- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नै समूहको दबाबमा परेपछि पार्टी मिलाउन लागेको नेताहरूलाई चाडै नै केपी ओलीको ठोस प्रस्ताव लिएर आउन निर्देशन दिएका छन्।
मङ्गलवार दिउँसो जनसङ्गठनका नेताहरूसँगको बसाइँमा नेता नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई अझै पनि विश्वास गर्ने आधार भैनसकेको र आफूले सम्मानजनक एकता भनेकाले पनि कार्यदलमा रहेका नेताहरूले यो विषयमा चाडै टुङ्ग्याउनु पर्ने निर्देशन दिएका हुन् । ‘सम्मानजनक एकता भनेर मैले मेरै कुरा गरिरहेको छैन यति धेरै नेता कार्यकर्ताको व्यवस्थापनको कुरा गरिरहेको छु, भोलिका दिनमा पार्टीभित्रै अन्याय हुने अवस्था नआओस् भन्ने मेरो चाहना रहेको छ’, माधव नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो।
मङ्गलवार माधव नेपाल र कार्यदलमा रहेका सुरेन्द्र पाण्डे तथा गोकर्ण विष्टले जनसङ्गठनका नेताहरूसँग छलफल गरेका थिए । आन्तरिक दबाबमा रहेका नेपालले आइतबार र सोमबार आफू निकटका स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेका थिए ।
जनसङ्गठनका नेताहरूको बसाइमा नेता नेपालले पार्टी मिलाउने विभिन्न विकल्पहरू हुने भएकाले झलनाथ खनाल वा दोस्रो पुस्ताका कुनै एक नेतालाई पार्टीको दोस्रो अध्यक्ष बनाउनु पर्ने वा सचिवालय निर्माण गरेर महाधिवेशनमा जानुपर्ने जस्ता विकल्प पनि रहेको बताएका थिए । ‘दोस्रो अध्यक्षकै कुरा आएमा झलनाथ खनाल वा अन्य कोही, ओलीले मानेमा दोस्रो पुस्ताका नेताहरू मध्ये तथा पार्टीको महाधिवेशन गराउन सचिवालयको गठन भएमा राम्रो हुन्छ तर मलाई के लाग्छ भने ओली पार्टी मिलाउने तहमा छैनन्’, नेता नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
नेपाल पक्षीय नेताहरूको आइतबार र सोमबार काठमाडौँको बुद्ध नगरमा बसेको स्थायी कमिटीको बैठकमा पार्टी एकताका लागि भइरहेका प्रयासहरू सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको थियो ।
बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेका थिए । त्यसपछि नेता नेपालले मङ्गलवार जनसङ्गठनका नेताहरूसँग राय सुझाव मागेका थिए । ‘आजको भेलामा पनि नेता नेपालले आफूले पार्टी एकताका लागि अधिकतम प्रयास गरिरहेको र नयाँ दल बनाउने आफ्नो रहर नभएको बताउनु भयो’, भेलाका एक सहभागीले भने ।
पार्टीभित्र देखिएका विवादलाई निरूपण गर्ने क्रममा बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न र पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आएको प्रस्तावलाई विश्वासको वातावरणसहित अघि बढाउने कुरामा आफू तयार भएको तर ओलीका गतिविधि हेर्दा विश्वासको वातावरण नभएको पनि बताएका थिए ।
दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकले पनि सो विषयलाई इमानदार भएर कार्यान्वयनमा जानुपर्नेमा जोड दिएको थियो । ‘पार्टी एकताका लागि भएका प्रयासहरू धेरै हदसम्म सकारात्मक छन् ती प्रयासहरूलाई छिटो टुङ्गोमा पुर्याउनका लागि थप प्रयास थाल्ने कुरा भएका छन् सबै साथीहरूको जोड एकतामै रहेको छ त्यस कारण दुवै नेताहरूले एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन समेत आग्रह गरिएको छ’, बैठकपछि नेता रघुजी पन्तले भनेका थिए ।
ओलीको तर्फबाट दोस्रो अध्यक्ष र बराबरी अधिकार दिने गरी विवाद निरूपण गर्ने प्रस्ताव गरिएको छ । तर वरिष्ठ नेता नेपालले भने विधानमा दोस्रो अध्यक्षको व्यवस्था नभएकाले विधान बमोजिम नै विवाद निरूपण गर्ने र विधानमै उल्लेख गरेर दोस्रो अध्यक्षको अधिकारको विषयमा छलफल गर्ने समेत बताएका छन् ।
पार्टी एकता जोगाउन नेकपा एमालेका दोस्रो तहका नेताहरू र सांसदहरू एकसाथ सक्रिय भएसँगै नेता नेपाल मात्र होइन पार्टीका अध्यक्ष केपी ओली पनि दबाबमा रहेका छन् । ओलीभन्दा अझ नेपाल झन् दबाबमा रहेपछि तीन दिन यता नेपालले आफू निकट रहेका सबै नेता र कार्यकर्तासँग सुझाव लिइरहेका छन् ।
कार्यदलका सदस्यहरूसहित अबको केही दिनमा केन्द्रीय सदस्यहरूसँग पनि सुझाव लिने कार्यक्रम रहेको नेपाल निकट एक नेताले जनाएका छन् । जेठ २ मा गठन भएर असार २७ मा १० बुँदे सहमति गरेपछि विघटित कार्यदलका सदस्यहरूसहित सांसदहरूले पार्टी एकता कायम गर्न दबाब दिएपछि नेता नेपाल र पार्टी अध्यक्ष ओली दुवै जना दबाबमा परेका थिए ।