाडो मिलाउन दबाब दिइरहेका छन् । विहिबार राती एक दर्जन नेताहरुले ओलीलाई भेटेरै दबाब दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ