arrow

रणनीतिक महत्त्व बोकेको दार्चुला-तिंकर सडकको काम कहाँ पुग्यो ?

महाकाली नदी किनारै किनार भएर तिंकरसम्म सडकलाई पुर्‍याउने प्रयास

logo
नरेन्द्रसिंह कार्की,
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
tinker-road.jpg

दार्चुला । दार्चुला-तिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ । व्याँस गाउँपालिका-२ को कोठेधारदेखि नेपाल-चीन सीमा स्तम्भसम्मको डिपिआरका लागि सर्वेक्षणको काम सकिएको हो । नेपाली सेनाले प्यारागन ग्रिड नेपाल जेभी नामक परामर्शदातामार्फत डिपिआर निर्माण गर्न लागेको हो । परामर्शदाता कम्पनीले ३५ दिन लगाएर कोठेधारबाट तिंकर भञ्ज्याङसम्मको स्थलगत सर्भेक्षण, अवलोकनको तथा सर्भेक्षणको काम सकिएको परामर्शदाता कम्पनीका इञ्जीनियर सुशील देवकोटाले जानकारी दिए ।

“व्याँसको कोठेधारबाट छाङ्गरुसम्म भारतको जस्तै महाकाली नदी किनारैकिनार भएर सर्भेक्षण गरिएको छ”, देवकोटाले भने, “कहीँ भारतको भन्दा थोरै माथि होला । सर्भेक्षणका क्रममा सडकलाई महाकाली नदी किनारैकिनार भएर तिंकरसम्म पुर्‍याउने प्रयास गरिएको छ ।” सर्भेक्षणको क्रममा १८ जनाको टोली सहभागी थियो । भौगोलिकरूपमा विकट र पहाड तथा जङ्गलको बाटोमा सामग्री ढुवानीमा समस्या हुँदा सर्भेक्षणको काममा बढी समय लागेको इञ्जीनियर देवकोटाको भनाइ छ । “चालु आर्थिक वर्षमा डिपिआर निर्माण गरेर नेपाली सेनालाई बुझाउँछौँ”, उनले भने, “फिल्ड प्रतिवेदन सकिएकाले अबको दुई महिनाभित्र डिपिआर निर्माण सकिन्छ ।”

सरकारले दु्रतगतिमा रणनीतिक महत्व बोकेको दार्चुला-तिंकर सडकलाई सेनामार्फत काम गराउने निर्णयपछि सेनाले अहिले व्याँस गाउँपालिकाको सुनसेरा र दुम्लिङमा निर्माण कार्यदलको क्याम्प राखेको छ । “सुनसेरामा क्याम्प निर्माण सकिएको छ”, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले भने, “दुम्लिङमा क्याम्प निर्माणको काम अन्तिम चरण पुगेको छ ।” डिपिआर प्राप्त भएपछि आगामी आवबाट यो सडकको निर्माण शुरु हुने पौडेलले बताए । “हामीले जिम्मेवारी लिइसकेपछि समयमै निर्माण सक्ने गरी काम गर्छौँ । सोहीअनुसार अहिले क्याम्प राख्ने काम भइरहेको छ”, उनले भने ।

आगामी आवबाट निर्माणको काम शुरु गर्ने गरी सेनाले आवश्यक जनशक्ति फिल्डमा खटाएको छ ।  आव २०६४-६५ बाट निर्माण शुरु भएको दार्चुला-तिंकर सडकखण्डको ४३ किलोमिटर सडकखण्डमात्रै अहिलेसम्म ट्र्याक खुलाइएको छ । अहिले सदरमुकाम खलङ्गाबाट व्यास गाउँपालिका-३ सम्म सडकको ट्र्याक खुलाउने काम भएको छ । महाकाली लोकमार्गअन्तर्गत साविकको दार्चुला-तिंकर सडकखण्डअन्तर्गत चार किलोमिटर सडक लोकमार्गअन्तर्गत निर्माण हुनेछ ।

सरकारले महाकाली लोकमार्गका लागि आगामी आवका लागि रु एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये महाकाली लोकमार्ग, दार्चुला-तिंकर सडक योजनाले चलाउने बजेट र सेनामार्फत सञ्चालन गरिने सडक योजनाको बजेट के-कति हो भन्ने छुट्याइएको छैन । “अहिलेसम्म हामीलाई बजेट कति आउने हो भन्ने यकिन भएको छैन”, नेपाली सेनाका प्रवक्ता पौडेलले भने, “बजेट सिलिङ प्राप्त भएको छैन । यस आर्थिक वर्षभित्र हामीले डिपिआर निर्माण गर्ने लक्ष्य हो ।”

महाकाली लोकमार्ग महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्म निर्माण भइरहेको छ । यस सडकखण्डको कुल लम्बाइ ४२५ किलोमिटर छ । जसअनुसार महाकाली करिडोर खण्ड २९१ किलोमिटरअन्तर्गत पर्दछ भने दार्चुला-तिंकर सडकखण्डअन्तर्गत १३४ किलोमिटर दूरी पर्दछ । दार्चुला-तिंकर सडकखण्डमध्ये ४७ किलोमिटर सडकखण्ड महाकाली लोकमार्गले निर्माण गर्नेछ ।

अहिले लोकमार्गअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न सडक खण्डमा काम भइरहेको छ । महाकाली लोकमार्ग दार्चुला-तिंकर सडक योजना प्रमुख अच्युतविलास पन्तले बताए । कोभिडका कारण चालु आवमा निर्माणकार्यले गति लिनसकेको छैन । व्याँसको तिंकरसम्म सडक पुर्‍याउन सक्यो भने यस सडकले रणनीतिक महत्व राख्दछ । सडक निर्माण गर्न सक्यौँ भने चीनसँगको सीधा व्यापार, भारतसँग व्यापार गर्न सहज हुने उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताए ।

उनले भने, “यो सडक सडक मात्रै हुने छैन, सुदूरपश्चिमकै व्यापारिक नाका हुनेछ । धार्मिक दृष्टिकोणले पनि यस सडकको महत्व छ । यो सडक भएर भारतले अतिक्रमण गरेको नेपालको ओमपर्वत, कैलाश मानसरोवर दर्शन गर्न सहज हुनेछ । भारतले महाकाली नदी किनारैकिनार भएर लिपलुेक हुँदै मानसरोवर सडकखण्ड बनाएको छ । अहिले भारतले सडकमा कालोपत्रदेखि दुई लेन सडक निर्माणको काम अघि बढाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ