arrow

एमाले विवाद

ओलीसँगको टेलिफोन संवादपछि खनालको वक्तव्य, नेपाल थप दबाबमा

मझौले नेताहरू एमाले एकताको सूत्र खोज्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार २ बुधबार
Oli-Khanal-Nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ दलको आन्तरिक विवाद मिलाउन एमालेका दोस्रो तहका नेताहरूले मङ्गलवार र बुधवार प्रयास गरेका छन्। मङ्गलवार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ। छलफलमा २०७५ जेठ २ गतेलाई कुनै पनि हालतमा फर्काउनु पर्ने सर्त माधव नेपाल पक्षले राखेको र ओली पक्षका नेताहरूले ओलीले जारी गरेको पछिल्लो वक्तव्यलाई पुनर्व्याख्या गरेर जानुपर्ने बताएका थिए।

मङ्गलवार दुवै पक्षबीच कुराकानी नमिलेका कारण बुधवार बस्ने भनिएको स्थायी कमिटीको बैठक बस्न सकेन । ‘मङ्गलवार ओली पक्षबाट आएको प्रस्तावमा सहमति नभएका कारण असार २ गतेको स्थायी कमिटी बैठक बस्न सकेन’, स्रोतले भन्यो । बुधवार देशभर बाढी पहिरोबाट जनधनको क्षति भएको अवस्थामा उनीहरूको बैठक बस्न सकेन । तर टेलिफोनमा भने सबै जनाले कुराकानी गरेका थिए । केही दिनभित्रै उपप्रधानमन्त्री पौडेलले प्रस्ताव ल्याउने र त्यो विषयमा छलफल गरेर सहमति गरी संयुक्त रूपमै स्थायी कमिटी बैठक बोलाउने तयारी भएको छ । एक साताभित्रै यो विषयमा टुङ्गोमा पुग्ने तयारी भएको स्रोतको दाबी छ । 

सर्वोच्च अदालतबाट आउने फैसलाकै आधारमा पार्टीलाई त्यही अनुसार अघि बढ्ने सर्त पनि अघि सारिएको छ । अदालतले संसद् पुर्न स्थापना गरे ओलीलाई बाकी समय प्रधानमन्त्री मान्ने र सङ्गठनमा नेपाल समूहले राखेको सर्त लागु हुने गरी आन्तरिक विवाद मिलाउने प्रयास जारी रहेको छ । 

नेपाल पक्षले कुनै पनि हालतमा सर्वोच्च अदालतमा हालेको रिट फिर्ता नगर्ने र त्यहाँ गरिएको हस्ताक्षर फिर्ता नगर्ने जनाएपछि ओली पक्ष अप्ठेरोमा परेको छ । ‘अदालतमा दायर भएको रिटमा भएको हस्ताक्षर फिर्ता हुँदैन २०७५ जेठ २ गतेको अवस्थामा कुनै पनि हालतमा फिर्ता गर्नेछौ’, नेता घनश्याम भुसालले भने। पार्टीभित्र आन्तरिक सङ्घर्ष गर्ने तर रोजाई दोस्रो पार्टी बनाउने होइन । अक्षरशः जेठ २ गतेको विकल्प नभएको उनको भनाई छ । बुधवार मात्रै  भुसालले एक जुम बैठकमा जेठ २ को सर्त फिर्ता भए पार्टी मिल्न सक्ने बताएका थिए । जेठ २ मा पुगेपछि पार्टी मिल्ने उनको दाबी छ । 

मङ्गलवार र बुधवार मात्रै  भुसालसहितका नेताहरूले कुनै पनि हालतमा जेठ २ गतेकै अवस्थामा ल्याउनु पर्ने बताएका थिए । नेपाल पक्षका भुसालसहित पाण्डे, विष्ट, भट्टराईले पार्टी एकताकै पक्षमा विष्णु पौडेल र ज्ञवालीसँग कुराकानी गरेका थिए । उनीहरूले बालुवाटारबाट स्पष्ट धारणा नआएसम्म स्थायी कमिटीको बैठकमा सहभागी नहुने र पुरै धारणा सार्वजनिक नभएसम्म एकता पनि असम्भव भएको बताएका थिए । उनीहरूले चाडै स्पष्ट धारणा राख्नुपर्ने बताएका थिए । 

यो विषयमा माधव नेपाल पनि दबाबमा रहेका छन् । नेपाल समूहका केही नेताहरू बाहेक प्रभावशाली नेताहरूले जेठ २लाई नै आधार मानेर एमालेमा समाहित भएपछि नेपाल दबाबमा रहेका हुन् । नेपाल समूह भित्रै झलनाथ खनाल समूहका नेताहरूले आन्तरिक विवाद मिलाउन लागेको र नेपाललाई दबाबमा राखेका बेला पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू उपचारमा जानुअघि एमालेको विवाद समाधान गर्न  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेपछि नेपाल थप दबाबमा परेका हुन् । भारतको नयाँदिल्ली स्थित एपोलो अस्पतालमा उपचारका लागि जान लागेको बेला प्रधानमन्त्री ओलीले खनाललाई टेलिफोनबाट स्वास्थ्य लाभको कामना गरेको बेला खनालले ओलीलाई सो आग्रह गरेका थिए ।
 
खनाल बुधवार नै नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भैसकेका छन् । खनाल दिल्ली जानु अघि प्रधानमन्त्री ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताएका बेला खनालले यस्तो धारणा राखेका थिए । आफूलाई एकीकृत एमाले चाहिएको भन्दै खनालले ओलीलाई सबै कुरा बिर्सेर पार्टी मिलाइदिन आग्रह गरेका थिए । ओलीले पार्टी मिलाउन आफू अधिकतम लचिलो भएको भन्दै पार्टी मिलाउने आश्वासन दिएका छन् । त्यस क्रममा नेता खनालले बुधवार नै आफू उपचारको क्रममा नयाँ दिल्ली जान लागेको बताउँदै एक विज्ञप्ति प्रकाशित गरेर पार्टी एकताको पक्षमा पहल गर्न सबैलाई आग्रह गरेका थिए । 

‘देशको बिथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरू विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पर्‍यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ । राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाको रूपमा रहेका दलहरूभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरू र तिनका नेताहरू विचको अनावश्यक टकराब, महत्त्वाकाङ्क्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामी सबै एकजुट भएर मुलुकका मूलभूत समस्याहरू हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै उनले नेकपा (एमाले) सयौँ सहिदहरूको बलिदान, हजारौँ योद्धाहरूको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको सङ्घर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दुसम्म आइपुगेको जनाउँदै  सो त्यागले एमाले देशको नेतृत्वदायी पार्टी बनोस्, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको समेत बताएका छन्। उनले यो चाहना विपरीत जनताको चाहना र अपेक्षा विपरीत देखिएको अनेकौँ गलत प्रवृत्तिहरू, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर सङ्कट उत्पन्न भएको जनाउँदै  देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको समेत बताएका छन्।

‘एकता सफलताको बाटो हो भने फुट विनाशको । त्यसैले रिस, राग, अहङ्कार र बदला भाव त्यागेर पार्टीका वैधानिक प्रक्रिया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चाहन्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्‍यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौँ । त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौँ भन्ने सबैमा आह्वान गर्न चाहन्छु’, उनले भनेका छन् । 

एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भए पनि कुनै पनि निकास नआएको बेला खनालले सो विज्ञप्ति जारी गर्नुलाई अर्थपूर्ण मानिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ