arrow

काठमाडौंका सिडिओ भन्छन्- 'सङ्क्रमण कम गर्न कडा गरिएको हो, कोही भोकै बस्नु परे राहत दिन्छौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
CDO-Office-KTM.jpg

काठमाडौं । उपत्यकामा जेठ १४ गतेदेखि जेठ २० गतेसम्मका लागि थप कडाइका साथ निषेधाज्ञा जारी गरिएको छ ।१४ गतेदेखि खाद्यान्नका पसलहरू पनि बन्द गरिने भएको हो । यद्यपि, माछा, मासु, दुग्ध र तरकारीजन्य पसलहरू भने खुला नै रहने भएका छन् ।

एकातर्फ, सरकारको यो निर्णयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ । दैनिक काम गरेर बिहान बेलुकाका लागि मात्रै किन्न सक्नेले एक हप्ताका लागि कसरी रासन किनेर राख्न सक्छ ? भन्ने प्रश्नहरु सहित सामाजिक सञ्जालमा यो निर्णयको आलोचना भइरहेको छ ।

अर्कोतर्फ, आज र भोलि (१३ र १४ गते) खाद्यान्नको पसलमा भिड हुने र दुग्धजन्य पसलहरू दुई घण्टा मात्रै खुला गर्न दिँदा यसले भिड गराएर झन् संक्रमण बढाउन सक्ने भन्दै टिप्पणी भइरहेका छन् । 

के भन्छन् सिडिओ ?

खाद्यान्नको पसल समेत बन्द गर्ने निर्णयको आलोचना भइरहेको छ भनेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँग कुरा गर्दा उनले यो गलत अर्थमा लिन हुने कदम चाहिँ नभएको बताएका छन् ।

सङ्क्रमण नियन्त्रणकै लागि यस्तो पहल चालिएको उनले बताए । एक हप्ताका लागि दाल र चामल धेरै जसोसँग रहेकै हुने उनको भनाइ छ ।

'तरकारी, माछा मासु, दुग्ध जन्य पसलहरू खुलै छन्, दाल, चामल, नुनतेल त एक हप्ताको लागि लगभग सबैसँग हुन्छ नै भन्ने किसिमले यस्तो निर्णय गरिएको हो,' उनले भने । 

एक दिनका लागि मात्रै खरिद गर्न सक्नेहरूको हकमा चाहिँ समस्या हुन सक्ने कुरामा बोल्दै उनले भने, 'अब, दिनमा काम गरेर बेलुकाका लागि मात्रै किन्न सक्नेहरूको विषयमा, एक हप्ताका लागि दाल, चामल किन्न सकिने अवस्था भएन, भोकै बस्नु पर्ने अवस्था आयो भने त्यस्तो विषम परिस्थितिमा उनीहरूले स्थानीय वडाबाट राहत पाउने छन्,' उनले भने ।

स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढिरहेका बेला नियन्त्रणका लागि १५ दिन नै कडा गर्न निर्देशन दिए पनि आफूहरूले सबैकुराहरुलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको सिडिओ पराजुलीले बताए । 'एक हप्ता त हो, त्यसपछि खुली हाल्छ भन्ने किसिमले निर्णय गरिएको हो, विरोध र आलोचना नै गर्नुपर्ने अवस्था देख्दिन' उनले भने ।

कोभिड१९ को सङ्क्रमण न्यूनीकरणका लागि कतिपयले पोहोरको जस्तै कडाइ हुनु परेको भन्दै माग गरेको र अर्का पक्षले अलि बढी कडाइ हुने बित्तिकै आलोचना गर्ने गरेको सरकारी अधिकारीहरूको भनाइ छ ।

यस्तोमा सरकार र सर्वसाधारण दुवै आआफ्नो पक्षबाट सकारात्मक भूमिका निभाएमा मात्रै कोभिड१९ नियन्त्रणमा आउने देखिन्छ । त्यस कारण सबैले सुरक्षा र सावधानी अपनाउन जरुरी छ ।

के भन्छन् सरुवा रोग विशेषज्ञ ?

यस विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले दुवै पक्षले सजग हुनु पर्ने बताएका छन् ।

सङ्क्रमण न्यूनीकरण गर्नका लागि सरकारी पक्षबाट भएको पहललाई सर्वसाधारणले पनि ध्यान दिएमा मात्रै सङ्क्रमण रोकिने उनको भनाइ छ ।

पसलमा सामानहरू खरिद गर्दा मास्क लगाएर, दुरी कायम गरेमा मात्रै सङ्क्रमणबाट बच्न सकिने उनको भनाइ छ ।लापरबाही भएको खण्डमा भने सरकारको निर्णयले थप सङ्क्रमण बढाउने उनले बताए ।

यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासनीले सरकारी निर्णय अस्पष्ट भएको बताएका छन् ।

सडक गल्लीका खाद्यान्न पसलबाट सामान खरिद गर्दा दुरी कायम रहने र हावा चलिरहने भएका कारण सङ्क्रमण जोखिम कम नै रहने उनको भनाइ छ । यद्यपि, स्टोरहरूभित्र मानिस प्रवेश गर्ने हुँदा त्यहाँ भने जोखिम हुने उनले बताए ।

पसलहरू बन्द गराएर मात्रै कोरोना सङ्क्रमण कम नहुने यसले उल्टै सङ्क्रमण बढाउन सक्ने उनको भनाइ छ । 'कि त स्वास्थ्य मन्त्रालयले खाद्यान्न पसलबाट अत्यधिक सङ्क्रमण भइरहेको स्पष्ट पार्नु पर्‍यो ? कि ठाउँ, ठाउँमा स्वास्थ्य कर्मी परिचालन गरेर परीक्षण गराउनुपर्‍योपसल बन्द गर्दैमा सङ्क्रमण रोकिँदैन,' उनले भने ।

माछा मासु, तरकारी र दुग्धजन्य पसलहरू २ घण्टाका लागि मात्रै खुला गर्दा यो समयमा बढी भीड हुने हुँदा सावधानी नअपनाइएको खण्डमा सङ्क्रमण झनै बढ्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ