arrow

उपचार गराउँदा पैसा सकिएपछि अस्पतालबाट निकालियो एक महिना नपुगेको बालक

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
manipal-teaching-hospital.jpg

पोखरा । पैसा बिना सर्वसाधारण नागरिकको उपचार सम्भव छैन भन्ने ज्वलन्त उदाहरण पोखराको मणिपाल शिक्षण अस्पतालमा भएको छ । एक सातादेखि अस्पतालमै उपचाररत बिरामी बालकलाई पैसा सकिएपछि निकालिदिएको छ । 

रोल्पाकी कामना बुढामगर बैशाख २३ गते मणिपाल शिक्षण अस्पतालमा नै सुत्केरी भइन् । उनले छोरा जन्माइन् । आमा र बच्चाको स्वास्थ्य राम्रो थियो । एक सातापछि उनीहरु घर फर्किए । घर अर्थात् पोखरा ११ फूलवारीस्थित कोठामा गएर बस्दै गर्दा बच्चालाई जण्डिस र न्यूमोनिया भयो । सात दिनपछि उनीहरु पुनः मणिपालमा पुगे । 

बच्चालाई सात दिनदेखि मणिपालमै राखेर उपचार जारी थियो । यस क्रममा बच्चा, बच्चाकी आमा कामना र बाबु जानबहादुर बुढामगरमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि कामना र जानबहादुरको दम्पती छाँगाबाट खसेजस्तै भए । मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरुसँग भएको सबै रकम बच्चाको उपचारमा सकिएको थियो । थप उपचार गर्न सक्ने अवस्था नै थिएन, त्यसैमाथि कोरोना संक्रमण । जानबहादुरले लकडाउन शुरु भएसँगै काम गर्न पाएका थिएनन् ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले ९० हजार रुपैयाँ डिपोजिट गर्न र दैनिक २५ हजार रुपैयाँ लाग्ने भएकाले त्यही अनुसार रकम जोहो गर्न जानबहादुरलाई भन्यो । साथमा खाना खर्च पनि व्यवस्था गर्न भनिएको थियो । जानबहादुर रन्थनिंदै पैसा नभएको जानकारी अस्पताललाई गराए । अस्पतालले त्यसो भए अन्यत्रै जान भन्यो । जानबहादुरलाई अर्को तनाव । 

त्यसपछि उनले नजिकका केही व्यक्तिलाई फोन सम्पर्क गरे । त्यसपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बेड मिल्यो । उनीहरु तीन जना नै बिहीबार अपरान्ह ४ बजे अस्पताल पुगेर भर्ना भए । पक्षे अस्पतालमा उपचारका लागि सबै उपचार निःशुल्क हुने भन्ने उनले जानकारी पाए । त्यसपछि बल्ल उनले लामो स्वास फेरे ।

यस विषयमा मणिपाल शिक्षण अस्पतालसंग सम्पर्क गर्दा सोधपुछले केही जानकारी नभएको बतायो । अस्पतालका प्रमुख सम्पर्कमा आउन चाहेनन् । 

उपचार पूरै निःशुल्क हुन्छ – पक्षे अस्पताल
पश्चिमाञ्चल क्षेत्रीय –पक्षे) अस्पतालले कोरोना संक्रमितको सबै उपचार निःशुल्क हुने जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशन डा. भरत खत्रीले अस्पतालको श्रोत र साधनले भ्याएसम्म उपचार निःशुल्क हुने बताए । 

मणिपालबाट बच्चासहित तीन जना संक्रमित आएको भन्ने जानकारी आफूले पाएको भन्दै उनले उनीहरुको उपचारमा केही कमी हुन नदिने स्पष्ट पारे । उनले भने, ‘यीमात्रै होइनन्, अस्पतालमा आउने सबै संक्रमित र बिरामीले उपचार पाउँछन् ।’ अस्पतालमा अक्सिजनको कमि थियो, त्यो पनि अहिले पूरा भएको उनले बताए ।
 
उनका अनुसार अस्पतालमा एनआइसियु तीन बेड र एनसियू आइसोलेशन तीन बेड कोरोना संक्रमित बच्चाहरुका लागि छुट्याएको छ । हाल एनआईसीयू र एनसीयूु आइसोलेसनमा एक–एक बच्चाको उपचार भइरहेको उनले बताए । कोरोना संक्रमित बच्चाका २० बेड तयार भइसकेको र आवश्यकता अनुसार थप गर्दै जाने निर्देशक डा. खत्रीले बताए । 

नेविसंघ नेता ढकालको पहलमा सहयोग
नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालको पलहमा जानबहादुरलाई आर्थिक सहयोग गरिएको छ । सहयोग रकम ३० हजार रुपैयाँ छ । नेता ढकालले उक्त रकम अस्पतालमै पुगेर जानबहादुरलाई हस्तान्तरण गरे । 

उक्त रकम पोखरा ११ निवासी नेपाली कांग्रेसकी क्रियाशील सदस्य टीकाकुमारी गुरुङले २० हजार र पोखरा ८ बगालेटोल निवासी युवा व्यवसायी विश्वराज श्रेष्ठले १० हजार रुपैयाँ सहयोग गरेको नेता ढकालले बताए ।  

उक्त अवसरमा नेता ढकालले मणिपालमा यस्ता घटना हुनु नौलो नभए पनि २१ दिनको बालक उपचारबाट बञ्चित हुनु विडम्वना भएको बताए । उनले यो विषयलाई नेविसंघले गम्भीरतापूर्वक लिने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने चेतावनी दिए । 

उनले भने, ‘मणिपालमा कोभिड उपचार निःशुल्क भनेर सरकारले घोाषणा गरेको छ । सरकारको निर्देशन नै नमान्ने अस्पताललाई कार्वाहीको दायरामा ल्याउनुपर्छ ।’

अस्पताललाई सचेत गराउँछौं – प्रजिअ गौतम
यस विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अस्पताललाई सचेत गराउने प्रतिवद्धता जनाएका छन् । यस्ता गुनासा धेरै आएको भन्दै उनले यस अस्पताल प्रशासनसंग छलफल गर्ने स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ