- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सडक, सशस्त्र संघर्ष, सदन र सत्ता मार्फत कम्युनिष्ट आन्दोलनलाई मलजल गर्दै आएका नेपालका कम्युनिष्ट पार्टीहरु यतिबेला छिन्नभिन्नको अवस्थामा छन् । आफूलाई ठूलो कम्युनिष्ट पार्टी दाबी गर्दै आएको नेकपा एमाले यतिबेला चरम गुटवन्दीमा फसेको छ । पछिल्लो समय ‘टिट फर ट्याटुको रणनीति लिंदै दस्ता, फोर्स घोषणा गर्ने प्रतिस्पर्धाले नेपालको कम्युनिष्ट आन्दोलन थप ‘अराजकता’तर्फ उन्मुख भएको हो कि भन्ने आशंकालाई बल पुर्याएको छ ।
वि.स.२००५ सालमा ‘कम्युनिष्ट घोषणापत्र’को अनुवाद गरेर कम्युनिष्ट पार्टी स्थापनाको शुरुवाती गरेका पुष्पलाल श्रेष्ठ, कम्युनिष्ट आन्दोलन स्थापनामा अथक योगदान गरेका पुष्पलालसहित, नरबहादुर कर्माचार्य, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य हुँदै सीपी मैनाली, मदन भण्डारी, सहाना प्रधान, नारायणमान विजुक्छे, मोहनविक्रम सिंह, मोहन बैद्य र पुष्पकमल दाहाल प्रचण्डसम्म आइपुग्दा कम्युनिष्ट आन्दोलन गलत दिशामा अघि बढेको आवाजहरु उठन थालेको छ। विश्व कम्युनिष्ट आन्दोलनमा आएको गिरावटबाट पाठ सिकेर अघि बढ्नुको साटो एकले अर्कोलाई खुइल्याउने र सिद्ध्याउने रणनीतिले आन्दोलन कमजोर हुँदै गएको छ ।
सात दशकको इतिहासमा पटक पटक फुट्दै आएका कम्युनिष्ट पार्टीहरुले पछिल्ला दिनमा युवाहरुलाई पार्टीतर्फ आकर्षित गराउने बहानामा दस्ता खडा गर्ने, परेड खेलाउने र शक्ति प्रदर्शन गर्न प्रेरित गर्ने जस्ता गतिविधि बढ्न थालेका छन् । केही महिना यता नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल दुईतिर विभाजित छ । दुवैतर्फबाट बेग्ला बेग्लै दस्ता खडा गर्ने होडबाजी चलिरहेको छ । जसले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध होइन विभाजित गर्ने र मुठभेड निम्त्याउने जोखिम बढेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले अखिल फोर्स बनायो । नेपाल पक्षकै अगुवाइमा विहीबार ‘पिपुल्स भोलेन्टियर’ को घोषणा गरेको छ । यो सिलसिला यतिमै रोकिएन । ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले केही महिना अघि ‘साइबर सेना’को घोषणा गरिसकेका थिए । ओलीले गरेको राम्रो कामको प्रचार गर्ने योजना अनुरुप यो सेनाको कल्पना गरिएको थियो । सूचना प्रविधि र साइबर कानूनका विज्ञहरुले ‘साइबर सेना’ शब्दावलीमै आपत्ति जनाइरहेका बेला उक्त फोर्स घोषणाको चौतर्फी चर्चासँगै आलोचना समेत भयो ।
बस्नेतले सार्वजनिक मिडियाहरुमा खुलमखुल्ला साइबर सेनालाई लालसेनाको रुपमा चित्रित गरिसकेका छन् । साम्राज्यवादी र पूँजीवादीहरु पहिले बन्दुक बोकेर आउँदा कम्युनिष्टहरुले लालसेना बनाएजस्तै पछि वाईसीएल र युथफोर्स खडा भएको र अहिले साइबर सेनाको परिकल्पना गरिएको उनको दाबी छ । युवा दस्ता खडा गर्नेमा एमाले एक्लो थिएन तर एमाले विभाजनको सम्मुखमा रहेका बेला यस्ता दस्ता जन्माउनुलाई सामान्य रुपमा हेरिएको छैन् । मंगलबार मात्र एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा १५१ सदस्य रहेको ‘आइटी आर्मी’ गठन भएपछि झनै तरंग पैदा भएको छ।
ओली पक्षीय युवा संघ इन्चार्ज महेश बस्नेतले पार्टीबिरुद्ध भएको चौतर्फी घेराबन्दी तोड्न र संगठन परिचालनमा स्वयमसेवक भूमिकाका लागि युथ फोर्स ब्युँताएको दाबी गरेका छन् । त्यस्तै नेपाल पक्षीय युवा संघका अध्यक्ष नरेश शाहीले कम्युनिष्ट आन्दोलनलाई शसक्त बनाउन, नेपालको राजनीतिलाई सही गतिमा अघि बढाउन स्वयंसेवी दस्ताका रुपमा ‘पिपुल्स भोलेन्टियर’ तयार गरिएको दाबी गरे । तर बस्नेत र शाहीले भनेजस्तै युवा दस्ता तयार गरिएको हो या आफूविरुद्ध उत्रिएको खण्डमा भौतिक रुपमै जाइलाग्ने गरी दस्ता तयारी गरिएको हो भन्नेमा धेरैलाई शंका जन्माएको छ । विभिन्न दस्ताका नाममा नेपालको कम्युनिष्ट संगठनहरुलाई हिंसात्मक बनाउने र द्वन्द्ध सिर्जना गराउने अभिप्राय कतै न कतै देखिएको छ ।
हुनत नेपालमा दसवर्षे द्वन्द्वका क्रममा समाजमा बन्दुक र बाहुबली राजनीतिले स्थान जमाएको थियो । आफ्नो सामाजिक प्रभावलाई चर्को बनाउन विभिन्न दल र संगठनले अर्धसैनिक युवा दस्ता गठन गर्ने होडबाजी नै थियो । तत्कालीन अवस्थामा भूमिगत राजनीति गरिरहेको माओवादीले योङ कम्युनिष्ट लिग(वाइसीएल)को परिकल्पना गरिसकेको थियो । २०४८ सालमै टोप बहादुर रायमाझीको नेतृत्वमा वाइसीएल तयार भइसकेको थियो ।
हुनत युद्धकालमा मात्र होइन वि.स.२००६ साल तिर नै नेपाल छात्र संघ पहिलो राजनीतिक युवा संगठनको रुपमा उदाएको बताइएपनि उक्त संगठनको उद्देश्य राणा शासनविरुद्ध मात्र थियो । राजनीतिक मिसन लिएर त्यसपछि क्रमश नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन जस्ता युवा संगठनहरु जन्मिए पनि तिनीहरु राजनीतिक मिसन र पार्टीको अधिनमा रहेर खडा हुने गर्थे । तर नेपालमा १० बर्षे सशस्त्र संर्घष पछि मुलुक शान्ति सम्झौता भइसकेपछि पनि सैन्य शैलीका दस्ताहरु खडा गरिनुलाई लोकतन्त्रलाई कमजोर बनाउने प्रयासको रुपमा विश्लेषण हुने गरेको छ ।
२०६३ मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेपछि माओवादीले वाईसीएललाई पुनः सक्रिय बनाएको थियो। त्यही सिको सिक्दै अन्य राजनीतिक संगठनहरुले शक्ति प्रदर्शनका लागि युवा दस्ता खडा गर्दै लैजाँदा विशेषगरी कम्युनिष्ट सिद्धान्तलाई आत्मसाथ गर्न रुचाउने नेपालका कम्युनिष्ट पार्टीहरु गलत दिशा अघि बढीरहेको आरोप लागेको छ । शान्तिपूर्ण रुपमा संगठन गर्ने अधिकार सबैलाई भएपनि अर्धसैन्य दस्ता खडा गर्दा राजनीतिक कोर्स गलत दिशामा जानसक्नेतर्फ नेतृत्व तहनै सचेत नभएको आम बुझाइ छ ।
राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी युवा दस्ता निर्माणले कम्युनिष्ट आन्दोलनलाई मलजल पुर्याउने नभइ अराजकता निम्त्याउने बताउँछन् । ‘नेताहरुले शक्ति संचय गर्ने, पार्टी हत्याउने र अराजकता निम्त्याई आफ्नो स्वार्थ पूरा गर्न दस्ता परिचालन गर्ने हुनाले यसलाई रोक्नुपर्छ’,डा.केसीले भने,‘नेताहरुको यस्तो हर्कतले शान्तिपूर्ण प्रतिस्पर्धालाई गम्भीर असर पर्छ । यस्तो श्रृंखला भविष्यमा अन्य दलहरुमा यस्तो श्रृंखला भविश्यमा अन्य दलहरुमा पनि देखियो भने अवस्था जटिल बन्नेछ ।’
देशमा गरिबी, अशिक्षा, बेरोजगारी, आर्थिक समस्या र अस्थित राजनीतिक गतिविधिका कारण युवाहरुलाई उद्यमशील र सिर्जनशील बनाउनुको साटो युवा दस्तामा उभ्याएर परेड खेलाउने परिपाटीको शुरुवातीले कम्युनिष्ट आन्दोलन मात्र होइन अन्य राजनीतिक दलहरुलाई पनि गम्भीर असर पुगेको छ । आफ्नो प्रभुत्व स्थापना र व्यक्तिगत स्वार्थ पुरा गर्न यस्ता दस्ताको स्थापना गर्ने र हिंसा निम्त्याउने गरेको पाइएको छ ।
२०६३ चैतमा गौरमा मधेसी जनाधिकार फोरमका युवा र वाईसीएलबीचको झडपकै कारण २७ जनाले ज्यान गुमाएको, गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’को ०७१ साउनमा प्रहरी इन्काउन्टरमा मारिंदा युवा संघ नेपालले उनलाई शहीद घोषणा गर्न माग गरेको परिदृश्यले पनि दस्ताहरु गलत बाटोतर्फ मोडिने हुनकि भन्ने चिन्ता गरिएको छ । यस्ता दस्ताहरु आफैं प्रहरी प्रशासन बन्ने र आफैं न्यायधीश बनेर समाजमा हिंसा निम्त्याउन उद्यत हुँदा शंसय पैदा भएको छ ।
हुनत नेपाली कांग्रेस, राप्रपालगायतका अन्य राजनीतिक दलका युवा संगठनहरु क्रियाशील रहेपनि उनीहरुको छुट्टै दस्ता नभएकाले पार्टीकै लगाममा बस्न बाध्य छन् । कुनैबेला राजनीतिक प्रतिवन्ध व्यहोरेको वामपन्थी भनिएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको युवा दस्ताले जंगलमा परेड खेल्ने र समाजमा हिंसात्मक त्रास फैलाउने गरेकाले कम्युनिष्ट आन्दोलनलाई हेर्ने नजरमै परिवर्तन आइसकेको छ । युरोपमा लगभग ७० वर्षपछि कम्युनिष्ट सरकारहरु तासको महल भत्केझै ढलिरहेको अवस्थामा नेपालमा कम्युनिष्ट शक्ति भनिएका एमाले, माओवादी केन्द्र, मसाल, राष्ट्रिय जनमोर्चालगायत अन्य कम्युनिष्ट घटकहरु आफ्नो अस्तित्व जोगाउन दस्ता र फोर्सको सहारामा पुग्नु कम्युनिष्ट आन्दोलन नै स्खलित हुँदै गएको रुपमा टिप्पणी हुन थालेको छ ।