arrow

७८ साल भित्रै मुगुलाई साक्षर जिल्ला घोषणा गरिने 

logo
युद्धबहादुर मल्ल,
प्रकाशित २०७८ असार २७ आइतबार
mugu-gilla.JPG

मुगु । विकट हिमाली जिल्ला मुगुलाई यसै वर्ष भित्र साक्षर जिल्ला घोषणा गरिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई मुगुको आयोजनामा आइतबार भएको साक्षर नेपाल २०७६ अवधारणा पत्र १ दिने अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाहरूले जिल्लालाई यसै वर्ष भित्र साक्षर जिल्ला घोषणा गर्न प्रतिबद्धता गरेका हुन् ।

सरोकारवालाहरूले साक्षर नेपाल वर्ष २०७६ को अवधारणा पत्रले तोकेको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता गरे पश्चात् यसै वर्ष मुगु  जिल्ला साक्षर जिल्लाको रूपमा घोषित गर्न सकिने सुनिश्चितता बढेको शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सूर्य बहादुर खत्रीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले गत वर्ष नै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने भनिए पनि कोरोना कहरको असरले प्रभाव पारेको बताउँदै उनले यो पटक आफ्नो नगर क्षेत्रहरूमा साक्षर र निरक्षरहरुको यकिन तथ्याङ्क सङ्कलन गर्ने र घर घरमा साक्षर गणन खटाउने र पुस सम्म साक्षर नगर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । नगर भित्रका शिक्षा तथा खेलकुद शाखाले कार्यक्रम र  बजेट सहितको साक्षर नगर घोषणाका आधार सहित पेश गरेमा अन्य क्षेत्रको बजेट घटाएर  पनि साक्षर नगर घोषणामा बजेटको व्यवस्था गर्ने पनि उनले भने । 

जिल्लाका ४ वटा स्थानीय तहमा मध्य छायानाथ रारा नगर क्षेत्रमा साक्षरता ६५ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ यहाँ ३५ प्रतिशत निरक्षरलाई नगरपालिकाले साक्षर बनाउनु पर्नेछ ।

शिक्षकहरूको पेसागत सङ्गठन नेपाल शिक्षक महासङ्घ मुगुका अध्यक्ष जङ्ग बहादुर शाहीले देश सङ्घीयतामा गएपछि देशमा तिन तहका सरकार भएकाले तिनै तहका सरकारहरूको समन्वय,सहकार्य र सह अस्तित्वमा साक्षर नेपाल घोषणा गर्ने क्रियाकलाप सञ्चालन गर्नु पर्ने र माध्यमिक तहसम्मको अधिकार स्थानीय सरकारको भएकाले स्थानीय सरकारहरू आ आफ्ना पालिकाहरूलाई साक्षर घोषणा गर्न र पालिकामा निरक्षर उन्मुलन गर्न अग्रसर हुने पर्ने सुझाव दिए । उनले साक्षर जिल्ला घोषणा गर्न स्थानीय सरकारहरूले आफूहरूलाई दिने जुनसुकै साक्षर जिम्मेवारी वहन गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।


साक्षर जिल्ला घोषणा गर्नमा जिल्लामा क्रियाशील राजनैतिक दलहरू अझ जिम्मेवार हुनु पर्ने पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए । उनले भने राजनैतिक पार्टीहरूले आफ्ना सदस्यहरू अनिवार्य साक्षर हुनुपर्ने,साक्षर काराकर्तालाई मात्र आगामी जुनसुकै निर्वाचनमा उम्मेदवार बनाइछ भन्ने जस्ता प्रावधान राखेमा साक्षरता नेपालको अवधारणामा ठुलै परिवर्तन आउने छ । यस्तै सङ्घ,प्रदेश र स्थानीय सरकारहरूले सञ्चालन गर्ने विकासे उपभोक्ता समितिमा साक्षरलाई मात्र समेटिने गरिनु पर्छ भने साक्षर भएको सङ्केत दिने अक्षर,अङ्क,चित्रहरू सर्वसाधारणले बुझोस् भनेर भिडियो,ध्वनि  र साक्षर बोर्ड मार्फत प्रचार प्रसार गरिनु पर्छ ।

जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर रोकायामा अध्यक्षतामा भएको कार्यक्रममा समन्वय उपप्रमुख कर्णशिला मल्ल,उपप्रमुख सुन्तला रोकाया,प्रजिअ चन्द्र बहादुर शिवाकोटी, चारै  पालिकाका शिक्षा प्रमुख,विद्यालय व्यवस्थापन समिति मध्यबाट महाकाली उमाविका अध्यक्ष लोकेन्द्र बहादुर मल्ल,शिक्षा विज्ञ देवीकृष्ण रावल,प्रअ देव बहादुर मल्ल,गैससबाट किर्डाक नेपाल मुगुका प्रमुख टेक बहादुर शाहीलाई साक्षर मुगु घोषणा गर्न के के कसले के गर्नु पर्ने जस्ता दर्जनौँ सुझाव दिएका थिए ।

शिक्षा स्रोत व्यक्ति खड्क बहादुर  रोकायाले प्रस्तुत गर्नु भएको अवधारणा पत्र अनुसार देशभरका ७७ जिल्लाहरू मध्य ३० जिल्ला साक्षर जिल्ला घोषणा हुन बाकी रहेका छन् । आगामी २ वर्ष भित्रमा नेपाल सरकारले यी ३० जिल्लाहरुलार्ई साक्षर जिल्ला घोषणा गरेर नेपाल देशबाटै निरक्षर उन्मुलन भएको घोषणा गरेर साक्षर नेपाल भनेर विश्वभर नेपाल चिनाउने उद्देश्य लिएको छ ।

राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार मुगु जिल्लामा ६५ प्रतिशत साक्षर छन् भने ३५ प्रतिशत निरक्षर रहेका छन् । पालिकामा रहेका शिक्षा शाखाहरूले दिएको तथ्याङ्क अनुसार हाल छायाँनाथ रारा नगरपालिकामा साक्षर ६५ प्रतिशत,निरक्षर ३५ प्रतिशत सोरु गाउँपालिका साक्षर ८५ प्रतिशत निरक्षर १५ प्रतिशत,खत्याड गाउँपालिकामा साक्षर ९० प्रतिशत निरक्षर १० प्रतिशत र मुगुम कार्मारोङ्क गाउँपालिका भरी १२६५ जना निरक्षर रहेको बताइएको छ । 

जनगणना २०६८ र पालिकाका शिक्षा शाखाहरूले दिएको साक्षर र निरक्षर तथ्याङ्कलाई सरोकारवालाहरूले विश्वासनिय नभएको बताएका छन् । उनीहरूलाई साक्षरताको यकिन र विश्वासनिय तथ्याङ्क ल्याउन जनगणना,कृषि गणना जस्तै साक्षर गणना अभियान सरकारले चलाउनु पर्ने सुझाव दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ