- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एउटा राजाले ठुलो प्रदर्शनी लगाए, जसमा अनेक प्रकारका राम्रा राम्रा चीजहरू सजाएर राखे । अनि प्रत्येक चीजमा यो लेखेर राखे कि प्रदर्शनी हेर्न आउनेहरू जसले जुन चीजलाई छुन्छ, त्यो चीज उसैलाई दिइने छ । मानिसहरू प्रदर्शनी हेर्न आउँथे अनि जसलाई जुन चीज मनपर्यो, त्यो चीजलाई छोए पछि उसलाई मिल्थ्यो । गाउँको एक जना अनपढ किसान पनि त्यो प्रदर्शनी हेर्न गए । उनले प्रदर्शनीमा एक ठाउँ एउटा राम्रो हलो राखेको देखे तर त्यहाँ गोरु थिएन । हेर्दे केही अगाडि जाँदा एक ठाउँ एक हल गोरु बाँधेको देखे, तर त्यहाँ हलो थिएन ।
किसानले सोचे नियम अनुसार हलो छोएर लिएँ भने, गोरु पाउँदिन, गोरुलाई छोएर लिएँ भने, हलो पाउँदिन । गोरु बिनाको हलो र हलो बिनाको गोरु के कामको ? किसानलाई सबै चीज अधुरो लाग्यो । उनले सोचे कुनै चीज लिनभन्दा पहिले पूरा प्रदर्शनी घुमेर हेर्नेछु । प्रदर्शनी हेर्दै बिचमा पुगे। त्यहाँ फूलहरूको बगैँचाको बिचमा राजा बसेका थिए । किसानले राजालाई देखेर प्रणाम गरे ।
किसानको श्रद्धा-भाव देखेर राजा खुशी भए र सोधे,' तिमीले प्रदर्शनीमा कुनै चीजलाई छोएनौँ ?'
किसानले भने, ' महाराज ! मलाई प्रदर्शनीमा सबै चीज अधुरो लाग्यो, यस कारण केवल हेर्ने र घुम्ने इच्छाले यहाँसम्म आएको हुँ ।'तब राजाले भने, 'यहाँ आएर तिमीले मलाई छोयौ, यस कारण यहाँको नियम अनुसार अब म तिम्रो भएँ।'
किसानले भन्छन्, 'महाराज! मैले हजुरलाई आफ्नो बनाउन छोएको होइन, अपितु राजा सम्झेर प्रणाम गरेको है। यदि यहाँको यस्तै नियम छ अनि छोएकाले हजुर मेरो हुनुभयो भने यसमा म के गरूँ।'
प्रदर्शनीको नियम त यही थियो कि एउटै चीज मात्र दिने, यदि राजाले चाहेको भए दुइटा चीज पनि दिन सक्थ्यो । तर जब राजा नै आफ्नो भएपछि त सबै कुरा उसलाई मिल्यो । अरू मानिसहरू प्रदर्शनीमा जान्थे अनि रंगरस र राम्रो चीजहरूको लोभमा पर्थे, उनीहरू राजा बसेको ठाउँसम्म पुग्न सकेनन्, यस कारण उनीहरूले केही पाएनन् । यसरी नै भगवान्ले संसाररूपी प्रदर्शनी लगाउनुभएको छ । यहाँको पनि यही नियम छ कि एक व्यक्तिले एउटै चीज मात्र पाउँछ । एकातिर माया छ अनि अर्कोतिर भगवान् । जसले केवल मायालाई चाहन्छ, उसलाई भगवान् मिल्दैन, तर जसले भगवान्लाई चाहन्छ, उसलाई भगवान् पनि मिल्छ अनि माया पनि मिल्छ ।
भगवान् श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन! कमिलादेखि लिएर हात्तीसम्म हामी, तिमी सबै शरीरधारी पहिले बिना शरीरका थियौँ अनि पछि पनि बिना शरीरको हुनेछौँ। आज जति पनि शरीरहरू देखिइरहेका छन्, यो बिच- बिचमा भास्छन् । तर मनुष्यले नाम, रूप र जातिको झूटो अभिमानले गर्दा सत्य परमात्मालाई भुल्छ । यति पनि विचार गर्दैन कि शरीर हुनुभन्दा पहिले के जाती थियो? के नाम थियो? अनि के स्वरूप थियो ? रङ्ग, रूप, जाति र झुटो सबैले राम्ररी जान्दा नामको कामनामा फसेर अघि-पछिको परिणामलाई बिर्सन्छ । संसारको रचनामा दुई प्रकृतिले काम गर्छन् । एक अपरा प्रकृति जसलाई जड (माया) भनिन्छ । अग्नि, जल, वायु, पृथ्वी, आकाश, मन, बुद्धि र अहङ्कारलाई अपरा प्रकृति भनिन्छ । यसैबाट सबैको शरीर बनेको छ। यसैद्वारा सबैको पालन र संहार हुन्छ ।
दोस्रो परा अर्थात् चेतन शक्ति (प्रकृति) छ । शरीरहरू त साना-ठुला छन्, तर चेतन सबैमा एक समान छ । त्यो जाति, रूप, नाम र गुणहरू रहित छ । सबै जीवहरूले एक न एक दिन एउटा शरीर त्यागेर अर्को शरीर धारण गर्नु छ । कसैको पनि शरीर स्थिर छैन । जाति, रूप, विद्या, गुण या देशलाई यस बदलिरहने गतिबाट बचाउन सकिँदैन । सबैले राम्ररी जान्दछन् कि एक दिन मर्नु छ, शरीर छोड्नु पर्छ, तर पनि मनुष्यले नराम्रो कामहरू र संसारको मोहलाई छोडेर भगवान्को भजन गर्दैन । यसको कारण यो हो कि मर्ने कुराको ज्ञान कहिबेर मात्र रहन्छ । जब मुर्दालाई जलाउन लगिन्छ, तब संसार झूटो र स्वार्थी लाग्दछ, तर मसानघाटबाट फर्कन साथै फेरि संसारको कार्य-व्यवहार सत्य लाग्न थाल्छ । जसलाई मर्ने समय याद रहन्छ अर्थात् जीवन र मृत्युलाई जानेर जड- चेतनको ग्रन्थिलाई खोल्छ, उसको जन्म-मरण मेटिन्छ, उसैलाई ज्ञानी वा महापुरुष भनिन्छ ।
समझदार मानिसले संसारलाई धर्मशाला या बटुवा घर सम्झेर त्यसबाट मनलाई हटाएर भगवान्को चिन्तनमा लगाउँछ । तर जसले संसारका चीजहरू तथा भागहरूलाई सत्य ठानेर मनुष्य जन्म पाउनुको उद्देश्य के हो विचार गर्दैन, त्यस्ताहरूले आयु-पर्यन्त विषय-भोगहरू भोग्ने ताकत नरहँदा पनि मर्ने बेलासम्म लोभ मोह तथा मायाको लालच छोड्न सक्दैन ।