arrow

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन : दुवै उम्मेदवारले मतदान गर्न नपाउने

कुन दलको कति छ मत भार ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
national-assembly-nepal.JPG
फाइल तस्बिर

लुम्बिनी। लुम्बिनी प्रदेशतर्फ राष्ट्रिय सभामा रिक्त एक पदका लागि भोलि उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको बताएको छ।

तर, उपनिर्वाचनमा उम्मेदवार बनेका दुई उम्मेदवारले नै आफैँले आफैँलाई मतदान गर्नबाट भने वञ्चित हुनु पर्ने अवस्था आएको छ। दुवै उम्मेदवारमाथि पहिले उनीहरू आबद्ध दलले कारबाही गरेका कारण उनीहरू मतदानबाट भने वञ्चित हुने भएका हुन्।

उपनिर्वाचनमा नेकपा एमालेतर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार बनेका छन् भने नेपाली काँग्रेससहितका विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे उम्मेदवार छन्। खड्काको निर्वाचन चिन्ह सूर्य र पाण्डेको रुख कायम भएको छ।

खड्कालाई एमाले प्रवेश गरेपछि पहिले उनी आबद्ध दल नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो। सोही कारण उनको राष्ट्रिय सभा सदस्य पद गुमेको थियो। हाल उनी नै पहिले सदस्य रहेको रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।

यसै गरी काँग्रेससहितको विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे पहिले एमालेमा आबद्ध थिए। उनलाई पनि काङ्ग्रेससँग निकट भएपछि एमालेले कारबाही गरेको थियो। अहिले उनी काङ्ग्रेसकै चुनाव चिन्ह रुखबाट उपनिर्वाचनमा होमिएका छन्।

लुम्बिनीतर्फको उपनिर्वाचनमा प्रदेश सभातर्फका ७९ जना सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष गरी २१७ मतदाता छन्।

मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीन वटा मतदान केन्द्र बनाइएको छ । सो केन्द्रमा भोलि बिहान ९ बजेबाट ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाउने आयोगको तयारी छ। 
उपनिर्वाचनमा उम्मेदवार बाहेक अन्य ६ जना प्रदेश सभा सदस्यले पनि मतदान गर्न पाउने छैनन् । त्यसमध्ये चार जना प्रदेश सरकारमा मन्त्री छन्। 

८७ सदस्यीय प्रदेशसभाका ७९ जनाले मात्रै मतदान गर्न पाउने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका हुन्। 
अन्य ८ जना मध्ये केहीलाई दलले कारबाही गरेको र केहीले राजीनामा गरेको भन्दै प्रदेश सभाले निर्वाचन आयोगमा पत्र पठाएको र उनीहरूको नाम मतदाताको अन्तिम नामावलीमा समावेश नभएकाले मतदानमा सहभागी हुन नपाउने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिएका हुन्। प्रदेशसभामा एमालेका ३८, काँग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।

पार्टीको निर्णय विपरीत मन्त्री बनेका जसपाका सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई पार्टीले कारबाही गरेपछि उनीहरू पदमुक्त भएका छन्।

यस्तै माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पनि पार्टीको कारबाहीमा परेका छन् । यस्तै अहिले उम्मेदवार बनेका खड्का पनि कारबाहीमा परेका थिए।

एमालेका सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका थिए भने उम्मेदवार पाण्डे स्वयं प्रदेशसभा सदस्यबाट राजीनामा दिएर काँग्रेसमा प्रवेश गरेका हुन्। पाण्डेलाई माओवादी केन्द्र,जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

स्थानीय तहतर्फका २१७ मध्ये एमालेका ९४, काँग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राष्ट्रिय जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन्। तर एमाले विभाजित अवस्थामा छ।

गठबन्धनतर्फ प्रदेश सभातर्फ काँग्रेसको ९ सय १२, माओवादी केन्द्रको ९ सय १२, जसपा उपेन्द्र यादव समूहको ९६ र राष्ट्रिय जनमोर्चाका ४८ गरी एक हजार ९६८ मत भार छ। त्यस्तै स्थानीय तहमा पनि गठबन्धनको एक हजार ९९८ गरी जम्मा ३ हजार ९ सय ८४ मत देखिन्छ। यो मत जितका लागि सहज हो।
यसै गरी प्रदेशमा एमालेको १ हजार ८ सय २४ मत भार छ।

जसपाको ठाकुर पक्षका चार जना मन्त्री भए पनि उनीहरूले मतदान गर्न पाउने छैनन्। त्यस्तै स्थानीय तहमा एमालेका ९४ प्रमुख र उपप्रमुख छन्। तिनको मत भार १ हजार ६ सय ९२ हुन्छ। यसमा माधव नेपाल पक्षमा करिब ६ सय मत भार बराबर जनप्रतिनिधि छन्। उनीहरूको मत कता जान्छ भन्ने प्रस्ट छैन। तर बागमती जस्तै मत क्रस हुने सम्भावना छ।

स्थानीय तहमा ६ जना ठाकुर पक्षका रहेको बताइन्छ। यस्तै राप्रपाका २, स्वतन्त्रका ४ र नयाँ शक्तिका एक जना जनप्रतिनिधि छन्। एमाले उम्मेदवार खड्काका पक्षमा एमाले र जसपाको ठाकुर पक्षको गरी ३ हजार ६ सय ६० मत हुन आउँछ। राप्रपा र स्वतन्त्रको मत जोड्दा पनि एमाले उम्मेदवारलाई बहुमत पुग्दैन। तर ती मत कता जान्छ भन्न सकिन्न।

निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मत भार १८ गणना हुन्छ। प्रदेशका ७९ प्रदेशसभा सदस्यको तीन हजार ७९२ र स्थानीय तहका २१७ जनप्रतिनिधिको ३ हजार ९ सय ६ गरी जम्मा ७ हजार ६९८ मत छ।



नयाँ