arrow

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनः चार मन्त्रीले मतदान गर्न नपाउने

मतदाताको अन्तिम नामावलीमा उम्मेदवारको पनि छैन नाम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
election-commission1-1618997712.jpg

काठमाडौं । १७ जेठमा हुने लुम्बिनी प्रदेशतर्फको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा सो प्रदेशका वहालवाला चार जना मन्त्रीले मतदान गर्न नपाउने भएका छन् ।

जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य बनेका र पार्टीले कारवाही गरेका लुम्बिनी प्रदेशका मन्त्री सन्तोषकुमार पाण्डे, कल्पना पान्डे, विजय यादव, र सुमन शर्मा रायमाझीले मतदान दिन नपाउने भएका हुन् । उनीहरुलाई पार्टीले कारवाही गरेपछि प्रदेश सभाले उनीहरुको नाम मतदाताको अन्तिम नामावलीमा समावेश गरेको छैन ।

तर, उनीहरुलाई कारवाही नगर्न सर्वोच्च अदालतले आदेश भने दिइसकेको छ । सर्वोच्चको आदेशको पत्र प्रदेश सभाले निर्वाचन आयोगलाई नपठाएका कारण उनीहरु राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कारवाहीको पत्र प्रदेश सभाले आयोगलाई पठाएको तर सर्वोच्चको आदेशको पत्र पुनः नपठाएकाले आयोगले उपनिर्वाचनको अन्तिम नामावलीमा उनीहरुको नाम समावेश नगरेको जानकारी दिए ।

‘कारवाहीको पत्र प्रदेश सभाले आयोगलाई पठायो, तर सर्वोच्चको आदेशपछिको पत्र प्रदेश सभाले नपठाएकाले उहाँहरुको नाम अन्तिम नामावलीमा समावेश भएको छैन, नाम नै नभएपछि मतदान गर्न पाइदैन,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।

यसैगरी सो प्रदेशमा नेकपा माओवादी केन्द्रले कारवाही गरेका दुईजना र नेकपा एमालेबाट राजीनामा गरेका दुईजना प्रदेश सभा सदस्यले पनि मतदान गर्न पाउने छैनन् । 

सो प्रदेशमा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका  अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना मतदाता छन भने प्रदेश सभासदस्य ८७ छन् । तर कारवाहीमा परेका आठ जनाको नाम मतदाताको अन्तिम नामावलीमा नभएकाले मतदान गर्न पाउने प्रदेश सभा सदस्य ७९ जना हुनेछन् ।

लुम्बिनीमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गरेका थिए भने उनकै स्थान रिक्त भएको हो ।

यसैगरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेको उम्मेदवारी परेको छ । यसअघि उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । तर अहिले भने उनी कांग्रेसमा आबद्ध छन् । उनी केही दिनअघि मात्रै कांग्रेस प्रवेश गरेका हुन् । उनीहरु दुबैले पनि आफैंले आफैंलाई मत हाल्न पाउने छैनन् ।

सो प्रदेशमा मतदानका लागि निर्वाचन आयोगले तीनवटा मतदान केन्द्र तोकिसकेको छ । केन्द्र (क)मा प्रदेशसभा सदस्य, केन्द्र (ख) मा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका  अध्यक्ष, उपाध्यक्ष र केन्द्र (ग) मा कोरोना संक्रमित मतदाताहरुले मतादान गर्ने गरी व्यवस्था मिलाइएको छ ।

कोरोना संक्रमणका कारण प्रत्येक मतदान केन्द्रमा दुई/दुईजना स्वास्थ्यकर्मी तथा ११ जना कर्मचारी खटाउने गरी व्यवस्था मिलाइएको छ । मतदानका लागि ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ ।

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा दाङको देउखुरी जिल्ला अदालतका न्यायाधीस रितेन्द्र थापा र सहायक मतदान अधिकृतमा निर्वाचन कार्यालयका निमित्त प्रमुख नीमराज भट्टराई तोकिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ