arrow

कास्कीमा सक्रिय संक्रमित तीन हजार नाघ्यो

logo
हरि पन्त,
प्रकाशित २०७८ वैशाख २६ आइतबार
covid-test-positive-corona_1618150029.jpg

पोखरा । कास्कीमा सक्रिय कोरोना संक्रमितको सङ्ख्या तीन हजार नाघेका छन् । आइतबार ४३० जना कोरोना संक्रमित थपिएसँगै कास्कीमा तीन हजार ३१ जना सक्रिय संक्रमित पुगेको हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज साँझ सार्वजनिक गरेको तथ्याङ्क अनुसार कास्कीका कुल संक्रमितको सङ्ख्या १२ हजार ४०६ जना पुगेका छन् । यी संक्रमितमध्ये ९२ सय ९२ जना निको भएका छन् ।

गण्डकीमा पाँच हजार बढी
गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको सङ्ख्या  पाँच हजार नाघेका छन् । आइतबार गण्डकीमा ६९९ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या ५२ सय एक जना पुगेको हो । 

गण्डकीमा २३ हजार २२९ जना संक्रमित भएकोमा १७ हजार ७६५ जना निको भएको गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

सातामै थपिए चार हजार संक्रमित
गण्डकीमा पछिल्ला सातामा चार हजार बढी संक्रमित थपिएका छन् । निर्देशनालयको तथ्याङ्क अनुसार गण्डकीमा यो सातामा ८४ सय १५ जनाको पिसिआर परीक्षण गरिएकोमा चार हजार आठ जनामा संक्रमण पुष्टि भएको हो । यो सातामा गण्डकीमा ३१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

मृतकको सङ्ख्या २६३ पुग्यो
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म २६३ जनाको मृत्यु भएको छ । आइतबार एकै दिन प्रदेशमा ११ जनाको मृत्यु भएसँगै २६२ जना पुगेको हो ।

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै कास्कीका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कास्कीमा हालसम्म १४६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भइसकेको प्रवक्ता डा. शर्माले जानकारी दिए ।

भरिए अस्पताल, छैन बेड
संक्रमितको सङ्ख्या बढ्दै गएपछि अस्पतालमा संक्रमितका लागि बेड पाउन निकै मुस्किल छ । पोखरामा जटिल अवस्थाका संक्रमितबाहेक अन्यलाई अस्पतालमा बेडको व्यवस्था नभएका कारण धेरै संक्रमितहरू घरमै जोखिम मोलेर बस्न बाध्य छन् । प्रदेशमा सीमित श्रोत र साधनको जोहो गरेर सञ्चालन गरिएका अस्पतालका बेडसमेत भरिएका छन् ।

गण्डकी प्रदेशमा जटिल खालका संक्रमितलाई उपचार गर्दै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालका सबै बेड भरिभराउ छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसन सञ्चालनमा आएको ५ दिनमै भरिएको छ ।

निजी क्षेत्रका डेढ दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा रहे पनि आधा दर्जन अस्पतालमा मात्र आइसियु सेवा छ । कोभिडका संक्रमितका लागि आवश्यक पर्ने आइसियु वार्ड भएका अस्पतालहरूले महँगो रकम असुल्ने गरेको बिरामीका आफन्तहरू बताउँछन् । 
अहिले चरक मेमोरियल अस्पताल, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, मेडिप्लस अस्पताल लगायत निजी अस्पतालले संक्रमितको उपचार गरिरहेका छन् ।

करिब ५० सिट क्षमता भएको सरुवा रोग तथा संक्रामक अस्पतालमा अहिले ५५ जना संक्रमितको उपचार भइरहेको अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले जानकारी दिए । 

संक्रमितको सङ्ख्यासँगै गम्भीर प्रकारको बिरामीको सङ्ख्या पनि बढेको उनले बताए । ५५ जना संक्रमितमध्ये ४० जनाको अवस्था जटिल रहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ