arrow

विपद्का सारथि बन्दै वडाध्यक्ष अधिकारी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ जेठ ११ मंगलबार
laxuman 2.jpg

स्याङ्जा । भीरकोट नगरपालिका ७ का ५२ वर्षीय पुरुष कोरोना सङ्क्रमित भए । सङ्क्रमित भएपछि उनलाई होम आइसोलेसनमा राखेर उपचारको प्रबन्ध मिलाइएको थियो । एक्कासि उनमा स्वासप्रस्वासको समस्या देखिएपछि अस्पताल लैजान उनका परिवारले एम्बुलेन्सलाई खबर गरे ।

 नगर भित्र रहेका दुई ओटै एम्बुलेन्स पोखरा गएकाले अस्पताल लैजान सवारी साधन पाएनन् । गाउँमा भएका सवारी साधनले कोभिड देखिएको भन्दै उनलाई अस्पताल लैजान नमानेपछि परिवार झनै पिडावोधमा परे । एम्बुलेन्सको अभावमा बुवालाई बचाउन नसकिने पिडामा रहेका उनीहरूले आफ्नै वडा अध्यक्षलाई फोन गरेर सवारी साधन मिलाई दिन आग्रह गरे । 

उनले पनि कतैबाट सवारी साधनको जोहो मिलान नसकेपछि आफ्नै समकक्षी वडा अध्यक्षलाई फोन गरेर सहयोग गरिदिन आग्रह गरे । उनी थिए भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) । तत्कालीन अवस्थामा स्याङ्जामा अक्सिजन सहितको आइसोलेसन कक्ष थिएन । अधिकारीले उनलाई आफ्नो गाडीमा राखेर पोखरा मणिपाल हस्पिटलमा पुर्‍याए । उनको उपचार भयो अहिले उनी कोरोना जितेर घर फर्के ।

वडा अध्यक्ष अधिकारीले बुवाको ज्यान बचाइदिएको भन्दै परिवार खुसी छन् । अधिकारी पनि यो महा विपद्मा सहयोग गर्न पाएर नागरिकको ज्यान बचाउनबाट जोगिएको प्रति पनि खुसी छन् । जिल्लाका कोरोना सङ्क्रमणको भयावह नहुँदै उनले गरेको यो सफलताबाट उनमा यो विपत्तिमा जनताको सेवा गर्नुपर्छ भन्ने भाव जागेपछि अहिले उनी भीरकोट र वालिङ नगरपालिकाका विपत्तिमा परेका जनताको सारथि बनेका छन् । 

अर्का ६५ वर्षीय पुरुषको पनि उस्तै समस्या आयो । उनलाई पनि अधिकारीले आफ्नै सवारी साधनमा अस्पताल पुर्‍याए उनको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । यी दुई पात्र मात्रै होइनन् भीरकोट नगरपालिका भित्रका नागरिकका विपद्का सारथिका रूपमा अधिकारी अहिले कहलिएका छन् । सामाजिक सञ्जालमा अहिले उनको बखान गरेको देख्न पाइन्छ ।
 

भीरकोट नगरपालिकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि अधिकारीले सबै भन्दा पहिला आफ्नो वडामा सङ्क्रमण न्यूनीकरण गर्ने अभियान देखि समस्यामा परेका नागरिकको उद्धारका लागि टोल समिति नै खटाउने गरी निर्माण गरेका थिए । जसले भीरकोट ५ मा जे समस्या आइलाग्छ छलफलबाट समाधान खोजिने र तुरुनै निराकरण गर्ने गरिएको अधिकारीले बताए । 

नगरभित्र अधिकारीले भीरकोट जेसिज सँग समन्वय गरी विपद्का लागि दर्जनौँ युवा तयार गरेका छन् । युवाको नामै कोरोना सङ्क्रमण फाइटर नामकरणले चिनिएका छन् । बिरामीलाई अस्पताल लैजाने देखि होम आइसोलेसनमा बसेर उपचार गरिरहेका सङ्क्रमितको रेखदेख र औषधी पुर्‍याउने सेवामा २४ सै घण्टा अधिकारी लगायतको टोली अहिले पनि तल्लीन रहेका छन् । 

सङ्क्रमणबाट निधन भएका व्यक्तिको दाहसंस्कारमा समस्या आएमा पनि यो टोलीले व्यवस्थापन गर्ने गरी तयारी अवस्थामा रहेको अधिकारीले बताए । एम्बुलेन्स समयमै नपाएर ज्यान गएका खबरहरू बाट प्रताडित बनेका बेला वडा अध्यक्ष अधिकारी आफ्नो वडामा कुनै नागरिकले सवारी साधन नपाएर ज्यान गुमाउन नपरोस् भन्ने भूमिका खेलेका छन् । ९७ वडा रहेको जिल्लामा आफ्नो साम, दाम र श्रम खर्च गरेर जनताका लागि खटेका वडा अध्यक्ष पहिलो कहलिएका छन् । 

यो माहासंकटका बेला अक्सिजन नपाएर र सवारी साधनको जोहो गर्न नसकेर ज्यान जाने खतराबाट उनले जोगाएको सामाजिक अगुवा तोयनाथ अर्यालले बताए । उनले भने, जनप्रतिनिधि यस्तो हुनुपर्छ विपद्मा नागरिकको सहयोगी । जनप्रतिनिधिले सङ्कटका बेला सामाजिक दायित्वको भूमिका निर्वाह गर्नु पर्छ यो स्वास्थ्य क्षेत्रको महासङ्कटमा उनले भूमिका खेले अर्यालले भने । 
 
अहिले सम्म ५६ जना कोभिडका बिरामीको उनले उद्धार गरेका छन् । आफ्नो वडामा अहिले सम्म २६ जनामा सङ्क्रमण देखिएको र सबैको होम आइसोलेसनमा राखेर उपचार गरिरहेको अधिकारीले बताए । अधिकारीले बेला बेलामा एन्टिजिन मार्फत आफ्नो स्वास्थ्य अवस्था चेक गरेको बताएका छन् । अहिले सम्म उनको कोरोना नेगेटिभको नतिजा आइरहेको भीरकोट स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु अर्यालले बताए । 

स्याङ्जामा अन्य वडा अध्यक्षले विपद्मा काम गरेको भए पनि अधिकारीको जस्तो खटनपटन भने उत्कृष्ट देखिएको छ । वडा अध्यक्ष अधिकारीले जस्तै देशभरका जनप्रतिनिधिले काम गर्ने हो भने जनताले जनप्रतिनिधिको अनुभूति पाउने थिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ