arrow

‘क्यूआर कोड’ सहितको अनलाइन सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
qr-sewa-kaski.jpg

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि सञ्चालनमा ल्याइएको ‘क्यूआर कोड’ सहितको अनलाइन सेवा शुरुआत गरेको छ ।

सो सेवा शुभारम्भ गर्दै गृह सचिव एकनारायण अर्यालले उपभोक्ता अधिकार संरक्षणमा क्षतिपूर्तिसहित अधिकारको व्यवस्था भएकाले सेवा र वस्तुमा उपभोक्तालाई ठग्ने काम नगर्न आग्रह गरे । उनले उपभोक्ता ठग्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।

चार्डपर्व सुरु भएसँगै खाद्य सामग्री र सार्वजनिक यातायातमा चर्को भाडा लिने काम हुँदै आएकाले यसलाई नियन्त्रण गर्न र त्यस्ता व्यक्ति वा संस्थालाई कडा कारबाही गर्न प्रशासनले जोड दिनुपर्ने उनको भनाइ छ ।

अझै पनि राजमार्गका होटलमा खानाको गुणस्तर नहुने र चर्को मूल्य लिने काम भइरहेकाले प्रशासनको ध्यान त्यसतर्फ जानुपर्ने उनले बताए ।

नेपालमै पहिलो पटक जिल्ला प्रशासन कास्कीले सञ्चालनमा ल्याएको यस्तो सेवाले निरन्तरता पाउनुपर्ने बताउँदै अन्य जिल्लामा पनि सेवा विस्तार गर्न उनको सुझाव छ ।

उपभोक्ता संरक्षण अधिकारलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ‘क्यूआर कोड’लाई निरन्तरता दिँदै पर्यटकीय राजधानी पोखरामा पर्यटक ठगिएका गुनासा आएकाले ठगी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता जनाए ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले दुर्गम गाउँका उपभोक्ता बढी मात्रामा ठगिने गरेकाले गाउँ तहसम्म उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

जिल्ला प्रशासन कास्कीबाट सुरु भएको सेवाले निरन्तरता पाउनुको साथै यसको प्रभावकारिता गाउँगाउँसम्म पुग्नुपर्नेमा उनको जोड थियो ।

उपभोक्ता हित संरक्षण मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हित संरक्षण ऐन प्रभावकारी बन्न नसक्दा र अनुगमन प्रणाली प्रभवकारी नहुँदा बजारमा गुणस्तरहीन वस्तु र मूल्य नियन्त्रण हुन नसकेको धारणा राखे ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले संविधानले मौलिक हकका रुपमा राखेको उपभोक्ताको अधिकारको संरक्षणका लागि क्युआर कोडको व्यवस्था गरिएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अब पर्यटक नठगिने र ठगिएमा सहजै गुनासो गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले प्रविधिको प्रयोगबाट नागरिकका गुनासालाई सम्बोधन गर्नु राज्यको सबैभन्दा ठूलो दायित्व रहेको भन्दै यस्तो राम्रो कामका लागि आफू र आफ्नो संगठनको सहयोग रहने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले क्युआर कोड कार्यान्वयनको प्रतिवद्धता जनाउँदै नियतवश उजुरी दिनेमाथि पनि कारवाही हुनुपर्ने बताए ।

पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष नवीन बरालले घरबाटै गुनासो गर्न पाउँदा बस्तु वा सेवाको उपभोग गर्ने अधिकार सुनिश्चित हुने विश्वास जनाए ।

जिल्ला प्रशासन कार्यालय कास्कीका कम्प्यूटर अपरेटर अनिल थापाले सजिलोसँग गुनासो राख्न सकिने गरी क्युआर कोड बनाइएको र आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भीष्मराज अर्यालले पनि बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ